महामन्त्री प्रेमीलाल चौधरीले गरे थाकसको सभापतिमा उम्मेदवारी दिने घोषणा

महामन्त्री प्रेमीलाल चौधरी चौधरीले थारू कल्याणकारिणी सभाका सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंसिर १, २ र ३ गते रुपन्देहीको भैरहवामा हुने २३औं महाधिवेशनमा उनले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उनले आफू स्वतः सभापतिको हकदार भएको बताएका छन्। अध्यक्ष धनिराम चौधरी ‘भूमिगत’ अवस्थामा रहेपछि थाकसको सम्पूर्ण काम कारबाही आफूले अगाडि बढाउँदै आएको उनले बताए। ‘टीकापुर घटनामा मुछिनुभएपछि सभापतिज्यु सक्रिय हुन सक्नुभएन। टीकापुर घटनामा आरोपित बनाइएपछि नै सबैले उहाँको कार्यकाल दोहोर्‍याउनुभएको थियो। तर उहाँ सक्रिय हुनुभएन। हामीले नै सम्पूर्ण जिम्मेवारी निर्वाह गर्‍यौं,’ थारुवानसँग उनले भने।

उनले आफ्नो महामन्त्री कार्यकालमा टीकापुर घटनाका मुद्दा फिर्ता लिन सरकारलाई दबाब दिएको नीतिगत निर्णय गराउन पहल गरेको बताए। त्यस्तै थारू आरक्षणको मुद्दा पनि आफ्नै नेतृत्वमा भएको उनले बताए। तर, न टीकापुर घटनाको मुद्दा सरकारले फिर्ता लिएको छ न, थारू आरक्षणको मुद्दा संसदबाट पारित भएको छ। सभापति चुनिएपछि यी दुवै विषयलाई पूरा गराउन सम्बन्धित निकायलाई दबाब सिर्जना गर्ने र पूरा गराईछाड्ने महामन्त्री चौधरीको प्रतिवद्धता छ।

‘स्वभाविक रुपमा नेतृत्वमा मेरो दावेदारी रहन्छ। यसमा सबैले सहयोग पनि गर्नुहुन्छ। संगठनको काममा सक्रियताको हिसाबले पनि म पहिलो रोजाइमा पर्छु,’ उनले भने। संगठनको कामका लागि घरको कामलाई समेत तिलाञ्जलि दिएर आफू थाकसको काममा सधैं लाग्दै आएको र आगामी दिनमा पनि संगठनलाई सक्रिय बनाउन लागिरहने प्रतिबद्धता उनको छ।

उनले अधिकारमुखी विभिन्न आन्दोलनमा शहादत्त प्राप्त गर्नुभएका थारु शहिदलाई नेपाल सरकारबाट शहिद घोषणा गराउने, थारु समुदायबाट अलग भएका रानाथारु समुदायलाई थारुमै मिलाउने, टीकापुर घटनामा फरारको मुद्दा झेलिरहेकाहरुको मुद्दा फिर्ता गराउने, थाकससँग विभिन्न समयमा नेपाल सरकारले गरेको सम्झौता कार्यान्वयन गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए।

यस्तै, थारु विद्यार्थीलाई सरकारी छात्रबृत्तिको सुनिश्चित्ता गराउने, थाकसको सागठनिक संरचनालाई सक्रिय बनाउने, भातृ संगठनहरुको गतिविधि चलायमान बनाउने, विदेश शाखालाई पनि सक्रिय बनाउने, संविधानमा समेटिएको तर कार्यान्वयन नभएको अधिकार कार्यान्वयनका लागि पहल गर्ने, बन्न बाँकी कानुन निर्माणका लागि पहल गर्ने, थाकसको केन्द्रीय भवन निर्माणका लागि पहल गर्ने, थाकसको नेतृत्वका लागि युवापिढीलाई तयार गर्ने लगायतको कामहरु आफूले गर्ने उनले योजना सुनाए।

थारु कल्याणकारिणी सभा थारु समुदायको छाता सगठन भए पनि चुस्त र प्रभावकारी हुन नसकेको धेरैको गुनासो । काठमाडौं उपत्यकामा थाकसको अहिलेसम्म आफ्नै भवन नहुँदा कार्यालय सञ्चालनमा समेत समस्या झेल्दै आएको छ। नेतृत्व चयनका बेला नेतृत्वमा आउनेहरु भवन बनाउने प्रतिवद्धता जनाए पनि अहिलेसम्म त्यसको व्यवस्थापन हुन नसक्दा महँगो भाडा तिरेर थाकसले आफ्नो कार्यालय सञ्चालन गर्दैआएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *