faniraj nepalफणिराज नेपाल– जतीय हठका कारण तराईलाई मधेस भन्न रुचाउने मधेसी पार्टीहरू समावेशी देखिएका छैनन्। दक्षिणको नजानिँदो तर अप्रत्यक्ष प्रभाव र देशका नेताहरूको टालटुल गर्ने व्यवहारले मधेस शब्द प्रचारित भएको हो। नेपालका मिडिया पनि मधेसी पार्टीको साम्प्रदायिक व्यवहारको कारण व्यावसायिक रमिते बनेका छन्। सेवा, सुविधा, उत्पादन, उद्योग र रोजगारी स्थल रहेको तराईको खुल्ला सिमानाबाट रोजगारी, बाढी पीडित भई आइरहने विदेशीहरूको रोकिने छाँट छैन।

नेपालमा उत्तर क्षेत्रबाट आउने आगन्तुकहरू सीमित भए पनि दक्षिण छिमेकीतिरबाट आउनेको संख्या भने धेरै छ। दक्षिणसँगको १९५० को असमान सन्धि र रोटी-बेटीको सम्बन्धको बलले पनि आवत-जावत, बस्न, बन्द व्यापार गर्न, सम्पत्ति आर्जन गर्न सहज हुँदा आवागमन बढेको हो। पुरातन तराई ‘तरियानी’ भनी घना जंगलले ढाकिएको क्षेत्र भएकाले बसोबास कम थियो। अर्थात थारुहरूको बसाइ पूर्व-पश्चिम फैलिए पनि रैथाने मधेसीहरू भने सप्तरी-पर्सा भूभागका विदेह, तिरहुत र शाक्य जनपदमा बसोबास रहेकै हो।

तराईका मधेसी विभेदमा परेको, हेपिएको, प्रतिनिधित्व कम भएको कुरालाई आधार बनाएर एक मधेस प्रदेशको नारासहित मधेसी पार्टीले गरेको आन्दोलनलाई सरकारले सम्बोधन गर्‍यो। लिम्बुवान पार्टीलाई पनि पूर्वी तराईका तीन जिल्लालाई समेटेर ९ जिल्लाको लिम्बुवान क्षेत्र कायम गर्ने सरकारले सम्झौता गर्‍यो। त्यसरी नै सुदूर पश्चिमको तराईका जिल्लासहित पुरानो सुदूर पश्चिम क्षेत्रमा सरकारले सहमति जनायोे। संक्रमणकालीन परिस्थिति र तत्काललाई आन्दोलन साम्य पार्न सबै खाले सहमति, सम्झौता गर्न सरकार बाध्य भयो। मधेसी पार्टीको एक मधेस प्रदेशको आधार कमजोर भए पनि मधेस प्रदेश हुनुपर्ने आवाज मुखरित गरेर मधेसी पार्टीले तराईलाई मधेस, मधेसवाद, मधेस केन्दि्रत, मधेसी मुद्दा, मधेस सवालका विषय प्रचारित गरे।

मधेसको आधार के? 

मधेस मध्यदेशको संक्षिप्त रूप हो। प्रज्ञा प्रतिष्ठानको संक्षिप्त शब्दकोश अनुसार उत्तरमा हिमाञ्चल पहाड, दक्षिणमा विन्ध्याञ्चल पहाड, कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिममा रहेको प्रदेशको पुरानो नाम मध्यदेश हो। डा. बी.एन. तिवारी र महेन्द्र चतुर्वेदीद्वारा सम्पादित हिन्दी-अंग्रेजी शब्दकोशअनुसार मध्यदेश भन्नाले विन्ध्याञ्चल, कुरुक्षेत्र र अलाहावादको बीचमा पर्ने मध्यक्षेत्रको प्राचीन नाम हो। भारतको स्वतन्त्रता आन्दोलनपछि राष्ट्रिय संरचनाबाट भएको हेरफेरबाट तत्कालीन मध्यदेश हालको राजस्थान, बंगाल, विहार, उत्तर प्रदेश, दिल्ली, हरियाणा, पंजाव आदि राज्यहरूमा रूपान्तरण भए।

माथिको उदाहरणले मधेस भनेको चारैतिर पहाडले घेरिएको बीचको भाग भन्ने बुझिन्छ। तर नेपालको दक्षिणी भाग पहाडबाट नघेरिएको समथर मैदानी इलाका भएकोले कसरी मधेस कहलियो? नेपालको एकीकरण हुँदा र पछि ऐतिहासिक रूपमा पनि तराई भागलाई मधेस भनी उल्लेख गरिएको पाइँदैन। १९६८ सालको नेपालको पहिलो जनगणना अनुसार पूर्वी तराई भनी झापादेखि पर्सासम्म, मध्यपश्चिम तराईमा पाल्ही, माजखन्ड, खजनी, शिवराज -हालको कपिलवस्तु, नवलपरासी र रूपन्देही) र सुदूर पश्चिम तराई भनी बाँकेदेखि कञ्चनपुरसम्म भूभाग उल्लेख गरिएको छ। भूगोल, इतिहास आदि कतैबाट पुष्ट्याइँ नभएको मधेसलाई क्षेत्रको रूपमा स्थापित गर्न खोज्नु २०६३ माघमा मधेसी पार्टीको आन्दोलनको बहकाइमा आएको आगन्तुक शब्द हो।

मधेसवाद कहाँबाट आयो? 

पहिलेदेखि नभनिएको, प्रमाणित आधार नभएको, सबै वर्ग नसमेटिने खालको असमावेशी शब्द मधेस, मधेसवाद कहाँबाट आयो? मधेसी पार्टीले प्रस्ट नपारेको, परिभाषा नभएको, विना सिद्धान्त र विचारको यो मधेसवादको व्याख्या विशेषण के हो, प्रस्ट छैन। मिडियामा आउने मधेसकेन्दि्रत शब्दले के बुझाउँछ, प्रस्ट छैन। ठाउँ विनाको केन्द्र लेख्नु, प्रचार-प्रसारमा आउनुको आधार बुझिनसक्नु छ। ठाउँको पनि वाद हुन्छ र? नेपालमा मधेसी छन्, मधेस छैन, अर्थात तराई छ, त्यसमा मधेसी लगायत धेरै जातजाति छन्। तराईमा मात्र नभई देशमै मधेसीको पहिचान खुलिसकेको छ। नेपाल बाहेक अन्यन्त्र कहीं पनि मधेसीको पहिचान छैन। तराईका केही जिल्लामा मधेसीहरू संख्यात्मक रूपमा बढी छन्। तर ती जिल्लामा पहाडी, थारु, जनजाति र मुसलमान पनि छन्, जसले आफूलाई मधेसी भन्न नरुचाएको र आफ्नो छुट्टै पहिचान रहेको भनी आन्दोलन गरेको उदाहरण छ।

मधेसी पार्टीहरूले भन्ने गरेको तराईमा ५० प्रतिशतभन्दा बढी जनसंख्या भएकाले मधेसका मुद्दाले स्थान पाउनुपर्ने, मधेसका जनता विभेदमा परेको, हेपिएको, दमन गरिएकोले सुविधा पाउनुपर्ने कुरा गर्छन्। मधेसी पार्टी तराईमा बस्ने सबै मधेसी हुन् र मधेसी हुनुपर्छ भनेर जोरजबर्जस्तको भान पार्छन्। आफ्नै समुदायमा ठूलो विभेद छ। त्यसतर्फ खासै चासो लिएको देखिँदैन। तराईमा मधेसी बाहेककाहरूको संख्या भने बढी छ। २०६८ को जनगणनालाई केलाउने हो भने तराईमा मधेसी ४० प्रतिशत छन् भने अरु समुदाय जस्तै पहाडी ३६ प्रतिशत, आदिवासी थारु र जनजाति १५ प्रतिशत र मुसलमान ९ प्रतिशत छन्। मधेसी पार्टीहरूले मधेसका मुद्दा, मधेसका सवाल, मधेसका जनता भन्ने तर आरक्षणचाहिँ ३९ थरीका मधेसी समुदायले मात्र पाउनेगरी व्यवस्था गराउँछन्। मधेसी हेपियो, विभेद गरियो, समावेशी गरिएन भन्ने अनि आरक्षण र सुविधा मधेसीले मात्र पाउने र प्रदेशको नामचाहिँ मधेस प्रदेश बनाउने जस्ता असमावेशी कुरा गर्छन्। सम्प्रदायका कुराले केहीलाई केही अवधिका लागि राजनीति गर्ने आधार होला, तर त्यो दिगो हुँदैन। हाम्रो देशको भूगोलले पनि सबै क्षेत्रको सामञ्जस्यता झल्काउँछ। अनावश्यक विवाद, असमावेशी कुरा, असामान्य व्यवहार र राजनीतिले देशको मात्र नभई जनताको पनि भलो गर्दैन। इतिहास, सामाजिक सम्बन्ध, भूगोलको एकअर्काप्रतिको संयोजन र समयसापेक्ष सम्प्रेषणले देश, व्यवहार, समावेशी राजनीतिलाई सन्तुलन मिल्छ। तराई भन्दा समावेशी र सर्वग्राह्य हुन्छ, मधेस भन्दा मधेसीको मात्र भन्ने बुझिन्छ। तराईले सबै समुदायलाई समेट्छ र समावेशी पनि हुन्छ।

कान्तिपुर दैनिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *