खेलकुदमन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत, ओलम्पिकमा सहभागी हुन फ्रान्स जाँदै

खेलकुदमन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री चौधरीको फ्रान्स भ्रमण स्वीकृत गरेको हो। मन्त्री चौधरी पेरिस ओलम्पिकमा सहभागी हुन फ्रान्स जाँदैछन्।

फ्रान्सको राजधानी पेरिसमा हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा नेपालको तर्फबाट ६ खेलका ७ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। शुक्रबारदेखि सुरू हुने प्रतिस्पर्धाका लागस नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठका अनुसार नेपाली खेलाडी र अफिसियल सोमबार पेरिस जाँदैछन्।

पेरिस ओलम्पिकमा एथ्लेटिक्सबाट सन्तोषी श्रेष्ठ, जुडोबाट मनिता श्रेष्ठ प्रधान, सुटिङबाट सुस्मिता नेपाल, टेबलटेनिसबाट सान्टु श्रेष्ठ, ब्याटमिण्टनबाट प्रिन्स दाहाल, पौडीबाट एलेक्जेण्डर (एलेक्स) शाह र डुवाना लामाले सहभागिता जनाउँदैछन्।

एथ्लेटिक्सकी सन्तोषी, जुडोकी मनिता, सुटिङकी सुस्मिता र ब्याटमिण्टनका प्रिन्स काठमाडौंबाट सोमबार पेरिसतर्फ लाग्नेछन्। टेबलटेनिसका सान्टु , पौडीका एलेक्स र डुवाना विदेशमा प्रशिक्षणमै ब्यस्त भएकाले उनीहरू त्यतैबाट पेरिसमा पुग्ने कार्यकारी सचिव श्रेष्ठले जानकारी दिए।

यसअघि शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले गरेको विदाइ कार्यक्रममा सन्तोषी, मनिता,सुस्मिता र प्रिन्स मात्र सहभागी थिए। एलेक्जेण्डर अमेरिकामा , सान्टु अष्ट्रेलियामा र डुवाना थाइल्याण्डमा रहेका छन्। पेरिस ओलम्पिकमा ७ खेलाडीसहित ३७ जना नेपाली टोली जाने तयारी भइरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *