रेशमविरुद्ध खनिइन् रञ्जिता, भनिन्- न छोरा पढाउनु परेको छ, न श्रीमती पाल्न

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र श्रीमान रेशम चौधरीबीचको विवाद पुरानो भइसक्यो। पार्टीभित्र भइरहेका विभिन्न गतिविधिहरूले पनि उनीहरूबीच तितक्ता पैदा हुने गरेको छ। लुम्बिनी प्रदेशमा दलको नेता फेरिएपछि अध्यक्ष रञ्जिता रेशम चौधरीमाथि थप आक्रोशित बनेकी छन्। उनले छोरा पढाउन नपरेको र श्रीमतीसमेत पाल्न नपरेको उल्लेख गरेकी छन्।

त्यतिमात्र होइन, सरुवा अनि नियुक्तिबाट पैसा असुलेको आरोपसमेत लगाएकी छन्। ‘न छोरा पढाउनुपरेको छ न श्रीमती पाल्न परेको मान्यवरलाई। सरुवा अनि नियुक्तिबाट आएको पैसा जति कसरी सिध्याउने? आफ्नो खल्ती भरिन्जेल माननीयहरूको लेबी पनि खाने, आउन छाडेपछि लेबी नतिर्ने निर्णय गर्दै हिँड्ने? अरु पनि लेखौं कि अहिलेलाई यति नै मान्यवर,’ उनले श्रीमान लक्षित स्टाटस लेखेकी छन्।

उनले लुम्बिनी प्रदेशमा दलको नेता फेरेको भन्दै आपत्ति समेत जनाएकी छन्। ‘नरमायाजी इन्डिया हुनुहुन्छ। निर्मलाजी र राजकुमारजी काठमाडौं हुनुहुन्छ। अनि दलको बैठक आजको मितिमा कहाँ र कहिले बस्यो? इन्डिया भएको माननीयज्युको हस्ताक्षर कहिले हुने हो? पार्टीमा यो खेल किन र के को लागि होला?,’ उनले प्रश्न गरेकी छन्।

सोमबार बसेको संसदीय दलको बैठकले दलका नेता धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दलको नेता बनाउने निर्णय गरेको थियो। बैठकले प्रमुख सचेतक र सचेतक पनि फेरबदल गरेको छ। बैठकले नरमाया ढकाललाई प्रमुख सचेतक र निर्मला देवी थारूलाई सचेतकमा चयन गरिएको छ। त्यस्तै बैठकले राजकुमार चौधरीलाई लुम्बिनी प्रदेशको मन्त्रीमा पठाउने निर्णयसमेत गरेको छ। निर्णयमा राजकुमार र निर्मलादेवीले हस्ताक्षर गरेकी छन् भने धर्म र नरमायाको हस्ताक्षर छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *