झुलनोत्सवको रमझम
हिमांशु चौधरी– मिथिलाञ्चलका मठमन्दिरहरूमा अहिले झुला उत्सवको रौनक छाइरहेको छ । मिथिलाञ्चलको प्राचीन राजधानी जनकपुरलगायत अन्य मठ मन्दिरमा सांस्कृतिक परम्पराका रूपमा साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला उत्सव मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखी झुलाउने परम्परा रहेको छ ।
झुला उत्सवको पहिलो दिनलाई मणिपर्वतको झुला भनिन्छ । उक्त दिन अपराह्न जनकपुरका ५२ कुटीबाट डोलामा रामसीताका मूर्ति राखी रङ्गभूमिमा ल्याइएपछि जानकी मन्दिरका महन्तद्वारा उत्सवको सुरुवात गरिन्छ ।
मणिपर्वत झुला उत्सवका दिन जानकी मन्दिर, राममन्दिर र लक्ष्मण मन्दिरका मूर्तिलाई एकै ठाउँमा राखी झुलाउने गरिन्छ । यसदिन टाढाटाढाबाट श्रद्धालुहरू झुला महोत्सवमा आउने गरेका कारण रङ्गभूमिमा मेलाको रूप दृष्टिगोचर हुन्छ ।
झुला उत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको मानिन्छ । सन्त सम्प्रदायका गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने बृन्दावनबाट झुला जनकपुरमा आएको बताइन्छ ।
साओनमे उपवन वन फूले
झुला झुले नन्दकिशोर
कदमक डारीमे लागल हिडोला
झहरय नभ घनघोर
धार्मिक पृष्ठभूमिमा आधारित उक्त गीतलाई समाजशास्त्रीय दृष्टिकोणबाट मनन गर्दा झुलाको सुरुवातलाई सङ्केत गरिरहेको छ ।
सन्तहरू खुल्ला चौरमा अथवा कुनै रुखको छहारीमा बास बसेपनि आफ्नो झोलामा श्रद्धासाथ ल्याएका शालीग्रामलाई आसनमा राखी झुलाउने गर्दथे । सम्भवतः यो परम्परा त्यसैबेलादेखि सुरुवात भएको विश्वास गरिन्छ ।
जनश्रुतिअनुसार, सीताको माइतीमा दाइजोका रूपमा प्राप्त मणिहरू महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो । त्यसैको स्मृतिस्वरूप झुला उत्सवको प्रारम्भमा रङ्गभूमिमा आज पनि मणिपर्वत मनाउने परम्परा रहेको छ ।
जनकपुर एवम् यस क्षेत्रका प्रत्येक मठ मन्दिरमा झुला उत्सव मनाइए पनि जानकी एवम् राम मन्दिरमा विशेषताका साथ मनाइन्छ । जानकी मन्दिर जसलाई नौलखा मन्दिर पनि भनिन्छ ।
सो मन्दिरमा विशेष प्रकारका तीनवटा सिंहासनमा रामसीताको मूर्ति राखस् झुला झुलाउने गरिन्छ । त्यस्तै, राम मन्दिरको झुला उत्सवका लागि गङ्गासागर र धनुषसागरको मध्यमा निर्माण गरिएको झुला घरमा झुला उत्सव अवधिभरी नै विशेष किसिमले मनाइने गरिएकोमा समाज विकासका नाममा यस परम्परालाई हटाउँदै राम मन्दिरको बरन्डामा सीमित गरिएको छ ।
जनकपुरमा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्त सुरकिशोर दासबाट भएको कथन पाइन्छ । दासको आगमनको समय सन् १७३० मानिन्छ । लक्ष्मण मन्दिर, दुल्हादुल्हन, रत्नसागर, रसिक निवास र अग्निकुण्ड मन्दिरको झुला उत्सवले पनि जीवनलाई आनन्दमय रूपमा ग्रहण गर्न प्रेरित गर्दछ ।
मिथिलाञ्चलमा रोपाइँ सकिने बितिकै झुला उत्सवको रौनक सुरु हुन्छ । यस क्रममा प्रत्येक मठ मन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ ।
उमङ्गमय वातावरणमा श्रद्धालुद्वारा गाइने गीत जीवनको अभिन्न अङ्ग बनेको प्रतीत हुन्छ ।
झुला लगे कदमकी डाली
झुले कृष्ण मुरारी ना……
यी गीतमा कृष्णको प्रभाव देखिए पनि त्यसलाई रामसँग दाँजेर गाइने गरिएकाले आनन्दको सहज स्वाभाविक उच्छवासको अनुभूति हुने गर्दछ । उत्सवमा गाइने कजरी लोकगीतले श्रद्धालुलाई तान्ने वातावरण त रहन्छ नै, जानकी मन्दिरमा साँझ बिहान बजाइने सहनाईको ध्वनिले जनजनको हृदयमा यो उत्सव सधैं बसिरहने परम्परा पनि बनेको पाइन्छ । रासस
Facebook Comment