थाकस दाङको विज्ञप्तिमा आपत्ति, कमलरी राखेर बालशोषण गर्ने एमाले सांसदको पक्षमा वकालत गरेको आरोप

थारू समुदायमा चर्चाको विषय नबने पनि राष्ट्रिय मिडियामा यतिबेला १४ वर्षीया बालिका उर्मिला चौधरीको चर्चा छ। उनै उर्मिलालाई बालशोषण गरेको भन्दै एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद रेखा शर्माविरुद्ध अदालतमा मुद्दा परेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकै अगुवाई गत जेट १४ गते उर्मिलालाई धुम्बाराहीस्थित सांसद शर्माको घरबाट उद्दार गरिएको थियो।

आठ वर्षदेखि उर्मिला शर्माको घरमा बालश्रम गर्दै आइरहेको र शर्माको घरमा आएदेखि बालिकालाई घर जान पनि नदिएको र आमाबुबासँग पनि भेट्न नदिएको महानगरको भनाइ छ। त्यतिमात्र होइन, पढाउन ल्याएका उर्मिलालाई सांसद शर्माले घरमा खाना पकाउन लगाउने, घर सफा गर्न लगाउने, लुगा धुन लगाउने जस्ता कामहरू लगाउने गरेको बालिकाले बताएकी छन्।

महानगरको टोलीले प्रहरी परिसर टेकुमा शर्माविरुद्ध बालबालिकासम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता ऐन, २०७४ बमोजिम दास बनाउन नहुने कसुरअन्तर्गत शर्माविरुद्ध जाहेरी दर्ता गर्‍यो।

यस सन्दर्भमा महानगर प्रमुख बालेनले फेसबुकै स्टाट्स लेखेका थिए।

‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।
सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने?’

बालेनले रेखा शर्मालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउनुपर्ने माग गरेका छन्। यस प्रकरणमा बालेन र सिंगो एमालेबीच वाद विवाद भइरहेको छ। बालेनका समर्थकहरूले प्रधानमन्त्रीसमेत रहेका केपी शर्म ओलीको फेसबुकमा फ्लोअर्ससमेत घटाउने अभियान चलाए। यसै सन्दर्भमा थारू कल्याणकारिणी सभाले विज्ञप्ति जारी गरेको छ। दाङकै चेलीलाई न्याय दिलाउने मागभन्दा पनि थाकस दाङले एमाले सांसद मुछिएको प्रकरणकै सम्बन्धमा ध्यानाकर्षण जनाएको छ।

दाङका सभापति असोक कुमार चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बधम दाङ तुल्सिपुर घर रलक उर्मिला चौधरीहे लुम्विनी प्रदेशके माननिय संसद रेखा वि.क.शर्मा काठमाण्डौम लैजाके कम्लहरीके रुपम ढर्ल रलह कना विषय, काठमाण्डौ महानगरपालिकाके महिला वालवालिका महाशाखा उ पिडितके रुपम उल्लेखित उर्मिला चौधरीहे माननिय संसदके घरमसे लैगेलक विषय, यि विषयके सम्बन्धम सर्वोच्च अदालतके फैसलाके विषय व यि विषयम काठमाण्डौ महानगरपालिकाके नगर प्रमुख बालेन शाह सामाजिक सञ्जाल फेसबुकम ढर्लक विषयप्रति थारु कल्यायाकारिणी सभा दाङ देउखरके ध्यानाकर्षण हुइल बा । खास कैसे यि विषय कानुनी विषय हुइलक ओरसे सत्य तथ्य का कसिन हो यथार्थ बाट पत्ता लगाके खास दोषिहे कानुन बमोजिम यथाशिघ्र कार्वाही करकलाग सरकारसे जोडदार माग करटी।’ थारू भाषामा लेखिएको विज्ञप्तिको सार नै सरकारले नै मुक्त घोषणा गरेको कमलरीविरुद्ध नभई सांसद शर्मालाई बचाउने किसिमले प्रकरणकै छानबिन गर्न माग गरएको छ।

एमालेकी नेतृ एवं पूर्व सांसदसमेत रहेकी शान्ता चौधरीले पनि उर्मिलाको पक्षभन्दा पनि पार्टीकै पक्षमा स्टाट्स लेखेकी छन्। उनले भनेकी छन्, ‘फेसबुके जुहारीमा युवाहरु ब्यस्त भएको देख्दा हाम्रा राजनीतिहरू एजेन्डाविही हुन थालेका त होइनन् भन्ने शंका हुन थाल्यो। केही दिनदेखि फलो र अनफलो भन्दै बहस मा व्यस्त छन् साथीहरू। विशेष गरेर युवाहरू यस्तै कुरालाई राजनीति भनेर बस्ने कि जनताका वास्तविक समस्यालाई समाधान गर्न कुनै सिर्जनशील उपाए निकाल्ने कार्यमा ब्यस्त हुने?’

थाकस दाङको विज्ञप्तिविरुद्ध अधिवक्ता अर्णव चौधरीले कडा प्रतिकार गरेका छन्। उनले भनेका छन् ‘युवतीको अवस्था के कस्तो छ मतलब नै नहुने गरी यस्तो खाल को विज्ञप्ति? प्राथमिकतामा त्यो थारु युवतीको मानव अधिकारीको कुराबारे लेख्नुपर्ने हो। युवतीको न्यायलाई प्राथमिकतामा राख्नुपर्ने हो। न्यायालयको विषय हो भनेर चुप बस्ने होइन। यसमा आरोपीलाई बचाउ गर्ने मुख्य उद्देश्य देखिन्छ न कि युवतीको न्याय बचाउने।’

‘थारुको न्यायको लागि काम गर्ने रे भन्दै’ उनले कडा प्रतिवाद गरेका छन्। उनले संस्थाको लेटरप्याडमा व्यक्तिगत स्टाटस नलेख्न पनि आग्रह गरेका छन्।
अर्णव अगाड लेख्छन्-
लुम्बिनी प्रदेश की संसद रेखा कुमारी शर्माको घरबाट काठमाडौं महानगरपालिकाबाट एक जना थारु युवतीको उद्दार भएको छ। थारु कमलरी युवतीहरुले आफै नेतृत्व गरी त्यति ठूलो संघर्ष र आन्दोलनबाट सामाजिक कुरीति प्रथाको रूपमा स्थापित भएको कमलरी प्रथा लाई राज्यबाट गैर कानूनी र मानव अधिकारको हनन को रूपमा स्थापित गर्न सफल भए तर अझै सम्म यसरी लुकी छिपी कमलरी प्रथा अझै जीवन्त छ। इन्तु परन्तु केही होइन यो नितान्त मानव अधिकार विरुद्धको कार्य हो ,यो दासता हो, बढुँवा मजदूरी हो, बन्धक श्रम शोषण, बाल श्रम शोषणको पराकास्ता हो। यो शून्य सहनशीलताको विषय हो।
त्यसैले रेखा कुमारी शर्माको वचाउमा उत्रेर मानवता हिन काम न गर्दा हुन्छ। उनी कानुनको कठघरामा मा उभिन लायक का व्यक्ति हुन् र सजाय भागीदार हुनु पर्छ। उनी माथि कारवाही हुनु पर्छ।
शक्ति र पहुँचको आडमा बच्न नखोज्नुस्। जनताको प्रतिनिधित्व गर्ने स्थानको मान्छे बाट यस्तो हुँदैछ अरु बाट अपेक्षा के राख्ने? सम्बन्धित सबै सरोकारवाला हरु, मानवताको रक्षकहरु यस्ता किसिमका घृणित कार्यको विरुद्ध मा आवाज उठाउ।
न्यायपूर्ण समाजको लागि यति संघर्ष गर्दा पनि हाम्रो समाजमा यस्तो किसिमको घटनाहरु देख्न सुन्न पर्नु भनेको दुःखद छ। अझै कति बालिकाहरू यसरी बस्नु परी रहेको छ होला? आङ जिरिङ्ग हुन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *