दाङ- दाङमा प्रमुख तीन दल एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका तीन प्रतिस्पर्धी चुनाबी मैदानमा उत्रिएका छन्। ती उम्मेदवारहरुले एकअर्कालाई आफ्ना प्रमुख प्रतिस्पर्धीका रुपमा लिइरहेका छन्। क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका सुशीला चौधरी र नेकपा एमालेका शान्ता चौधरी आमनेसामने भिड्दैछन्। नेपाली कांग्रेसबाटै क्षेत्र नम्बर १ मा पार्वता डिसी चौधरी एकीकृत माओवादीबाट क्षेत्र नम्बर ४ मा रामजी चौधरी छन्। उनीहरुका चुनाबी एजेन्डा के कस्ता छन्? विस्तृत पढ्नुस्:

parbati dc nc
पार्वता डिसी चौधरी (कां‌ग्रेस), क्षेत्र नम्बर १

मुलुक संविधान सभा निर्वाचनमा होमिएको छ। यो निर्वाचन संविधान निर्माणका लागि हो। त्यसैले कांग्रेस र हामी कांग्रेसी उम्मेदवारको पहिलो ऐजेण्डा भनेकै लोकतान्त्रिक संविधान निर्माण हो। अनि मेरो अर्को ऐजेण्डा भनेको महिला अधिकारको विषय हो। पुरुषसरह महिलालाई पनि समान अधिकार दिनुपर्छ भन्ने ऐजेण्डाका साथ चुनावी अभियानमा छु। मेरो क्षेत्रका विकासे योजना पनि मेरो चुनावी ऐजेण्डा हुन्। सडक, विद्युत, स्वास्थ्य, शिक्षा, रोजगारीका समस्या हल गर्नु नै हाम्रा चुनावी ऐजेण्डा हुन्।
पहिलो संविधान सभामा नेपाली कांग्रेस पहिलो बन्न नसकेकै कारण मुलुकले संविधान पाउन सकेन। कांग्रेस नेतृत्व तहमा पुग्न सकेन र कम्युनिष्टले संविधान बनाउन चाहेनन्। यसकै परिणामस्वरुप संविधान सभा भंग भयो। तर अब नेपाली कांग्रेस नेतृत्व तहमा पुगेपछि मात्रै संविधान बन्छ भन्ने आश मतदातामा छ। त्यसैले नेपाली कांग्रेसको विजय हुनेमा दुईमत देख्दिन। फेरि मेरो क्षेत्र भनेको नेपाली कांग्रेसको गढ हो। पहिलो संविधान सभा निर्वाचनभन्दा पहिलेका संसदीय चुनावमा यो क्षेत्रमा कांग्रेसको एकछत्र राज चलेको पनि हो। तर पहिलो संविधान सभा निर्वाचनमा जितेको माओवादीले चार वर्षको अवधिमा पनि केही गर्न नसकेको यहाँका मतदातालाई थाहै छ। त्यसैले यहाँको माहोल कांग्रेसको पक्षमा छ, मेरो पक्षमा छ। प्रतिष्पर्धी जोसुकै होस् कमजोर ठान्नु हुन्न। मेरो प्रतिष्पर्धामा आउने भनेको एमाओवादी नै हो। किनकि पहिलो चुनाव जीतेको पार्टी पनि उही हो।

sushila chaudhari nc
सुशीला चौधरी (कांग्रेस), क्षेत्र नम्बर २

म यही क्षेत्रमा रहेर लामो समय राजनीति गरेँ। मेरो यो राजनीतिक दौड, केवल दौडमा मात्रै सिमित रहेन। यो दौडमा मैले धेरैको मन जीत्न सकेको छु। त्यसमाथि एउटा थारु समुदायकी छोरी भएकाले पनि मप्रति सहानुभूति राख्नेहरु धेरै छन्। मेरो क्षेत्रमा अहिले जहाँ गए पनि मतदातामा कांग्रेसको भावना छ। पहिलो चुनावजस्तो परिस्थिति अहिले छैन। यसअघि सरकार चलाएका एमाओवादी, एमालेले केही गर्न नसकेको गुनासो मतदातामा छ। त्यसैले मेरो पक्षमा जनलहर बढ्दो छ। संविधान निर्माण र आफ्नो क्षेत्रमा विकासे योजना आउने विश्वासमा यसपटक कांग्रेसलाई जीताउनुपर्ने भावना मतदातामा पैदा भएको छ। कांग्रेसप्रतिको यो उत्साहले मेरो जीत सुनिश्चित बनेको छ। मुख्यतः चुनावी ऐजेण्डा भनेको संविधान निर्माण भैहाल्यो। त्यस अलावा विकट स्थानमा विद्युत विस्तार, सडक, खानेपानीजस्ता योजना मेरो ऐजेण्डामा पर्छन्। युवा रोजगारीको अर्को मुख्य विषयलाई पनि ऐजेण्डा बनाएकी छु। चुनावमा प्रष्पिर्धा हुन्छ नै। मेरो मुख्य प्रतिष्पर्धा अहिले एमाओवादीसँग हो। किनकि ऊ पहिलो निर्वाचनमा जितेको पार्टी हो।

shanta chaudhari uml
शान्ता चौधरी (एमाले), क्षेत्र नम्बर २

संविधान निर्माण नै सबै पार्टी र उम्मेदवारको मूल ऐजेण्डा त हुने नै भयो। पूर्वकमलरी भएको नाताले मेरो अर्को मुल ऐजेण्डा वर्गीय समस्याको समाधान हो। वर्गीय थिचोमिचोमा परेकालाई कसरी न्याय दिने, उनीहरुलाई कसरी अधिकार सम्पन्न गराउने भन्ने नै मूल चिन्ताको विषय हो। त्यसैगरी महिला अधिकारजस्तो गम्भिर विषयमा मेरो चासो छ। म निर्वाचित भएँ भने महिला अधिकारको सबाललाई पनि उत्तिकै प्रागमिकता दिएर काम थाल्नेछु। विकासे योजनालाई पनि प्राथमिकतामा राखेकी छु। पहिलो संविधान सभाको पूर्वसभासद् पनि भएकाले त्यो अवधिमा मैले केही स्थानमा पुनःनिर्माणको काम गरेँ। त्यसैले म पूर्वकमलरी, मैले पहिलो संविधान सभामा छँदा गरेको मेरो कामले मतदातामा राम्रो छाप परेको छ। यहाँका अरु उम्मेदवारभन्दा म अनुभवी र क्षमतावान भएका कारण पनि मतदाताले मलाई रोज्नुहुनेछ। प्रतिष्पर्धाको कुरा गर्दा अन्य दुई पार्टी एमाओवादी र कांग्रेस उत्तिकै सशक्त छन्। त्यसैले यो वा त्यो भनेर कुनै एकै दललाई मात्रै प्रतिष्पर्धी ठान्नुभन्दा पनि उनीहरु दुवै मेरा प्रतिष्पर्धी हुन्।

Ramjee_chaudhari mao
रामजी चौधरी (एमाओवादी), क्षेत्र नम्बर ४

क्षेत्र नम्वर ४ मा मेरो विजयको अधार भनेको हामीले १० वर्षसम्म जनताका लागि गरेको योगदानलाई प्रमुख मान्छु। जनताको अधिकार स्थापित गर्न १० वर्षसम्म लडेको माओवादीले जनतालाई अधिकार सम्पन्न गरायो। यसले के देखाउँछ भने १० वर्षे लडाइँका कारण अधिकार सम्पन्न जनता माओवादीकै पक्षमा छन्। अनि यहाँका अरु पार्टीका उम्मेदवार पटक-पटक चुनाज जितेर गए, खै त विकास? जस्ताको तस्तै छ। त्यसैले केही गर्छ त त्यो माओवादीले मात्रै भन्ने भावना मतदातामा विकास भएकाले चुनावी नतीजा मेरो पक्षमा छ। सशस्त्र युद्ध लडेर जनालाई अधिकार सम्पन्न बनाएको माओवादीले जनताकै कुरा गर्ने हो, जनताकै अधिकारका पक्षमा लड्ने हो, यो चुनावमा पनि हामी जनताकै पक्षमा छौं, जनताकै अधिकारका नारा लिएर अघि सरेका छौं। जनताका आधारभूत समस्या समाधान हाम्रा प्रमुख ऐजेण्डा हुन्। खासगरी दाङ-सुर्खेत सडक खण्डको विस्तारलाई मेरो प्रमुख चुनावी ऐजेण्डा बनाएको छु। प्रतिष्पर्धी भन्नुहुन्छ भने मेरो मुख्य प्रतिष्पर्धी नेपाली कांग्रेस हो। उसले गरिब निमुखाको सबालमा लामो समयदेखि नारा उठाउँदै आएको पार्टी भएकाले उसलाई कमजोर ठान्न सकिन्न।

प्रस्तुती : देवेन्द्र बस्नेत/नागरिक दैनिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *