धनिराम चौधरी नेतृत्वको केन्द्रीय कार्यसमिति विघटनको माग गर्दै जिल्ला प्रशासनमा निवेदन दर्ता

थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभा (थाकस)को वर्तमान केन्द्रीय कार्यसमिति विघटनको माग गर्दै काठमाडौं जिल्ला प्रशासनमा निवेदन दर्ता भएको छ। केन्द्रीय सदस्यसमेत रहेका उदयपुर निवासी जयराम पंजियार र सुनसरी दुहबीका वर्षा चौधरीले साउन १४ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

थाकसको २२औं महाधिवेशनबाट निर्वाचन धनिराम चौधरी नेतृत्वको कार्यसमिति विधान विधान विपरीत सञ्चालन भइरहेको निवेदकहरूको आरोप छ। थासको २२औं महाधिवेशन विसं २०७५ असोज ७, ८ र ९ गते काठमाडौंमा सम्पन्न भएको थियो। सोही महाधिवेशनबाट थाकसको विधान चौथोपटक संसोधन भएको थियो। संशोधित विधान विसं २०७६ भदौ २९ गते काठमाडौं प्रशासनले स्वीकृति प्रदान गरेको थियो। सो विधानअनुसार केन्द्रीय कार्यसमितिको कार्यकाल ३ वर्षको रहेको छ। तर, ६ वर्ष पुग्न लाग्दासमेत थाकसको महाधिवेशन नगरेको र अध्यक्षसहितका पदाधिकारीहरूले विधान विपरीत संस्था चलाएको उनीहरूको आरोप छ।

‘अध्यक्ष धनिराम चौधरीले कुनै प्रकारको जवाफदेहिता निर्वाह नगरी संस्थालाई अनिर्णयको बन्दी बनाई संस्था दर्ता ऐन २०३४ तथा संस्थाको विधान विपरीत आजीवन अध्यक्षको हैसियतमा रवाफ देखाउँदै आउनु भएको अवस्था छ। यस संस्थाको विधानका प्रयुक्त दफाका आधारलाई मान्दा निज धनीराम चौधरीको कार्य समितिको पदावधि समाप्त भएको करिब ३ वर्ष पुग्न लागेको छ,’ निवेदनमा भनिएको छ।

सामाजिकरूपमा स्थापित भई थारू जातिको हकहित, उत्थान एवं विकासमा सक्रिय भूमिका खेल्ने अभिप्रायद्वारा संस्थापित र सञ्चालित थारू कल्याणकारिणी सभामा केही निहित स्वार्थ भएका व्यक्ति र समूहले जिल्ला अधिवेशनहरू पनि गर्न नदिएको उनीहरूको आरोप छ।

‘विभिन्न बहानामा संस्थालाई अनिर्णयको बन्दी बनाएको अवस्थालाई मध्यनजर गरी यस संस्थाको हालः विधान विपरीत क्रियाशील रहेको केन्द्रीय कार्य समितिलाई तत्काल विघटन गर्नुपर्ने भएकाले तहाँ जिल्ला प्रशासन कार्यालयबाट उक्त मिति २०७५ साल असोजमा गठित केन्द्रीय कार्य समितिलाई विघटन गरी संस्था दर्ता ऐन, २०३४ को दफा ११ बमोजिम आवश्यक निर्देशनसहित जिल्ला प्रशासन कार्यालयको प्रत्यक्ष निगरानीमा रहने गरी महाधिवेशन आयोजक समिति निर्माण गरी सो आयोजक समितिलाई निश्चित अवधि तोकी सो अवधिभित्र जिल्ला अधिवेशनहरू गरेर उक्त जिल्ला अधिवेशनबाट केन्द्रीय प्रतिनिधिहरुको चयन गरी गराई यथासक्य छिटो केन्द्रिय कार्य समितिको महाधिवेशन गरी नयाँ कार्य समिति चयन गरी पाउँन सादर निवेदन गर्दछौं,’ निवेदनमा भनिएको छ।

थाकस केन्द्रीय कार्यसमितिले भने असोजको ५, ६ र ७ गते संस्थाको २३औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। गत फागुन १९ गते बसेको सञ्चालन समितिको बैठकले अध्यक्षको गृहजिल्ला रुपन्देहीमा थाकसको महाधिवेशन गर्ने निर्ण गरेको थियो। कोरोनाकालले गर्दा संस्थाले समयमै महाधिवेशन गर्न नसकेको पदाधिकारीहरूले बताउँदै आएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *