विमान दुर्घटनामा १८ को मृत्यु, सरकारले बनायो जाँचबुझ आयोग

सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराएको छ।

प्राधिकरणका अनुसार अमितमान महर्जन, सागर आचार्य (सेफ्टी प्रमुख), अश्विन निरौला (सिएएमओ म्यानेजर), दिलीप वर्मा (क्यूए प्रमुख), यज्ञप्रसाद पौडेल, शुसान्त कटुवाल (को–पाइलट), सुदीपलाल जोशी, सर्वेस मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, मनुराज शर्मा, सन्तोष महतो, पुण्यरत्न शाही, एरिफ रेडा (विदेशी नागरिक)ले ज्यान गएका छन्। क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका छन्।

यसैबीच सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव छन्।

आयोगलाई वायुयानको सत्यतथ्य जाँचबुझगरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ। सञ्चारमन्त्री गुरुङकानुसार आगामी दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायुसेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले सोको सघन अनुगमन गर्ने निर्णय गरेको छ । यस शोकको घडीमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *