थारू महिला सभाले यसपटक रुपन्देहीमा सामाचकेवा मनाउने
थारु महिला सभा उपत्यका समितिले यसपटक रुपन्देहीमा सामाचकेवा मनाउने भएको छ। थारू कल्याणकारिणी सभाको महाधिवेशनताकै मिति परेकाले यसपटक रुपन्देहीमा सामाचकेवा मनाउने निर्णय भएको समितिका अध्यक्ष ललिता चौधरीले बताइन्।
थारू सांस्कृतिक पर्वको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यसपटक रुपन्देहीमा सामाचकेवा मनाउन लागिएको उनको भनाइ छ। ‘हामीले नियमित काठमाडौंमा सामाचकेवा मनाउँदै आएका थियौं। तर, यसपटक महाधिवेशन परेकाले पूर्वीया थारु संस्कृतिको प्रवर्द्धन पनि हुने भएर रुपन्देहीमा मनाउन लागेका हौं,’ अध्यक्ष चौधरीले थारुवानसँग भनिन्।
त्यसका लागि तयारी तीव्र पारिएको उनले बताइन्। उनका अनुसार रुपन्देहीका थारू महिलाहरूलाई पनि सामाचकेवामा सहभागी हुन आह्वान गरिएको छ। ‘त्यहाँका थारुहरुले पनि भरपुर सहयोग गर्ने भन्नुभएको छ। उहाँहरू सामाचकेवा मनाउन उत्साहित पनि हुनुहुन्छ,’ उनले भनिन्।
दाजुबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको मौलिक पर्व समाचकेवाको रौनक अहिले थारु बस्तीसँगै सहरहरूमा पनि मनाउन थालिएको छ। गोबर्धनपूजाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइने यो पर्वमा दिदीबहिनीले माटोका विभिन्नखाले मूर्तिहरू समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृति बनाएर खेलिने गर्छन्।
Facebook Comment