सुमदरानी थारूको परिवारलाई कसले देला न्याय ?
रुपा गहतराज/कान्तिपुरबाट साभार
बाँकेस्थित कोहलपुर नगरपालिका–६ रझेनाकी ४० वर्षीया ललिता थारु बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायको खोजीमा दौडिन थालेको एक वर्ष बितिसक्यो । यसबीचमा उनी प्रहरी प्रशासनदेखि न्यायकर्मीको दैलो, आरोपित व्यक्तिको सूचना बटुल्ने खोजीनीतिको यात्रादेखि राजधानीसम्म पुगिसकेकी छन् । यिनै ललिता छोरीको न्याय खोज्न जेठ २४ मा काठमाडौंको माइतीघर मण्डलामा धर्नारत छन् ।
बलात्कारपछि हत्या गरिएकी सुमदरानीका लागि न्याय माग्दै आमा ललिता थारू(दायाँ) माइतीघरमा धर्नाका क्रममा, साथमा अभियन्ता रुबी खान(बायाँ) ।
उनी त्यसै काठमाडौं हान्निएकी होइनन् । जेठ २३ मा काठमाडौं जानुअघि एक सातासम्म बाँके जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिए पनि आफ्नो आवाज सुनुवाइ नभएपछि न्याय खोज्न काठमाडौं पुगेको उनले बताइन् ।
घटना गत वर्ष वैशाख २८ को हो । त्यतिबेला ललिताकी छोरी २२ वर्षकी सुमदरानी थारु नेपालगन्जको श्रद्धानगरस्थित डेरामा मृत भेटिएकी थिइन् । घटनाको भोलिपल्टै पीडित परिवारले बर्दिया राजापुर नगरपालिका-८ कोइली गाउँका २६ वर्षीय शैलेन्द्र थारुविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिए ।
सुमदरानी दुई वर्षदेखि नेपालगन्जमा डेरा लिएर बस्दै आएकी थिइन् । पछिल्लो एक वर्षयता भने उनका भाइ निरेन पनि सँगै बस्दै आएका थिए । विपन्न परिवारका ललिता दम्पतीले आफू नपढे पनि छोराछोरीलाई शिक्षित–दीक्षित बनाउने सपना देखेका थिए । सफ्टवेयर इन्जिनियरिङको १८ महिने पढाइ सकेर सुमदरानी कम्युटर सिक्दै थिइन् भने भाइ निरेन कक्षा १२ को परीक्षा दिएर घर गएका थिए । ललिताका अनुसार आरोपित शैलेन्द्र निरेनका साथी थिए । ‘छोरीलाई मन पराउने रहेछ, छोरीले मन नपराएको रहेछ, त्यही भएर घटना गराइदियो,’ उनकी आमाले भनिन् । निरेन घर गएको बेला डेरामा सुमदरानी एक्लै भएको मौका छोपेर हत्या गरेको उनको दाबी छ ।
दैनिक रूपमा घरमा कुरा गरिरहने सुमदरानीले गत वर्षको वैशाख २८ मा फोन नगरेपछि परिवारले उनको खोजी थालेका थिए । परिवारले फोन, ह्वाट्सएप, फेसबुक, मेसेन्जरमा सम्पर्क गर्दा पनि खैखबर नभएपछि भोलिपल्ट बिहानै सुमदरानीका भाइ र परिवार डेरामा आइपुगे । डेराको ढोकामा ताल्चा झुन्डिएको थियो । धन्न एउटा चाबी भाइले बोक्ने गर्थे । त्यसैले उनले त्यही चाबीले ढोका खोले । कोठाभित्र सुमदरानी मृत अवस्थामा फेला परिन् ।
प्रहरीको घटनास्थल मुचुल्का अनुसार मृतकको घाँटीको भाग, बायाँ औंलालगायतको भाग काटिएको थियो । प्रहरीले घटनास्थलमा एक थान चक्कु फेला पारेको थियो । प्रहरीले मुचुल्का उठाउने क्रममा पीडित परिवारले शैलेन्द्रले सुमदरानीसित प्रेम सम्बन्ध रहेको र विवाह गर्ने प्रस्ताव राखेको बताएका थिए । प्रहरीका अनुसार शैलेन्द्र घटना हुनु अघिल्लो दिन सुमदरानीको घर पुगी भेरी अस्पतालको फार्मेसीमा जागिर लगाइदिने भन्दै उनको नागरिकता मागेर नेपालगन्ज फर्केका थिए ।
प्रहरीले अनुसन्धानपछि जिल्ला अदालत बाँकेले ०८० जेठ १ गते शैलेन्द्रलाई पक्राउ अनुमति दियो । तर घटनाको एक वर्ष बितिसक्दा पनि प्रहरीले शैलेन्द्रलाई पक्राउ गर्न सकेको छैन । ‘हतियारले काटेर मेरो दिदीलाई मारेको थियो, तर हाम्रो कुरा कतै सुनुवाइ हुँदैन । हाम्रो आवाज दबाइएको छ,’ मृतकका भाइ निरेन थारुले भने, ‘मेरो दिदीको इज्जत लुटिएर मारियो तर अपराधीलाई पक्राउ गर्न प्रहरीले तदारुकता देखाउँदैन् । जिल्लामा सोधपुछका लागि जाँदा उल्टै प्रहरीले गाली गरेर फर्काउँछन् ।’
दिदीको मृत्युपछि शोकसँगै आफूहरू मानसिक रूपमा दबाबमा रहेको भाइ निरेनले बताए । गाउँघरमा पनि पीडित परिवारलाई नै अपराधीलाई जस्तो व्यवहार हुने गरेको उनले बताए । ‘मेरो दिदीको चरित्रमाथि प्रश्न गर्छन् । बुवाआमालाई अपमानित गर्छन्,’ उनले भने, ‘प्रहरीले एउटा अपराधीलाई एक वर्षदेखि खोज्दै छौं मात्रै भन्दै आश्वासन दिन्छ ।’ ललिताले पनि आश्वासन मात्रै पाएको बताइन् ।
Facebook Comment