सिमलताल दुर्घटना : चालक किशोर चौधरीको शव फेला

चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ। उनीहरूको शव घट्ना स्थलभन्दा एक सय तीन किलोमिटर तल गण्डक ब्यारेज पुलमा सोमबार फेला परेको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरुका परिवारले गरेका हुन्।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका वडा नम्बर ६का ३५ वर्षीय किशोर कुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंह रहेका थिए। बेपत्ता भएका यात्रुमध्ये नौ वटा शवको पहिचान भएको छ। अझै ४५ यात्रुको अवस्था अज्ञान रहेको चितवनका साहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुषालले जानकारी दिए। पाँच दिनपहिले त्रिशूली नदीमा खसेका दुई वटा बसको अझै अत्तोपत्तो छैन।

अहिलेसम्म १७ वटा शव फेला परेका छन्। आठ वटा शवको पहिचान हुन बाँकी रहेको साहायक प्रजिअ भुषालले जानकारी दिए। मंगलबार मात्रै गैडाकोट नगरपालिका १० र मध्यविन्दु नगरपालिकाको नारायणी नदी किनारमा तीन वटा शव फेला परेका छन्। उनीहरूको शव भरतपुर अस्पताल ल्याउने तयारी भएको उनले जानकारी दिए। पहिचान भएकाहरुको शव उनीहरूका आफन्तले घर लगिसकेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *