थाकस महाधिवेशनको उद्घाटन उपप्रधानमन्त्री विष्णु पौडेलले गर्ने
थारू कल्याणकारिणी सभा (थाकस)को २३औं महाधिवेशनको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले गर्ने भएको छ। मंसिर १, २ र ३ गते रुपन्देहीको भैरहवामा हुने महाधिवेशनको उद्घाटन मन्त्री पौडेलले गर्ने महामन्त्री प्रेमीलाल चौधरीले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको निम्तो दिइए पनि कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिइएको महामन्त्री चौधरीले बताए। प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेकाले महाधिवेशनमा सहभागी नहुने बताइएको छ। प्रधानमन्त्री ओली आफू उपस्थित हुन नसकेपछि रुपन्देही गृहजिल्ला भएको अर्थमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेललाई थाकस महाधिवेशनमा पठाएका हुन्।
थाकसले भव्यरूपमा महाधिवेशन सफल पार्न तयारी तीव्र पारेको छ। उनका अनुसार प्रमुख अतिथि, अतिथि, प्रतिनिधि/पार्षद र पर्यवेक्षकहरूको नामावली तथा भैरहवामा उनीहरूको गास/बासको व्यवस्थापन तीव्ररूपमा भइरहेको छ।
त्यस्तै देशभरिका थारू नेता तथा सांसदहरूलाई बोलाइने भएको छ। महामन्त्री चौधरीका अनुसार अहिले धमाधम निमन्त्रणा बाँड्ने काम भइरहेको छ। उनका अनुसार प्रतिनिधिसभा/राष्ट्रियसभा र प्रदेश सांसदहरूलाई पनि कार्यक्रममा निमन्त्रणा दिइएको छ।
Facebook Comment