थारुका प्रस्तावित तीन प्रदेश
पृथ्वीनारायण शाहले नेपाललाई चार जात र छत्तीस वर्णको साझा फूलबारी हो भनेका थिए । त्यो चार जातभित्र थारु पर्दैन । चार जातमा बाहुन, क्षत्री, वैश्य र शूद्र छन् । छत्तीस वर्ण भनेको अहिलेका १ सय २३ जातजाति हुन् । त्यस मध्येको थारु पनि एक हो । थारुको आफ्नै भाषा छ । आफ्नै संस्कृति, परम्परा र चाडपर्व छ । थारु हिन्दु वर्गभित्र नराखिएको तर हिन्दु धर्मावलम्बी नै हो ।
थारु जातिको देवीदेवता हिन्दु धर्मका देवीदेवता नै हुन् । आदिम नेपालमा औलोको महामारी, हैजाको महामारी, गर्मीको महामारी हँुदा पनि थारु समुदायले तराई तथा चुरे काछमा आफ्नो सम्पूर्ण समुदायलाई अकालमा गुमायो । तर पहाड, हिमाल, लेकमा पुगेन ज्यान बचाउनका लागि । र तराईको भूभाग भारतलाई छोडेन । त्यसबखत थारु समुदायले आफ्नो ज्यान तथ्य वंशज अर्पण गरेर तराईमा नबसेको भए, नेपालको तराई भाग अतिक्रमणमा परी अहिले भारतीय वस्ती हुने थियो, मधेसमा नेपालको सार्वभौमसत्ता रहने थिएन । त्यसकारण राज्यको तर्फबाट कुनै पद, जिम्मेवारी र पारिश्रमिक नपाए पनि थारु जातिले आफ्नो जीवन गुमाएर भए पनि नेपाली भूमिको रक्षा गर्दै नेपाली सार्वभौमिकता बचाएको हँुदा आज कसैले नेपाली सार्वभौमिकतामाथि खेलवाड गर्न खोज्छ भने थारु समुदायलाई सह्य हुँदैन ।
राणकालसम्म थारु समुदायका कुनै पनि व्यक्ति कुनै पनि उच्च ओहदामा पुग्न सकेनन् । प्रजातन्त्रपश्चात पनि लामो समयसम्म थारु समुदायका व्यक्ति राज्यको उच्च पदमा पुगेनन् । बीपी कोइरालाको समयमा नेपाली कांग्रेसको महामन्त्रीसम्म एकजना थारु बने तर पछि तिनले राजाको पि्रयपात्र बन्न हतार गरे । पञ्चायतको हर्ताकर्तामा परशुनारायण चौधरी, फत्तेसिंह थारुसम्म पुगे पनि तिनले थारु समुदायको हित, स्तर उन्नत गर्नुभन्दा पनि राजाकै भक्तिमा आफ्नो हित सम्झन पुगे ।
२०४७ सालपछि राजनीतिमा उदयमान ताराका रूपमा थारु पुत्र विजयकुमार गच्छदार झुल्किए । उनले पनि आफूलाई थारु हुनुमा भन्दा मधेसी हुनुमा गर्व गर्न थाले । वास्तवमा थारु मधेसी होइन, मधेसी थारु होइन, थारु भूमिपुत्र/भूमिपुत्री हुन् । थारु नेपालका आदिवासी हुन् । मधेसीले आदिवासीको दाबी गर्न सक्दैन । यदि तराईको आदिवासी भएका कारणले थारु मधेसी हुन् भने पहाडी र मधेसी भनिएकाहरूले आफू मधेसी भनी दाबा गर्न मिल्दैन । यदि मधेसमा बसेका कारणले मधेसी हुन् भने पहाडी समुदाय, मुसलमान समुदाय पनि मधेसी नै हुन् । पहाडी मूलका मधेसी हुन नसक्ने के कारण छ ? पहाडमा मुसलमान पहाडी हुने तर मधेसमा पहाडी मधेसी किन नहुने ? आखिर यो जातको राजनीति कहिलेसम्म ? त्यो पनि खुलेआम अपाच्य राजनीति । थारु समुदायलाई मधेसीको पगरी गुँथाई कसैले राजनीति गर्छ भने थारु समुदायको अपमान हो । आफ्नो अपमान गर्ने व्यक्ति थारु समुदायको नेता हुनसक्दैन, नेता होइन । त्यो व्यक्ति त थारु समुदायको टाउको गनेर राजनीतिक बजारमा बिक्री गर्ने व्यक्ति कहलाउँछ ।
थारुको नेता त्यो हो, जसले थारु भाषा, लिपि, भेषभूषा, संस्कृतिलाई राष्ट्रको सम्पत्ति बनाएको छ । थारु जातिको गरिबी, अशिक्षा, कुरीति आदि निर्मूल गरी थारुलाई समय सुहाउँदो आत्मनिर्भर बाटोमा, उच्चशिक्षा र प्राविधिक शिक्षा दिलाउन र थारुलाई जातीय विभेदभन्दा माथि उठाई राष्ट्रिय राजनीतिमा समावेश गराउन सक्छ । यसको लागि थारुकै सन्तानमात्र हुन जरुरी छैन । अन्य जातकाले पनि थारु समस्या हल गर्छन् भने ती पनि थारुका नेता हुनसक्छन् । थारु समुदायबाट राज्यको उच्च ओहदामा विरलै व्यक्ति पुगेका छन् । जे जतिले पहुँच पाएका छन्, ती पनि तल्लो तहबाटै अवकाश पाउँछन् । यसतर्फ थारुको नेता हुन चाहनेले गम्भीर हुन सक्नुपर्छ ।
थारु समुदायलाई राजनीतिक ठेकेदारहरूले अरुको पिछलगुवा बनाउन खोज्दैछन् । थारु समुदाय जातीय नारामा अरुको पछि लागेर हिँड्न सक्दैनन् । थारु समुदाय मधेसी, हिमाली, पहाडी सबै समुदायमा अटाउन सक्ने विशाल छाती र सोच भएको समुदाय हो । तर हिमाल, पहाड र मधेसी समुदायमा थारु समुदाय किन अटाउँदैन ? यदि मधेसलाई जातीय प्रदेश नै बनाउने हो भने तीन प्रदेश पूर्वी थारु प्रदेश, मध्य थारु प्रदेश र पश्चिम थारु प्रदेश बनाउनुपर्छ । होइन भने अस्ति आएका जातिका नामबाट मधेसमा प्रदेश बनाउने र थारु जाति मूकदर्शक भएर बस्न सक्दैन ।
कान्तिपुर दैनिकबाट
Facebook Comment