कमैंया बस्तीमा भोट माग्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवा। तस्बिर : अविनाश चौधरी
कमैंया बस्तीमा भोट माग्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवा। तस्बिर : अविनाश चौधरी

धनगढी- कैलालीका मुक्त कमैंयाले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवासंग जग्गा र जागिर माँगेका छन्। भोट माग्नका लागि कमैंया बस्ती पुग्नु भएका देउवालाई आफ्नो पीडा सुनाउँदै उनीहरुले जग्गा र जागिर माँग गरेका हुन। धनगढीको मिलनपुर मुक्त कमैंया शिविरकी बसन्ती चौधरीले आफूहरु पीडैपीडामा बाँच्दै आएको सुनाए। आफ्नै आँगन पुग्नु भएका नेता देउवालाई उनले भने– ‘हाम्रो मुक्ति भएको धेरै बर्ष भइसक्यो। तर, पुनस्थापनाको लागि कसैले चासो गरेन।’

मुक्त कमैंया चौधरीले आफूहरुलाई बसेकै ठाउँमा जग्गा उपलब्ध गराई दिन देउवासंग आग्रह गरे। उनले भने– ‘हामीलाई तपाईबाटै जग्गा पाउने आशा छ। हामी धेरै पढे लेखेका छैनौं। राम्रो जागिर पाउन मुस्किल छ। पीएनसम्मको जागिर लगाई दिनुपर्‍यो।’

अर्का मुक्त कमैंया चुलराम चौधरीले पुनस्थापनाको लागि पहल गरी दिन देउवालाई आग्रह गरे। ‘तपाईकै पालामा हामी मुक्त भएका हौं’, चौधरीले थप्नुभयो–’पुनस्थापना पनि तपाईले गराउनु हुन्छ भन्ने आशा छ।’ माध्यमिक तहसम्म कमैंयाहरुले आफ्ना बच्चालाई जसो तसो पढाए पनि उच्च शिक्षा हाँसिल गराउन नसकेको उनले सुनाए। चौधरीले कमैंयाहरुका लागि उच्च शिक्षासम्म निःशुल्क पढाइको व्यवस्था गराइदिन देउवालाई आग्रह गरे।

बस्तीमा भोट माग्नका लागि धेरै दल आएको तर कमैंयाका मुद्दामा कसैले चासो नदिएको उनीहरु (मुक्त कमैंया) ले देउवालाई गुनासो सुनाएका छन्। मिलनपुर मुक्त कमैंया शिविरमा ६५ घरपरिवार बस्दै आएका छन्। एक बर्ष अगाडि नै बसेकै जग्गा दिने निर्णय भएपनि कमैंयाको नाउँमा त्यो जग्गा हुन सकेको छैन।

कमैंयाहरुलाई सम्बोधन गर्दै नेता देउवाले नेपाली काङ्ग्रेस कमैंयाको सवालमा अत्यन्त स्ककारात्मक रहेको बताए। उनले आफू नै प्रधानमन्त्री भएको बेला कमैंयाहरुलाई मुक्तिको घोषणा गरेको स्मरण गर्दै जग्गा, जागिर दिने आश्वसन दिए। नेता देउवाले आफूलाई जिताउन आग्रह गर्दै भने– ‘म जितेपछि तपाईहरुको दुःख, पीडा, मर्का सबै हटाउँछु।’

कांग्रेसको बहुमत आएमात्रै संविधान बन्ने दाबी गर्दै देउवाले आदिवासी थारुहरुलाई विशेषाधिकार दिइने बताए। वि. स. २०५७ साउन २ गते तत्कालिन सरकारले कमैंयाहरुलाई मुक्त भएको घोषणा गरेको थियो। कैलाली क्षेत्र नम्बर ६ का उम्मेदवार रहनु भएका नेता देउवाले धनगढीको मनेहरा र उर्मा गाविसको धुरझन्ना मुक्त कमैंया बस्ती पुगेरपनि भोट माग्नु भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *