गच्छदारको राजनीतिक परीक्षा
कृष्णराज सर्वहारी– सत्ता र विजयकुमार गच्छदार एक अर्काको पर्याय हुन् भन्दा शायद फरक परोइन। २०४८ सालदेखि लगातार सभासदमा विजयी हुँदै आएका यिनी त्यसपछिका कुनै मंत्रीमण्डलमा बाहिर बसेनन्। सञ्चार, निर्माण तथा यातायात, पर्यटन तथा नागरिक उड्डयन, जलस्रोत, गृह मंत्री सम्हालिसकेका यिनी बाबुराम भट्टराईको सरकारको पालामा उपप्रधानमंत्री समेत रहे। संविधान सभा–२ को चुनावमा यिनको एउटै रटना रह्यो, गच्छदारले इतिहासमा धेरैलाई प्रधानमंत्री बनाइसक्यो, हराइसक्यो। अवको प्रधानमंत्री थारू को छोरा यो गच्छदार हो। मेरो अव एउटै सपना छ प्रधानमंत्री हुने।
चुनाव थियो संविधान सभाको तर विजयकुमार गच्छदारको एउटै अभियान थियो प्रधानमंत्री हुने, मानौ उनको पार्टीको थप अर्को कुनै मुद्धा नै थिएन। यही सत्तामोहको कारणले यसपालीको चुनावमा सभासदमा समेत झण्डै चिप्लिए उनी। यसअघि गच्छदार उपेन्द्र यादवको नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालबाट सुनसरी तथा मोरङ दुई क्षेत्रबाट बिजयी भएका थिए भने, यसपाली आफ्नै नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट पुनः सुनसरी तथा मोरङ दुई क्षेत्रबाट उम्मेद्वार भएका थिए। आफ्नै नेतृत्वको यसपालीको चुनाव गच्छदारको लागि साँच्चिकै कठीन परीक्षाको घडी थियो, जसमा उनी मुश्किलले उत्तीर्ण हुन सके। उनी आफैले पनि यो चुनाव जिन्दगीकै सबैभन्दा कठिन मोड भएको अभिब्यक्ति दिएका छन्।
गच्छदारलाई आफ्नै थारू समुदायकी एमाले नेतृ भगवती चौधरीले सुनसरी–३ मा आच्छु आच्छु पारिन्। ती दुवैको मतान्तर ३६२ मात्रै थियो। गच्छदारले १७,५२४ भोट ल्याएकोमा भगवतीले १७,१६२ मत ल्याइन्। चित्त नबुझेर उनले संवैधानिक अदालतमा मुद्धा समेत दायर गरेकी छिन्। भगवती चौधरी यसअघि एमालेबाट समानुपातिक सभासद भई राज्यमंत्री समेत भएकी थिइन्। सुनसरीको दुहबीमा फरवार्ड संस्था चलाइरहेकी उनी गच्छदारलाई टक्कर दिएपछि अव संस्थागत गतिविधीभन्दा राजनीति केन्द्रित दौडधुपमा बढी समय बिताउने लक्षण देखिन्छ।
गणितीय आँकलनमा फोरम लोकतान्त्रिक अहिले प्रत्यक्ष तथा समानुपातिक गरी १४ सिट ल्याएर मधेशी दलमा पहिलो तथा पाँचौ ठूलो दल भएको छ। कैलालीमा फोरम लोकतान्त्रिकले दुईजना थारूलाई प्रत्यक्षमा जिताउन सफल भएको छ। कैलाली क्षेत्र नं. १ मा जनकराज चौधरी तथा क्षेत्र नं. ३ बाट रामजनम चौधरी दुवैले निकटतम प्रतिद्वन्दी काँग्रेसका उम्मेद्वारलाई हराए। यी दुवैको जितमा गच्छदारको योगदानभन्दा थरुहट आन्दोलनको अगुवाइ गरेका लक्ष्मण थारूको योगदानको ढक बढी छ। अहिले गच्छदार तथा लक्ष्मण थारू एक अर्काको पुरक भएका छन्। थरुहट आन्दोलनका अगुवा लक्ष्मण थारूले २०६८ साउन २७ मा आफ्नो अध्यक्षतामा थरुहट तराई पार्टी नेपाल गठन गरेका थिए।
पार्टीका संस्थापक अध्यक्ष लक्ष्मण थारूलगायत अगुवाहरू नै गच्छदारको पार्टीमा २०६९ असोज १८ मा भित्रिए। थरुहट तराई पाटीका पदाधिकारीहरूले उनलाई नक्कली थारूको संज्ञा दिए पनि थरुहट आन्दोलनको ठूलो शक्ति फोरम लोकतान्त्रिकमा भित्रिनाले सोको असरले नै कैलालीमा दुई सीट हासिल गर्न सफल भएका हुन्। लक्ष्मण थारू आफू भने कैलाली क्षेत्र नं. ६ मा चौथा भए, जहाँबाट काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा विजयी भए। एमाओवादी, थरुहट, फोरम लगायत विभिन्न दल बदल गरेर लक्ष्मण थारूले थारू समुदायलाई धोका दिएको तथा आफू पनि पतन भएको एकथरीको बिश्लेषण छ। तर फोरम लोकतान्त्रिकमा छिरेर उनी गच्छदारको लागि भने बरदान सावित भए।
आगामी बैशाखमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको अधिवेशन हुने भनिएको छ, जसमा पार्टीको नामबाट मधेशी शव्द झिकिने आश्वासन लक्ष्मण थारूसँग फोरम छिर्नेहरूले पाएका छन्। फोरम लोकतान्त्रिकले चितवनबाट पश्चिमलाई थरुहट प्रदेशको खाका अघि सारेको छ। आगामी अधिवेशनमा पार्टीको नीति कस्तो हुनेछ? यसमा सन्तुलन कायम गर्न नसके उनीसँगका मधेशीहरू चिढिएर बिच्किएमा गच्छदारको पार्टी अर्को थरुहट पार्टीको जुम्ल्याहा मात्रै बन्ने त होइन भन्ने प्रश्न चिन्ह छ।
समानुपातिक तर्फको १० वटा सीटमा ३ जना थारु, त्यसमा पनि आफ्नै गृहजिल्ला सुनसरीका २ जना तथा ३ जना पहाडेहरु सभासदमा चयन गर्दाको प्रतिक्रिया तीब्र रह्यो। प्रवक्ता रामजनम चौधरी, मंगल थारु, मानबहादुर महतो लगायतले केही दिनलाई राजीनामा दिएर असन्टुष्टी ब्यक्त गरे। मधेशी सदस्यहरुले निर्वाचन आयोगमा समानुपातिक सदस्यमा दीनबन्धु अग्रवालको नाम पठाइसकेकोमा अन्तमा पार्टी महासचिव जितेन्द्रदेवको नाम सिफारिश गर्न पठाएर गच्छदारले घुँडा टेकाए। यसरी आफ्नै नेतृत्वको पार्टीले गच्छदारको परीक्षा आगामी दिनमा अझ कठिन हुने देखिन्छ।
गच्छदारको काँगे्रसबाट बहिर्गमनपछि उनलाई कैलालीका रामजनम चौधरी, बर्दियाका मंगल थारू लगायत कांग्रेसबाट सभासद रहेकाले मात्र साथ दिएका थिए। थारूको ठूलो संख्या अझै पनि काँग्रेसमा रहेको तथ्य अहिलेको चुनावमा सो पार्टीबाट ७ जना थारू विजयी भएको अवस्थाले देखाउँछ। बाराका उमाकान्त चौधरी हारे पनि पर्साका सुरेन्द्र चौधरी, सिराहाका पद्म नारायण चौधरी, दाङका पार्वती डिसी चौधरी, शुसिला चौधरी, सर्लाहीका रामचन्द चौधरी, सप्तरीका तेजुलाल चौधरी विजयी भएका छन्। मोरङबाट गच्छदार हारे पनि सोही जिल्लाको क्षेत्र नं. ३ बाट कांग्रेसका दिलिप खवास गच्छदारले एमालेका गुरुप्रसाद बराललाई हराएका छन्। सो पार्टीले सरकार बनाएमा मंत्रीमण्डलमा सुरेन्द्र चौधरी तथा पद्म नारायण चौधरी पहिलो रोजाईमा पर्न सक्छन्। उनीहरू मंत्री भएको, आफू सत्ता बाहिर रहने कल्पना शायद गच्छदारको छैन होला।
पश्चिमतिर लक्ष्मण थारू, योगेन्द्र चौधरी तथा पुर्वतिर नरेन्द्रकुमार चौधरी, गोविन्द चौधरी, हरिबाबु चौधरी लगायत थारू हस्तीहरू मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मा प्रवेश गरेपछि यसको अवस्था बलियो हुने अनुमान गरिएको थियो। मधेशी दलमा सबैभन्दा अगाडि भए पनि यसले सोंचे अनुसार मत ल्याउन भने सकेन। गोविन्द चौधरी पहिले स्वतन्त्र, पछि तमलोपाबाट जितेकोमा यसपाली फोरम लोकतान्त्रिकबाट रौतहट–५ मा चौथो स्थानमा चित्त बुझाउनु पर्यो्। यस अघिको चुनावमा राप्रपाबाट सबैभन्दा बढी मत ल्याए पनि दोश्रो स्थानमा चित्त बुझाउनु परेको नरेन्द्रकुमार चौधरीलाई यसपाली फोरम लोकतान्त्रिकबाट सुनसरी–२ मा तेश्रो स्थानमा रही मन मार्नु पर्योा। यद्यपी मोरङ–६ मा भक्तिनाथ माझी थारू फोरम लोकतान्त्रिकबाट सम्मानजनक दोश्रो स्थानमा रहे।
फोरम लोकतान्त्रिकको पश्चिम क्षेत्रमा मत हेर्ने हो भने कञ्चनपुर १ र २, कैलाली २, बर्दिया १ र २ बाँके १, दाङ १, रुपन्देही २ तथा नवलपरासी ३ यी क्षेत्रमा चौथो स्थान पाएको छ। जवकि थरुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष भानुराम डगौंरा थारू कैलाली ३ बाट करीब ८ हजार मत ल्याएर तथा नवलपरासी ५ बाट देवानन्द फौजदार मात्र तेश्रा भए। बर्दिया ४ बाट पार्टीका सचिव मिनराज चौधरी चौथा स्थानमा रहे। कैलाली ५, कञ्चनपुर ३, कपिलबस्तु १ मा यो चौथो स्थानमा रह्यो। बाँके, दाङको कुनै क्षेत्रमा पनि यसले चौथा स्थान ल्याउन सकेन।
यस तथ्यले आगामी दिनमा थरुहट तराई पार्टीका कार्यकर्तालाई नै फोरम लोकतान्त्रिकमा छिराउने अभियान गच्छदारले लक्ष्मण थारूको सहायताले गर्ने देखिन्छ। केही मधेशी दलले अझै पनि एक मधेश प्रदेशको नारा लगाए पनि लक्ष्मण थारूको फोरम लोकतान्त्रिक प्रवेशपछि उसले तराईमा दुई प्रदेशको खाका ल्याई चितवनदेखि पश्चिमलाई थरुहट प्रदेश भनी खाका अघि सारेको छ।
मधेश आन्दोलनले गच्छदारलाई उपप्रधान तथा गृहमंत्री समेत बनायो। आफू मधेशी होइनौ भन्ने पहिचानका लागि उठेको ब्यापक थरुहट आन्दोलनले भने कुनै ठोस उपलब्धी हासिल गर्न सकेन। बरु थरुहट आन्दोलनको राप र तापसँगै झिनो आवाज उठाएको मुस्लिम समुदायले हामी मधेशी होइनौ भन्ने नारासहित मुस्लिम आयोगसमेत गठन गराउने सफलता पायो।
मधेश आन्दोलन तथा थरुहट आन्दोलनको शक्ति समीकरणको रुपमा फोरम लोकतान्त्रिकको भूमिका देखिएको छ। आफू मधेशी हुँ भन्ने गर्व गर्ने मधेशी तथा आफू मधेशी होइनौ भन्ने थारूलाई कसरी मिलाएर लैजाने गच्छदारको प्रमुख चुनौती हो। उनलाई पुराना यार शरतसिंह भण्डारीले पार्टी एकता तथा सरकारमा जान मनाउन थालेका छन्। हाललाई सरकार बाहिर रही मधेशी तथा थारूलाई एकसाथ मिलाएर लान सक्नुमा नै गच्छदारको सफलताको बाटो देखिन्छ। सत्ता या प्रतिपक्ष कुन छान्ने यो सवाल नै गच्छदारको अहिलेको अर्को प्रमुख चुनौती हो। सरकारलाई समर्थन गर्नु एउटा पक्ष तर आफै सरकारमा सहभागी भए गच्छदारको पतनको दिनगन्ती शुरु हुनेछ।
राजधानी दैनिकबाट साभार
Facebook Comment