काठमाडौंमा मनाइयो अस्टिम्की पर्व (फोटो फिचर)

काठमाडौंबासी थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। अग्रासन थारू महिला समूहले विभिन्न थारू संघसंस्थाको सहकार्यमा आयोजना गरेको अस्टिम्की पर्व सोमबार मनाइएको हो। बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा महिलाहरू थारू पहिरनमा सजिएर यो पर्व मनाएका हुन्।

अस्टिम्की पर्वमा बरघर्‍या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर चित्रको पूजा अर्चना गरिन्छ। यो पर्व कपिलवस्तु, रुपन्देहीदेखि पश्चिम दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतम धुमधामाका साथ मनाइन्छ।

सप्तमीको रातमा भाले नबास्दै राति माछा, अन्य तरकारी पकाइ दर खाने चलन हुन्छ। जसलाई थारू भाषामा ‘डट्कन खैना’ पनि भनिन्छ। त्यसपछि अष्टमीको दिनभरि ब्रतालुहरु निराहार ब्रत बस्छन्। बिहानैदेखि अष्टिम्कीको चित्र बनाउने कार्यमा लागेका हुन्छन्। चित्र बनकानेहरू पनि निराहार हुन्छन्। चित्र बनाउने ठाउँमा ब्रत नबसेको मानिस जान वर्जित हुन्छ।

के हो अस्टिम्की ?

थारूहरूको विभिन्न चाडपर्वमध्येको एक पर्व हो, अस्टिम्की। यो भगवान श्रीकृष्ण जन्माष्टमीका दिन मनाइन्छ। यो विशेषतः थारू समुदायका महिलाहरूको महत्वपूर्ण धार्मिक पर्व हो। यो गीतमय व्रतपर्व हो। अष्टिम्की पूर्वदेखि पश्चिमका समग्र थारू जातिले मनाउने गरेका छन्। तर, स्थान अनुसार मनाउने तरिका भने फरक–फरक छ। पश्चिमी (डंगौरा) थारूहरूले यसलाई निकै महत्वका साथ मनाउने गरेका छन्।

अष्टिम्कीको विशेष आकर्षण भनेको ‘अष्टिम्की’ (भित्तेचित्र) हो। यसमा प्रकृति, इतिहास, मिथक तथा दर्शन, सृष्टिकथाजस्ता विषय गहिरो रूपमा पाइन्छ। अष्टिम्की थारू लोककला (ललितकला) को विशिष्ट उदाहारण पनि हो। जुन प्राचीनकालदेखि चल्दै आएको एक मात्र हस्तकला हो। यसलाई थारू भाषामा ‘रचैनाकला’ पनि भनिन्छ।

अष्टिम्की पूजाका लागि घरको बहरी÷बह्री (बैठक कोठा) को उत्तरतिरको भित्ता वा डेंह्री/कुठ्ली (अन्न राख्नका लागि बनाइएको माटोको भकारी)लाई ‘ढौरा’ भन्ने एक विशेष प्रकारको माटोले पोतेर क्यानभास बनाइन्छ। र, त्यसमै अष्टिम्की कोरिन्छ। तत्कालीन समयमा अष्टिम्की चित्र गाउँको मुखिया/महटावाँ/बरघरको घरमा बनाइन्थ्यो भने अहिले यो चलन विस्तारै कम हुँदै गएको छ।

भाद्र अष्टिम्कीको दिन थारू समुदायका पुरुष तथा महिला (विशेषगरी महिला) दिनभरी निर्जला व्रत बस्ने र बेलुका महिलाहरू सामूहिक रूपमा अष्टिम्कीमा टिक्ने (प्रत्येक चित्रमा टीका लगाउने। रावणको चित्रबाहेक) प्रचलन छ। टिक्ने काम सकेपछि कृष्ण (कान्हा) लाई मनपर्ने अमिलो, अम्बा, काँक्रा, दही आदि फलाहार गर्ने र रातभरि अष्टिम्की गीत गाइन्छ। त्यसपछि बिहान दियो बालेर फेरि टिक्छन् र आफूले पूजा गरेका सामानसहित नजिकैको खोलामा सेलाउने गरिन्छ।

अष्टिम्कीमा ब्रह्मान्ड सृष्टिदेखि स्थलमण्डल, बोटबिरुवा, वनस्पति, साना जीव हुँदै मानिसको सृष्टि सम्बन्धी दर्शन अंकित भएको हुन्छ। यसमा कृष्णकथाको सार वा कृष्ण चरित्रबारेका कलाले विशेष ठाउँ पाएको छ। यसमा मूलत: थारू जातिका देवता पाँच पाण्डवलगायतका चित्र अंकित गरिएको हुन्छ। ती चित्र अष्टिम्कीको दिनमा थारू चित्रकार (व्रतालु) ले बनाउँछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *