पूर्व राष्ट्रिय खेलाडी तेजुलाल चौधरीको यस्तो छ संघर्षपूर्ण जीवन

तेजुलाल अर्थात् टीएल चौधरी मूल रुपमा विद्यालय सञ्चालकको रुपमा शिक्षाप्रेमीको रूपमा चिनिन्छन्। ललितपुर कुपण्डोलस्थित नाइटिंगेल स्कूल, नाइटिंगेल कलेज नाम चलेको शिक्षालयमा गनिन्छ, जसको संस्थापक प्रिन्सिपल हुन् उनी। नाइटिंगेल स्कूल लामो समयदेखि एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने सूचीमा गनिन्छ।

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए टीएल। २०७४ सालमा शेरबहादुर देउवा नेतृत्व सरकारमा युवा तथा खेलकुद राज्यमन्त्री भए। मन्त्री भएर चुनाव लड्ने धेरै हारे तर उनलाई मन्त्री पद फाप्यो। संविधान जारी भएपछिको सरकार गठन र देश संघीय संरचनामा गएपछिको पहिलोपटक भएको प्रतिनिधि सभाको निर्वाचनमा उनी गृह जिल्ला सप्तरीको क्षेत्र नम्बर ४ बाट पुनः निर्वाचित भएका छन्। त्यतिमात्र होइन, उनले २०७९ मंसिरमा भएको चुनावमा सोही क्षेत्रमा विजयी भएर ह्याट्रिक गरे। जसका कारण उनी अहिले फुल मन्त्री बनेका छन्।

२०१९ साल असोज १९ मा सप्तरी जिल्लाको खड्ग नगरपालिका ८ मा जन्मिएका थिए उनी। किशोर अवस्थादेखि नै राजनीति र समाजसेवामा चासो राख्ने उनी पढाईमा पनि अब्बल थिए। पढाइसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि निकै रुचि राख्थे तेजुलाल। सामान्य परिवारमा जन्मिएका उनी २०५० सालमा शिक्षा संकायमा स्नातक तथा २०५२ सालमा वाणिज्य शास्त्रमा स्नातकोत्तर गरे।

विद्यार्थी जीवनमै राजनीतिप्रति चासो राख्ने उनी २०३७ सालदेखि पार्टीमा आबद्ध भए। उनले सानोठिमी क्याम्पसबाट नेविसंघमा रहेर राजनीतिक यात्राको सुरुवात गरेका थिए। २०५२ सालबाट कांग्रेसको क्रियाशील सदस्य रहेका उनी २०६७ सालदेखि कांग्रेसको महासमिति सदस्य छन्।

तेजुलाल देश परिवर्तनका लागि विभिन्न कालखण्डमा भएकाआन्दोलनमा समेत प्रत्यक्ष सहभागी जनाए। निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्धमा भएको २०४६ सालको जनआन्दोलन होस् या राजतन्त्रको अन्त्य र लोकतन्त्रको पुनर्वहालीका लागि भएको २०६२/६३ जनआन्दोलनमा उनी प्रत्यक्ष सहभागी भएका थिए।

उनी एक सफल शिक्षक, समाजसेवी र व्यवसायी पनि हुन्। अहिले राजनीतिमा लागेर देश परिवर्तनको अभियानमा जुटेका छन्। तेजुलालले पढाईकै दौरान २०४९ सालमा नाइटिङ्गेल माविको स्थापना गरेका थिए। त्यसपछि यसलाई विस्तारै विस्तार गर्ने क्रममा २०५७ सालमा नाइटिङ्गेल कलेज र २०६७ सालमा नाइटिङ्गेल नर्सिङ कलेजको स्थापना गरे। अहिले हजारौं विद्यार्थीहरू ती पाठशालाबाट भविष्यको बाटो कोर्दै छन्।

उनले २०६७ सालमा तेज एजुकेशनल फाउण्डेशन र २०६८ सालमा सतौन स्मृति ट्रष्टको स्थापना गरेर समाज सेवामा समेत टेवा पुर्‍याउँदै आएका छन्। ट्रष्टले थारु पत्रकार संघको लागि २०७३ सालमा ११ हजार १ सय ११ रुपैयाँको उत्कृष्ट थारु पत्रकारिता पुरस्कार पनि स्थापना गरेको छ। उनी नेपाल शिक्षक संघको जिल्ला सदस्य हुँदै प्याब्सनको केन्द्रीय सदस्य र ललितपुर जिल्लाको प्याब्सनको उपाध्यक्ष समेत बने।

उनीसँग २०४९ देखि २०७० सालसम्म नाइटिङ्गेल स्कुलको प्राचार्यका रूपमा काम गरेको दुई दशक बढीको अनुभव छ। त्यस्तै थारु कल्याणकारिणी सभाको केन्द्रीय सदस्य, विश्व निकेतन उच्च माविको व्यवस्थापन समिति सदस्य, शैक्षिक सहकारी संस्थाको संस्थापक सञ्चालक सदस्य, हिसान केन्द्रीय कार्यसमिति सदस्य, अल नेपाल स्पोर्टस एसोशिएसन नेपालको केन्द्रीय सदस्य, जिल्ला एथ्लेटिक्स संघ ललितपुरको सदस्यसमेत भइसकेका छन्। तेजुलाल थारु महिला समाज, थारु विद्यार्थी समाज र थारु कल्याणकारिणी सभाको सल्लाहकार पनि हुन्।

तेजुलाल चौधरी बहुप्रतीभा भएका व्यक्ति पनि हुन्। उनले २०३५ सालमा भलिबलको राष्ट्रिय खेलाडीको रुपमा समेत नाम लेखाएका छन्। उनी जिल्ला स्तरीय फुटबल तथा एथलेटिक्स खेलाडी समेत हुन्। उनले भलिबल र एथलेटिक्समा वीरेन्द्र शिल्ड, नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पदक, राष्ट्रिय नागरिक सेवा पदक, राखेपबाट राष्ट्रिय खेल पदक, शिक्षा सेवा पदक २०७०, सर्वोत्कृष्ट प्रिन्सिपल पदक, राष्ट्रिय शिक्षा सेवा सम्मान २०७० बाट सम्मानित भएका छन्।

थारु समुदायको हक हित र अधिकारका लागी हुने हरेक गतिविधिमा उनी सरिक भएर अगाडि उभिने गर्छन्, तेजुलाल। थरुहट/थारुवान संघर्ष समितिको सक्रिय सदस्यको रूपमा उनले आन्दोलनको नेतृत्वसमेत गरे। थारु समुदायले आफ्नो हक अधिकारको लागि आन्दोलन गरिरहँदा पार्टीबाटै निस्कासनसम्मको चेतावनी आए पनि थरुहट प्राप्ती र थारु समुदायको हक अधिकार सुनिश्चित गर्न उनको पाइला कहिल्यै डग्मगाएन। आफ्नो समुदायका लागि उनी सधैं सजग र सचेत रहन्छन्।
प्रस्तुति : किशोर चौधरी
नोट : प्रथमपटक फूलरियामा प्रकाशित आलेखलाई समयानुकुल सम्पादन गरिएको छ।




One thought on “पूर्व राष्ट्रिय खेलाडी तेजुलाल चौधरीको यस्तो छ संघर्षपूर्ण जीवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *