युएईमा विश्व आदिवासी दिवस मनाइँदै, थारू झाँकी प्रस्तुत गरिने

युएईमा विश्व आदिवासी दिवस मनाउने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएई र महासंघमा आबद्ध ११ मातृसंस्थाहरूको संयुक्त आयोजनामा आदिवासी दिवस मनाउन लागिएको हो। आयोकका अनुसार आगामी ११ अगष्टमा दुबईको क्लब एभरेष्टको सभा हलमा विशेष कार्यक्रमका बीच कार्यक्रम मनाइनेछ।

कार्यक्रममा आदिवासी जनजातिहरूको मौलिक संस्कृति झल्किने भेषभुषासहितको झाँकी प्रस्तुत गरिनेछ। त्यस्तै मौलिक संस्कृति झल्किने सामग्रीसहितको स्टलसमेत रहने आयोजकले जनाएको छ।

कार्यक्रममा आफ्नो समाजलाई विषेश योगदान पुर्‍याउने हरेक मातृ संस्थाबाट सिफारिस गरिएका एक महिला र एक पुरुषलाई सम्मान गरिनेछ। कार्यक्रममा मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगितासमेत आयोजना हुनेछ। यसअघि रोशन लिम्बु र ओसिन ब्लोन तामाङ, पदम खालिङ र अन्जली लोप्चन, केशवराज महतो र सिमा वान्तवा राई, दिनेश लिम्बु र निशा तामाङले उक्त प्रतियोगिता जितिसकेका छन्।

नेपाल आदिवासी जनजाति महासंघ युएईमा हालसम्म तमु समाज युएई, नेपाल मगर संघ शाखा युएई, तामाङ समाज युएई, किरात राई यायोख्या शाखा युएई, किरात याक्थुङ्ग चुम्लुङ्ग युएई, थारु कल्याणकारीणि सभा युएई, नेवा पुचः युएई, शेर्पा किदुक युएई, प्रवासी भुजेल समाज सेवा समिती युएई, सुनुवार सेवा समाज शाखा युएई र माझी समाज युएई गरि ११ वटा मातृ संस्थाहरू आबद्ध छन्।

२३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसंघको साधारणसभाले ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएअनुसार हरेक साल ९ अगष्टका दिन विश्वभरिका आदिवासी जनजातिहरू यो दिवस मनाउँदै आएका छन्। तर, वैदेशिक रोजगारमा रहेका नेपालीहरूले भने सार्वजनिक विदाको दिन पारेर उक्त कार्यक्रम मनाउँदै आएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *