भारतीय सेनाका मेजर जनरल देवगनले भने- नेपाल भ्रमण सफल र फलदायी भयो

भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन नेपालको ६ दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। असोज १४ गते नेपालका भ्रमणका लागि काठमाडौं आइपुगेका ३ गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ देवगन शनिबार स्वदेश फर्किएका हुन्।

नेपालका भ्रमणका क्रममा देवगनले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने विषयमा छलफल भएको थियो। भारतीय दूतवासका अनुसार उनीहरूबीच दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो।

त्यस्तै देवगनले पोखरा भ्रमण पनि गरेका थिए। पोखरामा भूतपूर्व सैनिक र्‍यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरिएको दूतावासले जनाएको छ। नेपाल भ्रमणका क्रममा उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (इसीएचएस) पोलिक्लिनिकको पनि भ्रमण गरेका थिए। त्यसक्रममा उनले भूतपूर्व सैनिकको सेवामा इसीएचएस नेपालको पहुँचलाई अझ अगाडि बढाउने कुरामा जोड दिएका थिए।

मेजर जनरल देवगनले नेपाल भ्रमण सफल र फलदायी भएको बताएको भारतीय दूतावासले जनाएको छ। ‘उहाँले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरुको कल्याणका लागि लिइएका प्रयासको प्रशंसा गर्नुभएको थियो,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *