विद्युत प्राधिकरणका १८ कर्मचारीबाट पाँच करोड धरौटी माग
काठमाडौं- विशेष अदालतले गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेको अभियोग लागेका विद्युत् प्राधिकरणका १८ कर्मचारीबाट रू. ५ करोड बढी धरौटी बुझाई तारिकमा हाजिर हुन आदेश दिएको छ।
उक्त अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्रकरणमा मुछिएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो पटक दायर गरेको मुद्दामा तत्कालीन कार्यकारी निर्देशक जीवेन्द्र झासहितका १८ जनासँग धरौटी माग गरेको हो।
इजलासले तत्कालीन कार्यकारी निर्देशक जीवेन्द्र झाबाट रु दुई करोड, तत्कालीन महाप्रवन्धक युगल किशोर साहबाट रू दुई करोड, अर्का तत्कालीन महाप्रवन्धक रामेश्वर यादवबाट रु ३० लाख धरौटी असुल गर्न आदेश दिएको हो– उपरजिष्ट्रार निर्मला भट्टराईले जानकारी दिए।
इजलासले मनोज बराल, सुरज साह, राम बिजुल मण्डल, विनोद स्वर्णकार र निमेष पोखरेलबाट जनही रू १५ लाख, अर्जुन चौहानबाट रू दुई लाख असुल गर्न आदेश दिएको छ भने कैलास ढकाल, शशीविक्रम साह, हरिबहादुर पाल र महेश कार्कीबाट जनही रू १ लाख पचास हजार, नारायण चौधरी, हरि गासी र सुरेश कटुवालबाट जनही रू एक लाख असुल गर्न आदेश दिएको पनि उनले बताए।
यसैगरी सरोज श्रेष्ठ र सुशील खनालबाट भने जनही रु २५ हजार असुल गर्न आदेश दिएको थियो। उपरजिष्ट्रार भट्टराईका अनुसार आरोपितमध्ये तत्कालीन कार्यकारी निर्देशक झा उपचारार्थ अस्पतालमै रहेकाले भोलि उपस्थित गराउन आदेश दिइएको र तत्कालीन महाप्रवन्धकद्वय साह तथा यादव र अर्का कर्मचारी विनोदकुमार स्वर्णकारले धरौटी बुझाउन नसकेकाले थुनामै रहेका छन् भने रू १५ लाख धरौटी माग भएका पाँच अन्य कर्मचारीले बैंक जमानत बुझाएका थिए।
Facebook Comment