खोलाले बगाउँदा बेपत्ता भएका चौधरी तीन दिनपछि मृत भेटिए

माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका झापा कमल गाउँपालिका-१ का मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी मृत भेटिएका छन् । उनको शव तीन दिनपछि घटनास्थलदेखि करिब ३ किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी टोली र स्थानीयबासीले खोजतलास गर्नेक्रममा सोमबार बिहान साढे ८ बजे उनको शव फेला परेको थियो । शुक्रबार साँझ ७ बजे कमल– १ स्थित कृष्णे खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर उनी बेपत्ता भएका थिए । झापामा बेपत्ता भएका तीनै जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ ।

जमुना खोलाले बगाएको दुई दिनपछि कचनकवल गाउँपालिकाकी १५ वर्षीया बालिका नेहारिका राजवंशी आइतबार मृत भेटिएकी थिइन् भने गौरीगञ्ज गाउँपालिका २ बगहाचौधरीस्थित किस्ने खोलाको पुलबाट हाम फालेका केमालाल ताजुरियाको शव शनिबार साँझ भेटिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *