सरस्वती चौधरीको महत्त्वपूर्ण योगदानमा नेपालको ऐतिहासिक जित
काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ। शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा नेपालले भारतविरुद्ध ३-२ को रोमाञ्चक जित हासिल गरेको हो।
खेलमा पहिलो सेट २५-१८ ले जितेको नेपालले दोस्रो सेट १२-२५ ले भारतलाई सुम्पन पुग्यो। त्यस्तै तेस्रो सेट २५-१७ ले जितेको नेपालले चौथो सेट १८-२५ ले पराजित भयो। पाँचौं तथा निर्णायक सेटमा भने नेपालले भारतलाई १५-१३ ले पराजित गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भएको हो। नेपाली महिला भलिबलको इतिहासमा भारतमाथि नेपालको यो पहिलो जित हो।
काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी छन्। राउन्ड रोविन लिगपछि अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच साउन २२ गते मंगलबार सेमिफाइनल हुनेछ। फाइनल र तेस्रो स्थानको खेल साउन २३ गते बुधबार हुने नेपाल भलिबल संघले जनाएको छ।
Facebook Comment