२३औं महाधिवेशनको संघारमा थारू कल्याणकारिणी सभा, तीव्र तयारी हुँदै

थारू कल्याणकारिणी सभा (थाकस)ले २३औं महाधिवेशनको तयारी तीव्र पारेको छ। मंसिर १, २ र ३ गते रुपन्देहीको भैरहवामा हुने महाधिवेशनको तयारी तीव्ररूपमा भइरहेको महामन्त्री प्रेमीलाल चौधरीले बताए।

उनका अनुसार प्रमुख अतिथि, अतिथि, प्रतिनिधि/पार्षद र पर्यवेक्षकहरूको नामावली तथा भैरहवामा उनीहरूको गास/बासको व्यवस्थापन तीव्ररूपमा भइरहेको छ।

महाधिवेशनमा केन्द्रीय सरकारका मन्त्रीबाट उद्घाटन गराउने तयारी गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको निम्तो दिइए पनि कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिइएको महामन्त्री चौधरीले बताए।

प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेकाले महाधिवेशनमा सहभागी नहुने बताइएको छ। प्रधानमन्त्री ओलीले क्याबिनेटका उपप्रधानमन्त्रीलाई प्रमुख अतिथिका लागि पठाउने वाचा गरेका छन्। सम्भवतः अर्थमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले महाधिवेशनको पहिलो सत्रको उद्घाटन गर्नेछन्।

त्यस्तै देशभरिका थारू नेता तथा सांसदहरूलाई बोलाइने भएको छ। महामन्त्री चौधरीका अनुसार अहिले धमाधम निमन्त्रणा बाँड्ने काम भइरहेको छ। उनका अनुसार प्रतिनिधिसभा/राष्ट्रियसभा र प्रदेश सांसदहरूलाई पनि कार्यक्रममा निमन्त्रणा दिइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *