नसिव चौधरीको मृत्युले धनगढीमा तनाव, डाक्टरले लापरबाही गरेको आफन्तको आरोप

कञ्चनपुरको बेलौरीका १७ वर्षीय युवक नसिव चौधरी मृत्यु प्रकरणले उग्र रुप लिएको छ। मृतकका आफन्तहरुले चिकित्सकलाई कारबाही र क्षतीपूर्ति माग गरेका छन्। आक्रोसित पीडितका आफन्तहरुले धनगढीको नोभा अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले ६ राउण्ड अश्रु ग्यास हानेको छ।

कैलालीका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले अस्पतालमा ढुंगामुढा गरिरकेका बेला प्रहरीले छेकेपछि प्रहरीमाथि नै ढुंगामुढा गरेकाले बाध्य भएर अश्रुग्यास हानेको बताए। ‘भीड तितरबितर गर्नका लागि प्रहरीले ६ राउण्ड अश्रुग्यास हानेको छ। ३/४ जना प्रहरीलाई ढुंगा लागेर सामान्य घाइते भएका छन्,’ एसपी विष्टले भने।

जन्डिसको बिरामी भएर साउन ८ गते धनगढीको नोभा अस्पतालमा भर्ना भएका बेलौरीका नसिब चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो। मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापरबाही गरेकाले उनीमाथि कारबाहीको माग गरेका छन्।

नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए। उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए। तर, उनको भनाई अनुसार अस्पतालले न त उचित उपचार गर्‍यो, न त रिफर नै गर्‍यो। यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन्।

पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता भइरहेका बेला बाहिर जम्मा भएका आफन्तहरुले अस्पतालमा ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको हो। हिजो मात्रै पीडितका आफन्तहरुले नोभा अस्पतालको रिसेप्सनमा समेत तोडफोड गरेका थिए।

शुक्रबार अपरान्हदेखि नोभा अस्पतालमा प्रहरीको पहरा छ। आज बिहानैदेखि पीडितका आफन्तहरु अस्पतालमा आउन थालेका छन्। नसिभ चौधरी साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए। उनलाई जण्डिस भएको पुष्टि भएपछि उनी साउन ८ गते अस्पताल भर्ना भएका थिए।

उनको जन्डिस बढ्दै जान थालेपछि अवस्था चिन्ताजनक बन्दै गएको थियो। उनको अवस्था गम्भीर बनेपछि शुक्रबार अस्पतालले रेफर गरेका थियो। रेफर गरेपछि एम्बुलेन्समा राख्नेक्रममा नसिबको मृत्यु भएको हो। उनका बुबा कामका लागि विदेश रहेको आफन्तहरुले बताएका छन्।

शिवराज भट्ट/अन्नपूर्णपोस्ट्




Leave a Reply

Your email address will not be published. Required fields are marked *