टीएफएद्वारा छात्रवृत्ति पाउने विद्यार्थीलाई आधा पैसा हस्तान्तरण

अमेरिकास्थित थारूहरूको छाता संगठन थारूज् एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई पहिलो किस्ता प्रदान गरेको छ। टीएफएले सन् २०२३-२०२४ का लागि छानिएका २० जना विद्यार्थीलाई पहिलो किस्तामार्फत छात्रवृत्तिको आधा रकम बैंकमार्फत प्रदान गरेको हो।

टीएफएले कूल ५ लाख ४८ हजार रूपैयाँको छात्रवृत्ति तीन श्रेणीअन्तर्गत प्रदान गर्ने निर्णय गरेको थियो। जसमा स्नातक पढ्ने ८ जनालाई जनही ३० हजार, प्लस टु पढ्ने ९ जनालाई जनही २० हजार र ३ जनालाई ३६ हजार रुपैयाँको ‘नेम्ड छात्रवृत्ति’ प्रदान गर्ने निर्णय गरेको थियो। सोहीअनुसार विद्यार्थीहरूले उनको रकमको आधा बैंक खातामार्फत जम्मा गरिएको टीएफएका अध्यक्ष सुरेन्द्र चौधरीले बताए। उनका अनुसार थारू कल्याणकारिणी सभाको सहकारीमार्फत छात्रवृत्ति रकम विद्यार्थीहरूले उपलब्ध गराएको खातामा जम्मा गरिएको छ।

बाँकी आधा रकम दोस्रो किस्तामार्फत प्रदान गरिने टीएफएले जनाएको छ। दोस्रो किस्ता दिनुअघि टीएफएले छात्रवृत्ति पाएका विद्यार्थीहरूको प्रगति विवरण संकलन गर्ने भएको छ। टीएफएले प्रदान गरेको पैसाले उनीहरूको जीवनमा कस्तो परिवर्तन आयो वा उनीहरूले उक्त रकम के/कसरी खर्च गरेको विषयमा विवरण संकलन गरिने टीएफएका सचिव ज्ञानेन्द्र चौधरीले बताए। विवरण संकलनपछि विद्यार्थीहरूसँग टीएफएका पदाधिकारीहरूले जुममार्फत छलफलसमेत गर्नेछ। त्यसलगत्तै दोस्रो किस्ता प्रदान गर्ने सचिव चौधरीको भनाइ छ।

टीएफएले कमैया/कमलरी, अपांगता र अभिभावक गुमाएका विद्यार्थीहरूलाई प्राथमिकता राखेर हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ। यसपटक अपांगता र अनाथ रहेका विद्यार्थीहरूको आवेदन नपरेको अध्यक्ष सुरेन्द्र चौधरीले बताए। कमैया/कमलरीलाई भने छात्रवृत्तिमा समेटिएको उनले बताए।

छात्रवृत्ति पाउने स्नातक तहका विद्यार्थीहरूमा कैलालीका निरज चौधरी, सप्तरीका राहुल चौधरी, रुपन्देहीका अपिल चौधरी, नवलपरासीका कृष्णप्रसाद चौधरी, महोत्तरीका आदित्यराज चौधरी, बाँकेका सन्ध्या चौधरी, रुपन्देहीकी श्रेया चौधरी र रुपन्देहीकै गोपाल थारु छन्। उनीहरू एग्रिकल्चर, इन्जिनियरिङ, मेडिकल र विज्ञान विद्याका विद्यार्थीहरू रहेको टीएफएले जनाएको छ।

त्यस्तै छात्रवृत्ति पाउने प्लस टुका विद्यार्थीहरूमा पर्साकी दिलकुमारी थारू, नवलपरासीका दीपेश महतो, रौतहटकी प्रिती चौधरी, सुनसरीका साहिल चौधरी, दाङकी हिमाली चौधरी, रुपन्देहीकी सुश्मा चौधरी, बाराकी नेहा चौधरी, रौतहटकी प्रतिभा चौधरी, सुनसरीकी जेनिशा चौधरी र बाँकेका प्रयान चौधरी छन्।

त्यस्तै नेम्ड छात्रवृत्ति पाउनेहरूमा स्नातक तहमा अध्ययनरत दाङका अशोक चौधरी र कैलालीकी हेमा चौधरी र प्लस टु लेभलमा मेडिकल पढिरहेकी बाँकेकी दिलकुमारी थारू रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *