भारतीय व्यवसायीसँग प्रधानमन्त्रीको भेट, पर्यटन, ऊर्जा, कृषि क्षेत्रमा लगानी गर्न  आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लगानीकर्ताका लागि उपयुक्त देश नेपाल भएको बताएका छन्। उनले नेपालको पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा लगानी गर्न आग्रहसमेत गरे।

प्रधानमन्त्री बसेको होटल ताजमा आज भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री दाहाल र फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (फिक्की)का पदाधिकारीबीच छलफल भएको हो।

भेटमा प्रधानमन्त्री दाहालले काठमाडौंमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताएका थिए।

‘लगानी सम्मेलनका क्रममा हामीले विभिन्न कानुनहरू अध्यादेशबाट संशोधन गरेका छौं। त्यसले लगानीका क्षेत्रमा संरचनागत एवं संस्थागत सुधार भएको छ,’ उनले भने, ‘लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको छ। ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु।’ उपभोक्ता दृष्टिकोणले पनि नेपाल लगानीका लागि उपयुक्त थलो भएको उनको भनाइ छ।

भारत सरकारसँग दश वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने सुझाव दिँदै प्रधानमन्त्री दाहालले ठूला जलविद्युत आयोजना लगानीका लागि तयारी अवस्थामा रहेको बताए। भेटमा फिक्कीका अध्यक्ष डा. अनिस शाहले नेपालको ऊर्जा, पर्यटन र सौर्य ऊर्जामा आफू र आफ्ना सदस्यहरू इच्छुक रहेको बताएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *