एकै कार्यक्रममा रेशम-रञ्जितालाई निम्ता, होलान् सहभागी?

नागरिक उन्मुक्ति पार्टीको कैलाली जिल्ला समितिले पहिचानको आन्दोलन र थरुहट आन्दोलन विषयक अन्तर्रक्रियात्मक कार्यक्रम आयोजना गर्दैछ। भदौ १५ गते शनिबार कैलालीको जोशीपुरस्थित मैनापोखरीमा हुने कार्यक्रमका लागि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई पनि निमन्त्रणा दिइएको छ।

पार्टीका जिल्ला अध्यक्ष प्रदीप चौधरीले अध्यक्ष श्रेष्ठलाई प्रमुख अतिथि र रेशमलाई विशिष्ट अतिथिको निमन्त्रणा पठाएको बताए। श्रीमान श्रीमतीबीच पार्टी नेतृत्वको सबालमा चरम विवाद रहेको छ। उनीहरूबीचको विवाद सार्वजनिकरूपमा छताछुल्लमात्र होइन, अदालतमा समेत विचाराधीन रहेको छ।

पछिल्लो समय उनीहरूबीच भेटघाट पनि पातलिएको बताइन्छ। रेशम चौधरी काठमाडौं आएका बेला छोरालाई भेट्ने क्रममा श्रीमती रञ्जितालाई पनि भेट्ने गरेको निकटहरू बताउँछन्।

श्रीमान श्रीमतीबीचको विवादकै कारण रञ्जिता पछिल्लो आफ्नो निर्वाचन क्षेत्रमा समेत पाइला टेकेकी छैनन्। पार्टीकै कार्यक्रम पनि उनीहरूले छुट्टा छुट्टै गरिरहेका छन्। यस्तो अवस्थामा उनीहरू जोशीपुरको कार्यक्रममा सहभागी हुन्छ कि हुँदैनन् भन्ने सबाल पार्टीभित्र चर्चाको विषय बनेको छ। यद्यपि दुवैलाई कार्यक्रममा सहभागी गराउने दाबी कैलाली समितिको छ।

कार्यक्रममा ठाकुर सिंह थारू र दिलबहादुर चौधरीले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ। यसअघि नै जानकी गाउँपालिकाले यही विषयक अन्तर्क्रिया गरेको थियो। स्रोतका अनुसार पार्टीको संगठन भताभुंग भइरहेका बेला पार्टीभित्रका केही नेताहरूले पहिचान र थरुहट आन्दोलन विषयक अन्तर्क्रिया सञ्चालन गरिरहेको छ। कार्यक्रमको उद्देश्य पार्टीभित्रको विवादले नेता-कार्यकर्तामा देखिएको मनस्थिति पहिचान गर्ने रहेको स्रोतको दाबी छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *