सशस्त्र द्वन्द्वमा १४ जना थारूहरू एकसाथ बेपत्ता भएको त्यो दिन

यज्ञप्रसाद सापकोटा/नयाँ पत्रिकाबाट साभार
विद्यालय बिदाको समय भए पनि मानपुर माध्यमिक विद्यालयमा मानिसहरूको चहलपहल बढ्दो थियो। विद्यालयका दुईवटा कोठाहरूमा झ्यालबाट महिला, जेष्ठ नागरिक र युवाहरूले चिहाइरहेका थिए। कतिपयका आँखामा आँसु टिलपिलाएको देखिन्थ्यो। ती कोठाहरूमा आफ्ना सबैभन्दा प्रिय मान्छेको याद लुके जसरी उनीहरू टोलाएका थिए। मानपुरको यस विद्यालयको नाम सुन्नेबित्तिकै झस्किने, विद्यालयका ती भवनहरू देख्नेबित्तिकै आँसु थाम्न नसक्ने उनीहरू यसपटक भने हिम्मत जुटाएर त्यहाँ पुगे। आफन्तको याद लुकेको विद्यालयका ती कक्षाकोठाहरू हेरे, आँसु झारे र उनीहरूको नाममा दियो बाले।

ठीक २१ वर्षअघि ०५९ कात्तिक ३ र ४ गतेको कालो रातपछि उनीहरू हरेक रात यसरी नै टोलाएका छन्। आफन्तको पर्खाइमा २१ वर्ष बितिसक्यो, तर पनि आफन्त फर्केर नआएपछि यस वर्ष भने उनीहरूको सम्झनामा सोही विद्यालयमा बत्ती बालेर फोटोमा माल्यार्पण गरी एक मिनेट मौनधारण गरे।

विद्यालयलाई शान्ति क्षेत्र भनिन्छ। तर, बर्दियाको राजापुरस्थित यस विद्यालयलाई नै कब्जा गरेर तत्कालीन सुरक्षा फौजले अस्थायी क्याम्प राख्यो। आसपासको क्षेत्रबाट १४ जनालाई पक्राउ गरेको थियो। केही दिन सोही विद्यालयको निर्माणाधीन कोठामा खुला आकाशमुनि राखेपछि सुरक्षा फौजले आफूसँगै लगेको थियो। तर, त्यसपछि ती १४ जना कहाँ कुन अवस्थामा छन् भन्ने हालसम्म पत्ता लागेको छैन। सरकारले उनीहरूको नाम बेपत्ताको सूचीमा राखेको छ।

राति घरमा सुतिरहेको अवस्थामा सुरक्षा फौजले अर्धनग्न शरीरसहित बाटो देखाइदिन भनेर लगेको आफन्तीहरू बताउँछन्। यसअघिसम्म विद्यालय हातामा पुग्दा झस्किने बेपत्ताका परिवारहरू यसपटक भने हिम्मत जुटाएर विद्यालयमा पुगेर बेपत्ता भएका आफन्तको सम्झना गरेको राजापुर नगरस्तरीय द्वन्द्वपीडित समितिकी अध्यक्ष लौटन थारूले बताइन्। उनले यसै विद्यालयबाट राजापुरका १४ जनालाई तत्कालीन राज्य पक्षले बेपत्ता पारेको बताउँदै राज्यले बेपत्ताहरूको अवस्था सार्वजनिक गर्न धेरै नै ढिला गरेको बताइन्।

राजापुर नगरपालिका वडा नं ६ बस्ने शिवा थारूले आफ्नो श्रीमानलाई अन्तिमपटक मानपुर माविको पूर्वतर्फ रहेको टिनको छाना भएको भवनमा देखेकी थिइन्। विद्यालयभन्दा पूर्वतर्फको सडकबाट श्रीमानलाई आँखामा पट्टी बाँधेर राखेको अवस्थामा देखेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘त्यति वेला विद्यालयको भवन भर्खर निर्माण हुँदै थियो। झ्यालढोका हालेको भए पनि माथि छाना थिएन। दिवाल र भुइँ प्लास्टर नगरिएको अवस्थामा थियो। कात्तिकको चिसोमा खुला आकाशमुनि राखिएको थियो,’ मानपुर विद्यालयको बाटो देखाइदिन भन्दै घरबाट लगिएको बताउँदै उनले भनिन्, ‘सानो भेस्ट (स्यान्डो) र कट्टु लगाएर सुतेको समयमा लगेका थिए, तर अहिलेसम्म फर्किएनन्।’

शिवा भन्छिन्, ‘अहिलेसम्म म यस विद्यालयका ती कक्षाकोठामा पस्न सकेकी थिइनँ, कोठामा पस्यो कि श्रीमानको यादले आँसु आइहाल्छ। अहिले पनि यही कोठामा रोएको, कराएकोजस्तो सुन्छु।’ श्रीमान् बेपत्ता हुँदा सानी छोरी पेटमा भएको सम्झिँदै उनी थप्छिन्, ‘अहिले त उनको पनि विवाह भइसक्यो, अझै पनि श्रीमान् आउनुहुन्छ कि जस्तो लाग्छ। सरकारले अब त श्रीमानको अवस्थाबारे सार्वजनिक गर्छ कि भन्ने आशा लागेको छ।’

बेपत्ता मंगरू थारूकी श्रीमती अनन्त थारूले अझै पनि विद्यालयकै भवनमा श्रीमान् हुनुहुन्छ कि भनेर हेर्न आउने गरेको बताउँछिन्। ‘अझै पनि त्यही बाटोबाट झ्यालतिर हेर्छु,’ बाटोतिर देखाउँदै उनले भनिन्, ‘त्यहीबाट श्रीमानलाई यो कोठामा देखेको थिएँ, रोएको सुनेको थिएँ। बाटोबाट हेर्दा सुरक्षाकर्मीले पिटेर लखेटेको भर्खरजस्तो लाग्छ।’ मानपुर जाने बाटो देखाइदिन भन्दै श्रीमानलाई लिएर हिँडेको २१ वर्ष बित्यो,’ उनले भनिन्, ‘अझै बाटो नै देखाइरहेका छन् कि ज्युँदै छन् कि मरेका छन् कि केही थाहा छैन, सरकारले छिट्टै सार्वजनिक गर्नुपर्‍यो।’ बेपत्ता पारिएका अर्का व्यक्तिकी श्रीमती हिरा थारूले विद्यालयको एक स्थानमा विद्यालयबाट बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा स्तम्भ वा पार्क बनाउनुपर्ने बताइन्। उनले भनिन्, ‘पहिलो कुरा त हाम्रा मान्छेको अवस्था थाहा पाउनुपर्‍यो। तत्पश्चात् हाम्रा मान्छेको सम्झनास्वरूप विद्यालय वा विद्यालयको आसपासको क्षेत्रमा संरचना निर्माण गर्नुपर्छ।’

द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संसोधन भएर नयाँ आयोग गठनको प्रक्रिया सुरु भएको बताउँदै अब कानुनअनुसार दुई महिनाभित्र आयोग गठन हुनुपर्ने बताए। ऐनअनुसार काम भएमा पीडितको पक्षमा काम हुने उनको भनाइ छ। सरकारले लामो समय लगाएर ऐन संसोधन गरेर प्रमाणीकरण गराइसकेकाले ऐनमा व्यवस्था भएअनुसार पीडितले न्याय पाए मान्न सकिने अध्यक्ष चौधरीले बताए। संक्रमणकालीन न्यायको सिद्धान्तअनुसार पीडितलाई न्याय, राहत, क्षतिपूर्ति र परिपूरणका कार्यक्रमहरू सञ्चालन हुनुपर्ने माग गरेका छन्।

राजापुर नगरपालिकाका नगरप्रमुख दीपेश थारूले सरकारले छानबिन गरेर बेपत्ताहरूको सार्वजनिक तत्काल गर्नुपर्ने बताए। नगरपालिकाभित्र रहेका द्वन्द्वकालमा बेपत्ता र मृत्यु भएका परिवारलाई जीविकोपार्जनका लागि आयआर्जनको कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै बेपत्ताका श्रीमतीहरूलाई मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको बताए।

राजापुर नगरपालिकाभित्र सशस्त्र द्वन्द्वको क्रममा ३९ जना बेपत्ता र ७० जना मृत्यु भएको तथ्यांक छ। द्वन्द्वपीडित समिति बर्दियाका अनुसार बर्दियामा सबैभन्दा बढी २५० जना बेपत्ता भएका छन् भने ३२८ जनाको मृत्यु भएको छ।

को हुन् बेपत्ता १४ जना ?
दुई दिनसम्म गाउँ-गाउँ घुमेर कब्जामा लिइएका १४ जना सबै कृषक थिए। उनीहरूलाई राति सुतिरहेको समयमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो। केही दिन मानपुर माविमा राखेपछि सुरक्षाकर्मीले आफूसँगै लगेको बेपत्ताका आफन्तहरू बताउँछन्। स्थानीय वसन्तु थारू, मंगरू थारू, फुलाराम थारू, रुन्चे थारू, बगाले थारू, लौटन थारू(क), महेश थारू, गोपाल थारू, मोतीलाल थारू, रामचरण थारू, कालुराम थारू, लौटन थारू(ख), राजकुमार थारू र जयराम थारूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।

सुरक्षाकर्मीले मानपुर माविबाट उनीहरूलाई लगेपछि आफन्तहरू तत्कालीन शाही नेपाली सेनाको ब्यारेक ठाकुरद्वारा, जिल्ला प्रहरी कार्यालय गुलरिया, जिल्ला कारागारलगायतका ठाउँमा खोजबिनका लागि गए। तर, कुनै पनि ठाउँमा फेला पार्न सकेनन्। २१ वर्षसम्म राज्यले उनीहरूको अवस्थाबारे जानकारी दिएको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *