कांग्रेस सांसद तेजुलाल चौधरीले किन सोधे टीकापुर घटनाविरोधी प्रश्न?

टीकापुर घटनाले एकपटक पुनः चर्चा पाएको छ। संसदमै सवाल जवाफ भएपछि टीकापुर घटना एकपटक फेरि बहसको विषय बनेको छ। नेपाली कांग्रेसका थारू सांसद तेजुलाल चौधरीले प्रश्न तेर्साएपछि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएका हुन्।

सांसद चौधरीले भनेका छन्, ‘थारू आन्दोलन मूलतः अधिकारमुखी, पहिचानमुखी र राजनीतिक आन्दोलन हो भन्नेमा दुई मत हुन सक्दैन। टीकापुर घटनामा अहिलेसम्म पनि थारूहरू फरार रहेका र मुद्दा खेपिरहेका छन्, किन? फरार व्यक्तिहरूलाई कहिलेसम्म उन्मुक्ति दिनुहुन्छ?’ थारू आन्दोलनका अगुवासमेत रहेका उनको प्रश्नले दुइटा अर्थ लाग्छ। एउटा, टीकापुर घटना राजीनितिक हो। टीकापुर घटनामा मुछिएका थारूहरू अहिले पनि फरार छन्, मुद्दा खेपिरहेका छन्। किन? उनको प्रश्नले फरार थारूहरूले पनि न्याय पाउनुपर्छ भन्ने अर्थ दिन्छ। तर, त्यसलगत्तै उनले आफ्नै प्रश्नलाई काउन्टर गरेका छन्। तेजुलाल थप्छन्- ‘फरार व्यक्तिहरूलाई कहिलेसम्म उन्मुक्ति दिनुहुन्छ? सम्माननीय प्रधानमन्त्रीज्यु जवाफ चाहियो।’ उनको प्रश्नले फरार रहेका थारूहरूले उन्मुक्ति पाएको अर्थ राख्छ। त्यसैले उनीहरूलाई कारबाही गर्नुपर्छ भन्ने उनको प्रश्नले भन्छ।

प्रश्न नै उन्मुक्ति दिने विषयमा आएपछि देशको कार्यकारीले कानुनी दायरामा ल्याउने जवाफ दिनु नौलो भएन। प्रधानमन्त्री दाहालले सांसद चौधरीको जवाफमा भनेका छन्, ‘टीकापुर घटना दुःखद् हो। जसमा जनधनको अपूरणीय क्षति हुन पुग्यो। घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिको हकमा कानुनबमोजिम नै हुनेछ।’ यही घटनामा जन्मकैद सजाय सुनाइएका रेशम चौधरीलगायत थारूहरू आममाफी पाएर रिहाइ भएका छन्। प्रधानमन्त्री दाहालले कैद माफी मिनाहाको विषय पनि कानुनबमोजिम नै भएको प्रष्ट पारेका छन्।

भिडियो हेर्नुस्:

हेर्नुस् सबाल जवाफ
प्रश्न- थारू आन्दोलन मूलतः अधिकारमुखी, पहिचानमुखी र राजनीतिक आन्दोलन हो भन्नेमा दुई मत हुन सक्दैन । तसर्थ यसै सन्दर्भमा टिकापुर घटनामा अहिलेसम्म पनि थारूहरू फरार रहेका र मुद्दा खेपिरहेका छन्, किन? फरार व्यक्तिहरूलार्इ कहिलेसम्म उन्मुक्ति दिनुहुन्छ? सम्माननीय प्रधानमन्त्रीज्यू जवाफ चाहियो ।

जवाफ- थारुलगायत आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर छ। सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेट मार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको विषयमा सम्मानित सदन र माननीय सांसदज्यूहरु अवगत नै हुनुहुन्छ।

टिकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो। घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरुको हकमा कानुन बमोजिम नै हुने कुरा माननीयज्यूहरुलाई अवगत नै छ। जहाँसम्म कैद माफि मिनाहाको विषय छ त्यस घटनामा कानुन बमोजिको प्रकृया पूरा गरेका केहीले सो सुविधा पाइसक्नु भएको छ भने बाँकीले कानुन बमोजिम तोकिएको प्रक्रिया अनुरुप निरुपण हुने नै छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *