Rana Tharu

कञ्चनपुर- प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा कञ्चनपुरको देखतभुली–६ मा पर्ने इटाहा क्षेत्र ओझेलमा परेको छ। राना थारू समुदायको एक मात्रै आस्थाको धरोहरका रूपमा रहेको यस क्षेत्रको प्रचारप्रसार र संरक्षणको कार्य हुन नसक्दा यो क्षेत्र ओझेलमा परेको हो।
यस ऐतिहासिक क्षेत्रमा वस्तुभाउ चराउन जाने गोठालाले सुन, चाँदी र तामाका सिक्काहरू इटाहामा पाउन थालेपछि पूरै क्षेत्रमा जथाभावी उत्खनन गर्दा यस क्षेत्रको स्वरुप विकृत बन्दै गएको छ। पुरातात्विक वस्तुको संरक्षण नहुँदा पुराना इँटासमेत चोरी हुने क्रम बढेको छ।
लालझाडी मोहना संरक्षण क्षेत्रमा पर्ने इटाहामा पाइएका इँटाको चौडाइ, लम्बाइ हाल पाइने इँटाको भन्दा निकै बढी रहेको छ। जानकारहरूका अनुसार ती इँटाको प्रयोग किरातकालीन समयमा प्रयोग हुने गरेका थिए।
प्राचीन इँटाको प्रयोग गरी बनाइएको कुवा र मूर्तिसमेत यस क्षेत्रमा रहेको स्थानीय समाजसेवी ठगी रानाले बताए। उनका अनुसार यहाँका बासिन्दाले पहिले भारतीय क्षेत्रबाट आउने डाँकुका कारण पीडित रहेका थिए। ‘प्राचीनकालमा मानव बस्ती रहेको इटाहा क्षेत्रमा डाँकु लुटपाटका लागि पुगे पनि बाटो बिराएका कारण लुटपाट गर्न नसकी फर्केकाले त्यसै दिनदेखि यस गाउँको नाम देखतभुली रहन गरेको हो,’ उनले भने।

दशकौंअघि देखि स्थानीय बासिन्दाले इटाहा क्षेत्रमा पाइएको मूर्ति स्थापित गरी इटाहा बाबाका नामले पूजासमेत गर्दै आएका छन्। इटाहा बाबाको दशहरा र शिवरात्रिका बेला यहाँ पूजा हुने गरेको छ।

वर्षौंदेखि पुजारीका रूपमा राना थारू समुदायका व्यक्तिले यहाँ पूजा गर्नुपर्ने चलन छ। थारू समुदायका व्यक्तिले पूजा गर्ने यो मात्रै एक क्षेत्र रहेको हेमलाल चौधरीले बताए। चोखो मनले भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने भएकाले स्थानीय बासिन्दा यस क्षेत्रलाई श्रद्धापूर्वक स्मरण गर्ने गर्छन्।
गाविसको रु ५० हजारको सहयोगमा स्थानीय बासिन्दाले मन्दिर बनाउने जमर्को गरेका भए पनि मन्दिरका लागि पर्याप्त बजेट नपुग्दा मन्दिर निर्माण पूरा हुन सकेको छैन। इटाहा क्षेत्रको १० बिघा जग्गालाई समेटेर धार्मिक वनका रूपमा विकास गरिएको छ। धार्मिक वनमा बँदेल, चित्तल, नीलगाई लगायतका जनावर दिउँसै देख्नक सकिन्छ।
यस क्षेत्रले प्रशस्त पर्यटकीय सम्भावना बोकेको भए पनि प्रचारप्रसार, बाटोघाटो र भौतिक पूर्वाधारको विकास नहुँदा ओझेलमा रहेको भीम रानाले बताए। ‘पर्यटकीय सूचीमा इटाहा क्षेत्रलाई सूचीकृत गर्न पहल गरी भौतिक पूर्वाधार विकासका लागि जिल्ला विकास समितिलाई आग्रह गर्दै आए पनि हालसम्म चासो दिएको छैन,’ उनले भने।
देखतभुली गाविसका सचिव केशवदत्त भट्ट इटाहा क्षेत्रले ऐतिहासिक महत्व बोकेको भए पनि प्रचारप्रसार र भौतिक पूर्वाधार विकासमा फड्को मार्न नसक्दा ओझेलमा परेको बताए। ‘यसको विकासका लागि गाविस एक्लैको प्रयासले नभ्याउने भएकाले अन्य निकायले पूर्वाधार विकासका लागि सहयोग गर्नुपर्ने हुन्छ,’ उनले भने।
नजिकै रहेको दोदा नदीले यस क्षेत्रमा जग्गा कटानको कार्यलाई समेत तीव्र बनाउँदै लगेकाले इटाहा क्षेत्रको अस्तित्व खतरामा पर्दै गएको छ। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *