थाकस सभापतिमा मिनराज चौधरीले गरे उम्मेदवारी घोषणा
थारू कल्याणकारिणी सभाका उपमहामन्त्री मिनराज चौधरीले सभापतिको उम्मेदवारी घोषणा गरेका छन्। रुपन्देहीको भैरहवामा मंसिर १, २ र ३ गते हुने २३औं महाधिवेशनमा उनले सभापतिको उम्मेदवारी घोषणा गरेका हुन्।
२० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै उनले सभापतिमा लड्ने घोषणा गरेका हुन्। विगतमा सभाको नेतृत्व हत्याउनका लागि केहीले जग्गा दिन्छु, भवन बनाइदिन्छु भन्दै मिठा चिल्ला नारा दिई झुक्याउँदै थाकसको नेतृत्व हत्याएको उनको आरोप छ। ‘नेतृत्वको पुरातन सोंच, संकीर्ण विबिचार, ढुलमूले प्रवृति, सुस्त कार्यशैली, निस्क्रियता, सहअस्तित्व स्वीकार्न नसक्ने, निषेध गर्ने आदि कारणबाट थाकससँग थारूहरूले गरेको अपेक्षा चाहना, उद्देश्यअनुसार कार्य गर्न सकिरहेको छैन।
टीकापुर थरुहट विद्रोहपश्चात नेतृत्वले अझै सक्रियतापूर्वक कमाण्ड गर्नुपर्नेमा राज्यपक्षबाट लगाइको झुठा मुद्दाको कारण सुसुप्त हुन पुग्यो। जबरजस्ती जारी गरिएको संविधानमा थारुहरुका माग आंशिकरुपमा केही सम्बोधन भएका छन् तर अझै पनि धेरै माग पूरा हुन सकेका छैनन्। राज्यको हरेक संयन्त्रको सबै तह तप्कामा थारुहरुको प्रतिनिधित्वका लागि थुप्रै ऐन कानुनहरु संशोधन सहित निर्माणका लागि संघर्ष गर्नुपर्ने आवश्यकता रहेको छ,’ उनले जारी गरेको वक्तव्यमा भनिएको छ।
उनले अबको नेतृत्वका लागि अवसर, सम्भावना र थुप्रै चुनौतीहरू रहेको बताउँदै सभालाई सही ढंगले डोर्याउनका लागि महाधिवेशनले मिहिन ढंगले समीक्षा गर्दै स्पष्ट नीति, योजना, भावी कार्यदिशा एवं रणनीति तय गरी नेतृत्व गर्न सक्ने सबल, सक्षम, निडर, सक्रिय नेतृत्वको आवश्यकता रहेको औंल्याएका छन्।
Facebook Comment