प्रदीप चौधरीलाई लिएर एक्सन थ्रीलर फिल्म ‘सत्यवीर’ निर्माण हुने
तिहारको अवसरमा फिल्म ‘सत्यवीर’ निर्माणको घोषणा गरिएको छ । गडरेज पिक्चर्स प्रालीले सामाजिक कथामा एक्सन थ्रीलर फिल्म बनाउने जनाएको हो।
अभिनेता प्रदीप चौधरीलाई समेटेर फिल्मले घोषणा पोस्टर सार्वजनिक गरेको छ । रगतले लतपतिएको बञ्चरोसहित उनलाई आक्रामक लुक्समा प्रस्तुत गरिएको छ । पृष्ठभूमिमा धरहरासहित काठमाडौं देख्न सकिन्छ । फिल्म ‘होस्टेल’मा चौधरी पिके डन नामक भूमिकामा अभिनय गरेका थिए ।
दशकपछि चौधरी फिल्म अभिनयमा फर्किन लागेका हुन् । उनी मण्डला नाटकघरमा सक्रिय छन् । फिल्मको निर्मातामा आदेश सुब्बा छन् । विराज खड्काको निर्देशनमा बन्ने फिल्म डिसेम्बरदेखि छायांकन हुनेछ । खड्का लामो समयदेखि भीएफएक्समा सक्रिय प्राविधिक हुन् ।
फिल्ममा ४० प्रतिशत भीएफएक्स समावेश हुने निर्देशक खड्काले जनाए । बाँकी ६० प्रतिशत दृश्य काठमाडौं र चितवन लगायत तराई क्षेत्रमा छायांकन हुनेछ । कलाकारमा चौधरी र द्वन्द्व निर्देशकमा हिमाल केसी मात्र अहिलेसम्म तय छन् । फिल्मको पटकथा लेखन चौधरीकै हो । २ करोड रुपैयाँको लगानीमा बन्ने फिल्ममा परिचित कलाकारलाई अनुबन्धित गरिने जनाइएको छ ।
Facebook Comment