गुरही पर्वबारे मिथ्या सूचना : हाम्रो पात्रोले सच्यायो, जोशीपुर गाउँपालिकाले सच्याएन

गरही/गुरिय पर्वले सोमबार र मंगलबार सामाजिक सञ्जाल तात्यो। मिति अगावै गुरही/गुरिया पर्वको सूचना पात्रोदेखि स्थानीय सरकारले विदा दिनेसम्म काम गरेपछि सामाजिक सञ्जालमा विरोध भएको हो।

सोमबार जोशीपुर गाउँपालिकाले विज्ञप्ति जारी गर्दै साउन १ गते गुरिया पर्व रहेकाले पालिकाभरि सार्वजनिक विदा दिने निर्णय गर्‍यो। सोही निर्णय सामाजिक सञ्चालका भित्तामा टाँसिएर विरोध प्रदर्शन हुन थाले। विरोध गर्नेमा थारू सँस्कृतिविददेखि सर्वसाधारणसम्म रहेका छन्। कतिपयले त नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई फेसबुकमा ट्याग गरेर विरोधसमेत जनाए। उनीहरूको विरोध गर्नुको मुख्य कारण जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी सोही पार्टीको हुनु हो।

सोमबार अबेर रातसम्म विरोध भएको भोलिपल्टै हाम्रो पात्रोको पनि विरोध सुरू भयो। करोड बढी डाउनलोड भएको र प्रायः प्रत्येक स्मार्टफोनमा राखिएको हाम्रो पात्रोले गुरही/गुरिया पर्वबारे गलत सन्देश दिएको थियो। हाम्रो पात्रोले एकाविहानै नोटिफिकेशनमार्फत् जानकारी दियो- आज कर्कट सङक्रान्ति/लुतो फाल्ने दिन/थारु गुरिया पर्व/दक्षिणायन आरम्भ। अरु जानकारी सही भए पनि थारू पर्वबारे दिइएको तथ्य गलत थियो। साउन १ गते गुरही/गुरिया पर्व मनाइँदैन वा यसपटक अरु गते नै यो पर्व परेको छ।

हाम्रो पात्रोको नोटिफिकेशन आएपछि थारू भाषाविद् सत्रुघन चौधरीले फेसबुकमार्फत विरोध जनाए। हाम्रो पात्रोको गल्तीप्रति उनले घोर आपत्ति पनि जनाए।

उनले फेसबुकमा लेखेका छन्, ‘थारू समुदायले मनाउने साँस्कृतिक पर्व गुरिया/गुरही पर्व साउन १ गतेका दिन हो भनेर हाम्रो पात्रो एप्पसले आफुखुसी राख्यो या कसैको सल्लाहमा ? यसखालको गलत र मनगढन्ते सुचना प्रति घोर आपत्ति छ । गलत सुचना तत्काल पात्रोबाट हटाइयोस। स्मरण रहोस् गुरही पर्व साउन २५ गते पर्दछ।’

‘चम्पन साँस्कृति समूहका अध्यक्ष नन्दुराज चौधरीले पनि हाम्रो पात्रोको विरोध गरे। ‘थारू सामुदायले परापूर्वकालदेखि मनाउँदै आइरहेको चाड गुरही/गुरिया पर्व २०८१ साउन १ गते लेखेकोमा विभिन्न थारू संघ सस्थाहरूको घोर निन्दा आपत्ति जाहेर गर्दै हाम्रो पात्रोबाट हटाइ सच्याउनको लागि सम्बन्धित सबैमा अनुरोध गर्दछौं,’ उनले भनेका छन्।

त्यस्तै डा. कृष्ण सर्वाहरीले लेखेका छन्, ‘हाम्रो पात्रो तु अपन गल्ती सच्याए। हाम्रो पात्रो लिखल कहटिमे ओहियै आधार मानके सावन १ गते गुरही कहिके छुट्टी डेना जोशीपुर गाउँपालिका, कैलाली फेन अपन गल्ती सच्याए।’ उनले हाम्रो पात्रो र जोशीपुर गाउँपालिकालाई तुरुन्त गल्ती सच्याउन आग्रह गरेका छन्।

के भन्छन् हाम्रो पात्रो र जोशीपुर गाउँपालिका?
जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादु चौधरीले पात्रोलाई पत्याउँदा गल्ती भएको स्वीकार गरे। गाउँपालिकाको बैठकमा वडाध्यक्षहरूको सल्लाहमै विदा दिने निर्णय भएको उनले थारुवानलाई बताए। ‘पात्रोमा गुरही/गुरिया पर्व लेखिएको थियो। पात्रलाई पत्याउँदा गल्ती हुन पुग्यो। विज्ञप्ति सच्याउन भनिसकेका छौं। सायद सच्चिन्छ,’ उनले भने। यो समाचार तयार पार्दासम्म जोशीपुर गाउँपालिकाको फेसबुक र वेवसाइट दुवैबाट विज्ञप्ति हटाइएको छैन, न सच्याइएको नै छ।

यता हाम्रो पात्रोको प्राविधिक टिमले पनि गल्ती स्वीकार गरेको छ। कुनै समुदायप्रति भ्रम फैलाउने आफूहरूको चाहना नभएको हाम्रो पात्रोले थारुवानसँग भनेको छ। ‘पात्रोअनुसार चल्दा त्रुटि हुन पुग्यो। कुनै समुदायप्रति भ्रम फैलाउने हाम्रो चाहना होइन। गल्तीलाई सच्याएका छौं,’ हाम्रो पात्रोले भनेको छ। हाम्रो पात्रोले पात्रोबाट उक्त सूचना हटाए पनि फेसबुकमा विहान सेयर गरेको पोस्ट भने हटाएको छैन।

सच्याएपछि यस्तो देखियो हाम्रो पात्रो।

पहिले पनि पात्रोहरूले गरेको थियो गल्ती
पात्रोहरूले गुरही/गुरिया भ्रम फैलाएको पहिलोपटक भने होइन। यसअघि पनि साउन १ गते गुरही/गुरिया पर्व रहेको भ्रम पात्रोहरूले फैलाएको थियो। थारुवानले यसबारे विसं २९७३ असार ३० गते समाचार प्रकाशन गरेको थियो। सो वर्ष गुरही साउन २३ गते रहे पनि पात्रोहरूले साउन १ गते रहेको गलत प्रचार गरेको थियो। त्यतिबेला दत्तात्रेय प्रकाशनद्वारा प्रकाशित जयश्रीराम र दुर्गा साहित्य भण्डार वाराणसीद्वारा प्रकाशित दुर्गा सजिलो पात्रोमा फरक मितिमा प्रकाशन भएपछि थारू अगुवाहरूले विरोध गरेको थियो।

विसं २९७३ असार ३० गते प्रकाशित समाचार पढ्नुस् :

के हो गुरही/गुरिया
गुरहीबारे कैलालीका थारू अगुवा दिलबहादुर चौधरी लेख्छन्-
कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ। अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि । गुरिया (गुरही) पर्वको बारेमा पनि केहि रोचक प्रसङ्ग छ ।

यस पर्वबारेमा पनि हाम्रा तमाम बयोबृद्ध, सम्मानित अग्रजहरु भन्ने गर्छन् ‘गुरही (गुरिया) पर्व थारुहरुले मान्ने सब भन्दा जेठो अर्थात पहिले मनाउने पर्व हो ।’ म यो भनाईसँग चाहीं असहमति जनाउने गरेको छु । मैले भन्ने गरेको छु, ‘थारुहरुको नयाँ बर्ष माघ १ देखि लाग्छ, प्रायः फागुनमा होली (धुरेहरी), चैतमा चैते दशैं आउँछ, होली र चैते दशैंलाई थारुहरु मान्छन् भने गुरही (गुरीया) पर्व कसरी जेठो अथवा बर्षको पहिलो पर्व भयो ?’ यसको सही जवाफ मैले पाउन सकेको छैन । आफूलाई तर्कसंगत नलागेपनि पुर्खा पुरनियाहरु अहिले पनि गुरही (गुरीया) पर्वलाई जेठो भन्दै र मान्दै आएका छन् ।

गुरही भनेको दाङ्गको भाषामा झिङ्गौरा, नेपाली भाषामा गाइने किरा हो । यो पर्वमा कसैले गुरही–गुरहा, कसैले केटी–केटा वा दुलहा–दुलहीको प्रतिकको रुपमा कपडाको पुतला, खेलौना बनाउँछन् । हिन्दी भाषामा यस्ता पुतला, खेलौनालाई गुडिया भन्ने गरिन्छ । त्यही गुडिया शब्द थारु भाषाको उच्चारणमा गुरिया हुन पुगेको देखिन्छ । हुन त थारु भाषामा गुरिया भन्नाले मोती मालालाई जनाउने गर्दछ । तर यो पर्वमा कपडाको पुतला, खेलौना प्रयोगको कारणले गुडियाबाट नै गुरिया हुन पुगेको कुरा स्पष्ट हुन्छ । थारु बसोबास रहेको कतिपय जिल्ला, स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय जिल्ला, स्थानमा यसलाई गुरिया पर्व भन्ने गरिन्छ ।

पूरा पढ्नुस् :

कहिले हो गुरही/गुरिया पर्व
थारू अगवा दिलबहादुर चौधरीका अनुसार थारूहरूले गुरही पर्व नागपञ्चमीको दिन मनाउने गर्छन्। यस वर्ष साउन २५ गते नागपञ्चमी परेको छ। थारूहरूले सोही दिन गुरही पर्व मनाउने तयारी गरेको छ। थारू आयोगको पात्रोले भने गुरही पर्व साउन २५ गते रहेको उल्लेख गरेको छ। पश्चिम थारू गाउँहरूमा मनाइने यो पर्व अहिले काठमाडौंलगायत सहरहरूमा पनि मनाउने गरिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *