थारू समुदायको भजहर, जहाँ एकै ठाउँमा पाक्छ सयौं परिवारका भान्सा

गाउँभरिका मानिसको जमघटबीच सयौँ परिवारको खाना एकै ठाउँमा पाकिरहेको छ। माटोको चुलो लहरै राखेर भन्सर्या (भान्से) हरू मिठा भोजन तयार पार्न व्यस्त छन्। कैलालीको भजनी नगरपालिका-२, मोहनपुरमा थारू समुदायको भजहरको दृश्य हो, यो।

यो समुदायमा भजहर परापूर्वकालदेखि नै प्रचलनमा रहेको छ। परम्परागत चालचलन अनुसार मोहनपुरवासी परिवारले भजहरमा एकै ठाउँमा खान पकाइरहेका हुन्। सधैँ एकल भान्सामा काम गरेकी लक्ष्मीदेवी चौधरीलाई छुट्टै अनुभव भइरहेको छ। ‘गाउँभरिकै परिवारले एक ठाउँमा एकसाथ खाना पकाउँदा निकै रमाइलो हुने गर्दछ,’ उनले भनिन्।

यतिबेला विभिन्न गाउँमा भजहर चलिरहेको छ। यसमा परिवारका सबै सदस्यले एक छाक घरभन्दा बाहिर खानुपर्ने चलन रहेको छ। सोही चलनअनुसार गाउँभरिका परिवारको खाना एक ठाउँमा एकसाथ पाक्ने गरेको कैलारी गाउँपालिका-५, बैजपुरकी कविता चौधरीले बताइन्। ‘मैले बुझे अनुसार थारू समुदायको अरू कुनै पनि पूजामा गाउँभरिका परिवारको खाना एक ठाउँमा पाक्दैन। सबै परिवारले एक ठाउँमा एकसाथ खाना पकाउने भनेको भजहरमै हो,’ उनले भनिन्।

थारू समुदायका मानिसका अनुसार भजहर पनि एक किसिमको पूजा कार्यक्रम नै हो। विभिन्न किसिमको रोग, विपत्ति निकासीका लागि भजहर कार्यक्रम गर्ने गरेको जनाइएको छ। यसमा नयाँ धानको चामलको भात पकाउने गरेको बताइएको छ। भजहरमा गाउँभरिकै भात, तरकारी सङ्कलन गरेर पूजा गर्ने र त्यसपश्चात् मात्रै खाना खाने चलन रहेको प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका मोहनपुरवासी गङ्गाराम चौधरीले बताए। उनले भने, ‘चिराकीले सबै परिवारको भान्साबाट भात, तरकारी सङ्कलन गर्छन्। तत्पश्चात् गुरुवाले पूजा गरेपछि खाने, रमाउने चलन रहेको छ।’

भजहरमा खानपानपछि नाचगान गर्ने, विभिन्न पौराणिक खेल खेल्ने गरेको जनाइएको छ। आफ्नो गाउँमा १९२ परिवारले एक ठाउँमा एकसाथ खाना पकाएर भजहर मनाएको कैलारी गाउँपालिका-७, छटकपुर वसन्ताका पूर्वभलमनसा जियाराम चौधरीले बताए। उनले भजहरमा महिला दिदीबहिनीले छुर, कोइली दिदी जस्ता पुराना खेल खेल्ने गरेको उल्लेख गरे। -गोरखापत्रबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *