प्रज्ञा प्रतिष्ठानमा गुञ्जियो थारू कविता, ठुम्रार साहित्यिक बखेरीले मनायो १००औं साहित्यिक शृंखला
ठुम्रार साहित्यिक बखेरीले आफ्नो १००औं साहित्यिक शृंखला नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको छ। शनिबार प्रज्ञा प्रतिष्ठानको देवकोटा हलमा विभिन्न कार्यक्रम गरेर बखेरीले १००औं शृंखला मनाएको हो। कार्यक्रममा भूमिका थारूले थारू कवितामा महिला हस्ताक्षर विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन्। कवितामा थारू महिलाको लेखन अवस्था र दस्ताबेजीकरणको विषय कार्यपत्रमा समेटिएको छ।
त्यस्तै कार्यक्रममा प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित भएका बुद्धसेन चौधरी र मानबहादुर चधरीलाई सम्मान गरिएको थियो। त्यस्तै बखेरीलाई १००औं अंकसम्म ल्याउन सहयोग पुर्याउने चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरी, आशा आर्टसका सञ्चालक बलराम चौधरी, बरघर रेस्टुरेन्टका सञ्चालक सीताराम चौधरी, काठमाडौं बर्दियाली थारू समाज र न्युजर्स थारू समाजलाई सम्मान गरिएको थियो।
१००औं शृंखलामा दर्जन बढी कविले कविता वाचनसमेत गरेका थिए। प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा डा. कृष्णराज सर्वहारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमलाई शत्रुघन चौधरीले सहजीकरण गरेका थिए।
Facebook Comment