भगवती चौधरीका छोरामाथि ‘गुन्डा समूह’को आक्रमण

पूर्वमन्त्री भगवती चौधरीका छोरामाथि विराटनगरमा आक्रमण भएको घटना बाहिर आएको छ। गुन्डागर्दीमा संलग्न समूहले सुनसरीको दुहबी नगरपालिका-२ घर भएका २८ वर्षीय द्रव्यराज चौधरी र २७ वर्षीय बालकृष्ण चौधरीमाथि विराटनगर महानगरपालिका-१० मा आक्रमण गरेको हो। ‘प्लाई’ खरिद गरेको हिसाबकिताब मिलाउन विराटनगर आएका बेला उनीहरूमाथि भदौ १ गते दिउँसोको आक्रमण भएको प्रहरीले जनाएको छ।

द्रव्यराज पूर्वमन्त्री एवं फरवार्ड लघुवित्त वित्तीय संस्थाकी संस्थापक भगवती चौधरीका छोरा हुन्। नेकपा (एमाले)की सांसद भगवती यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिइन्। आक्रमणमा संलग्न द्रव्यराजको सिक्री लुटेर फरार भएका छन्।

द्रव्यराज र बालकृष्ण साथी हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूलाई विराटनगर-११ का ४७ वर्षीय कान्ता कामत, उनका छोरा २८ वर्षीय पंकज कामत, ३२ वर्षीय रोनाल कँडेल, २७ वर्षीय कालु भनिने रिकेश श्रेष्ठ र २१ वर्षीय प्रशान्त पौडेलले आक्रमण गरेको खुलेको छ। आक्रमणमा संलग्न रोनाललगायतका युवा आपराधिक पृष्ठभूमिका व्यक्तिहरू हुन्।

गुण्डागर्दीको राज चलाउन खोज्ने रोनालको समूहले पछिल्लो समय विराटनगरमा आतंक मच्चाइरहेको छ। सत्तारूढ नेपाली कांग्रेसका नेताको संरक्षणमा सर्वसाधारणलाई धम्क्याउने, थर्काउने र आक्रमण गर्ने गरिरहेको हो। कुनै पनि घटनामा संलग्न भएर प्रहरीले कारबाही अघि बढाउन खोज्दा कांग्रेस नेताहरू बाधक बनिदिने गरेको स्रोतको भनाइ छ।

राजनीतिक छत्रछायामा आपराधिक धन्दा चलाइरहेको यो समूहमाथि दबाबकै कारण प्रभावकारी ढंगबाट कारबाही भइरहेको छैन। पूर्वमन्त्रीका छोरा र उनका साथीमाथि भएको आक्रमणमा पनि कारबाही नगर्न कांग्रेसका नेताले दबाब दिइरहेको स्रोतले बतायो। विशुद्ध आपराधिक यो घटनालाई सत्तारूढ कांग्रेस र एमालेले राजनीतिकरण गर्न खोजिरहेको पाइएको छ।

एमालेले घटनामा संलग्नलाई कारबाही हुनुपर्ने माग गरिरहँदा कांग्रेसले कारबाही नगर्न प्रहरीलाई दबाब दिइरहेको हो। एउटा आपराधिक घटनालाई राजनीतिक रंग भरेर तथ्य मोड्दै आक्रमणमा संलग्न गुन्डा समूहलाई उन्मुक्ति दिने खेल भइरहेको छ। सत्तारूढ दलको दोहोरो दबाबका कारण प्रहरी भने अन्योलमा परेको छ।

राजनीतिक संरक्षणकै कारण गुण्डागर्दीमा संलग्नको मनोबल बढेको छ। गुन्डा समूहले विभिन्न आपराधिक घटना गराइरहँदा पनि राजनीतिक दबाबमा सामसुम पार्ने गरिएको छ। जसका कारण दिनदहाडै व्यक्तिमाथि आक्रमण गर्ने र कानुन हातमा लिने समूह सक्रिय हुन थालेको छ। रोनालको समूहले फड्का र सट्टेबाजीको धन्दा पनि चलाइरहेको सूचना प्रहरीलाई छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *