नागरिक उन्मुक्तिको युट्युब र फेसबुक व्यक्तिको कब्जामा

नागरिक उन्मुक्ति पार्टीको सामाजिक सञ्जालहरू व्यक्तिको कब्जामा रहेको पाइएको छ। पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला पार्टीको आधिकारिक भनिएको युट्युब, फेसबुक पेज/ग्रुप व्यक्तिको कब्जामा रहेको पाइएको हो।

पार्टीको युट्युब च्यानलमा पछिल्लो एक हप्तादेखि पार्टीबाहेकका गतिविधिहरू अपलोड भइरहेका छन्। युट्युबमा नेताका भाषण, संसदकका भिडियो, न्युरोडमा चर्किएको बालेनविरुद्धको विवाद, दुर्गा प्रसाईँलगायतका भिडियोहरू अपलोड गरिएका छन्। त्यतिमात्र होइन, विभिन्न भाइरल मिमहरू पनि सर्टमा अपलोड गरिएका छन्।

केही समयअघि नागरिक उन्मुक्ति पार्टीले विभिन्न व्यक्तिले पार्टीको नाम जोडेर पेज र ग्रुप बनाएको भन्दै विरोध जनाएको थियो। उसले विज्ञप्ति नै जारी गरेर त्यस्ता पेज र ग्रुपलाई पार्टीको प्रविधि विभागमा दर्ता गर्न निर्देश जारी गरेको थियो। तर पार्टीभित्र विवाद चर्किएपछि नागरिक उन्मुक्तिको सामाजिक सञ्जाल पनि सेलाएको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच द्वन्द्व चर्किरहेका बेला भने सामाजिक सञ्जाल नै ब्यक्तिले कब्जा गरेका छन्। यस विषयमा अध्यक्षलगायत पदाधिकारीलाई कुनै मतलब नभएको पार्टीका एक केन्द्रीय सदस्यले बताए।

ती केन्द्रीय सदस्यका अनुसार पार्टीको आइटी हेर्ने व्यक्तिले नै ती भिडियोहरू अपलोड गरिरहेका छन्। पार्टीको सामाजिक सञ्जालमा अनाधिकृत गतिविधि हुँदासमेत नेताहरूले कुनै मतलब नगरेको ती नेताको भनाइ छ। ‘नेताहरूलाई पद नै प्यारो। अझ सत्तामा जान पाए झन कति राम्रो। पार्टी बनाउने कुरामा कसैको मतलब छैन। यस्तो बेला युट्युब र फेसबुक पेजमा के भइरहेको छ कसलाई के मतलब?,’ थारुवानसँग ती नेताले प्रश्न गरे। उनले पार्टीको आइटी जिम्मा पाएका व्यक्तिले नै अनाधिकृत गतिविधि गरेको बताए पनि नाम भने खुलाउन चाहेनन्। नागरिक उन्मुक्ति पार्टीको आधिकारिक वेवसाइट पनि अहिले बन्द छ। पार्टीभित्र विवाद सुरू भएपछि वेवसाइट बन्द गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *