राजकुमारलाई दलको नेता बनाउने रेशम चौधरीको प्रयास विफल

नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलको नेता फेर्ने प्रयास असफल भएको छ। नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै पेस भएको निवेदनलाई प्रदेशसभाले मान्यता नदिएपछि दलको नेता फेर्ने निर्णय असफल भएको हो।

प्रदेशसभाले बिहीबार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै रहको उल्लेख छ दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेको उल्लेख छ।

संसदीय दलका नेता धर्मबहादुर चौधरीले यसअघि राजकुमार चौधरी दलको नेता भएको प्रचार गतल भएको बताए। उनले आफू नै संसदीय दलको नेता भएको प्रदेशसभाबाट प्रमाणित भएको समेत खुलाए।

यसअघि साउन ७ गतेसंसदीय दलका नेता धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दलको नेता चयन गरिएको थियो। नरमाया ढकाललाई प्रमुख सचेतक र निर्मला देवी थारूलाई सचेतकमा चयन गरिएको थियो।

बैठकले राजकुमार चौधरीलाई लुम्बिनी प्रदेशको मन्त्रीमा पठाउने निर्णयसमेत गरेको थियो। उक्त निर्णयप्रति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आपत्ति जनाएकी थिइन्। ‘नरमायाजी इन्डिया हुनुहुन्छ। निर्मलाजी र राजकुमारजी काठमाडौं हुनुहुन्छ। अनि दलको बैठक आजको मितिमा कहाँ र कहिले बस्यो? इन्डिया भएको माननीयज्युको हस्ताक्षर कहिले हुने हो? पार्टीमा यो खेल किन र के को लागि होला?,’ उनले प्रश्न गरेकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *