‘हेर्न नमिल्ने’मा परेपछि रेशम चौधरी र नाउपाको महाधिवेशनबारे परेको मुद्दा सरेको सर्‍यै

नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद समेटिएको दुई वटा मुद्दा फैसलाका लागि सुनुवाइ हुने भनि सर्वोच्च अदालतको इजलासबाट आदेश भइसकेको छ । तर पछिल्ला दुई पेसीहरू लगातार हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेपछि स्थगित हुन पुगेको छ ।

अघिल्लो पटक जेठ २७ गते न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको थियो । शुक्रवार उक्त मुद्दा न्यायाधीशद्वय नहकुल सुवेदी र वालकृष्ण ढकालको इजलासमा पेसी तोकियो । रेशम चौधरी जोडिएको एक विवादमा पहिले नै फैसला सुनाएका कारण न्यायाधीश सुवेदीले हेर्न नमिल्ने भएपछि दुई पटक नै यो मुद्दा स्थगित भएको हो ।

२०८१ वैशाख २८ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र वालकृष्ण ढकालको इजलासले लिखित जवाफ लगायत मुद्दाको सबै अङ्ग पुगेको भन्दै पूर्ण सुनुवाइका निम्ति पठाउने आदेश गरेको थियो । तर गोलाद्वारा पेसी तोकिने सर्वोच्चको व्यवस्थाअनुसार दुवै पटक गोला तान्दा हेर्दा नमिल्ने न्यायाधीशकोमा संयोगले पेसी परेसँगै स्थगित भएको हो ।

अव करिब एक महिनापछि नयाँ पेसी तोकिने छ । अध्यक्ष निर्वाचित भएको तर निर्वाचन आयोगले वैधानिकता नदिएको भन्दै रेशम चौधरी र रामेश्वर चौधरीसहित ६४ जनाले दायर गरेका छुट्टाछुट्टै दुई थान रिट सर्वोच्चमा विचाराधीन रहेको हो।

चौधरीले चैत २३ गते निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा लिखित जवाफ मगाउने आदेश यसअघि नै भएको छ। यसैगरी रामेश्वर चौधरीसहितले पनि आफूहरू चौधरीसँगै निर्वाचित भएकाले त्यसको वैधानिकताबारे प्रश्न उठाएर रिट दायर गरेका थिए । अध्यक्षको हकमा जे निर्णय भए पनि आफूहरू महाधिवेशनबाटै निर्वाचित भएकाले कार्यसमितिले चाहिँ वैधानिकता पाउनुपर्ने उनको धारणा थियो । चौधरीको हकमा भने उनी ज्यान मार्ने उद्योगमा दोषी ठहर भएकाले अयोग्य हुने भनी निर्वाचन आयोगले महाधिवेशनलाई नै वैधानिकता दिन अस्वीकार गरेको थियो




Leave a Reply

Your email address will not be published. Required fields are marked *