भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत् किन्ने

नेपालले द्विपक्षीय सम्झौताअनुसार भारतका विहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप एक सय २५ दशमलव ८९ मेगावाट र विहारलाई एक सय २५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो।

दश जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् विहारलाई र दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप एक सय २५ दशमलव ८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीलाई बिक्री गरिनेछ। प्राधिकरणले हरियाणा राज्यलाई हाल एक सय नौ मेगावाट विद्युत् बिक्री गरिरहेको छ।

नेपालमा खपत गरी अतिरिक्त भएको बर्खायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विहार र हरियाणालाई बिक्री गरिनेछ। योसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीलाई बिक्री गरिने विद्युत्को परिमाण तीन सय ६० मेगावाट पुगेको छ।

आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५ दशमलव ४५ भारु) रहेको छ। गत वर्ष हरियाणलाई बिक्रीका लागि स्वीकृति दिइएको एक सय नौ मेगावाटको प्रतियुनिट दर आठ रुपैयाँ ४० पैसा (५ दशमलव २५ भारु) छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क भने प्राधिकरणले व्यहोर्नुपर्ने छैन।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको बर्खायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केट, डे-अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ। भारतबाट स्वीकृति पाएसँगै अब विहारलाई पनि विद्युत् बिक्री सुरु हुनेछ। प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *