डिग्री गरेका शनिचर पाबे, जसले गुरौको मन्त्रलाई अन्धविश्वास मानेनन्, सिकेर व्यवहारमा लागू गरे

कारी महतो/चितवन

चितवनका थारू समुदायमा शिक्षाको लहर आएपछि अर्धशिक्षित जमातले परम्परागत ज्ञान तथा सीपलाई अन्धविश्वासको रूपमा लिन थाले। अधिकांश शिक्षित समूहले थारू गुरौको विधि र पद्धतिलाई हेयको भावले हेर्न थाले। जसले गर्दा यो लोपोन्मुख हुन थाल्यो। तर, अहिलेका युवापिढीले थारू गुरौको परम्परागत ज्ञानसीपलाई विज्ञानको रूपमा ग्रहण गर्न थालेका छन्।

पुर्खाले लामो समयसम्म अवलोकन, अध्ययन तथा परीक्षण गरी सिद्ध गरेका ज्ञानसीपलाई पुनःपरीक्षण गर्दैगर्दा निकै हदसम्म प्रमाणित भएको प्रत्यक्ष अनुभव बटुलेर केही व्यक्तिले आफूलाई यो पद्धतिको सिकाई र प्रयोगमा समर्पित गरेका छन्। यसरी समर्पित हुनेहरूमध्ये एक जना होनहार शिक्षित व्यक्ति हुन् शनिचर पाबे। धनौजीमा जेठ १० देखि १४ सम्म आयोजित थारू गुरौको विधि तथा जडीबुटीसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले आफूले सिकेका मोहनी मन्त्रको प्रयोग गरी दुईवटा बाँसका लट्ठीलाई जोडेर देखाउँदा सबै चकित परेका थिए।

भरतपुर महानगरपालिका वडा-१४ पकडी निवासी शनिचरा पाबेले आफूले स्कुल क्याम्पसमा पढ्नेबेलामा थारू गुरौको क्रियाकलापलाई अन्धविश्वासको रूपमा लिएका थिए। उनले २०४७ सालमा पटिहानीको अमर माध्यमिक विद्यालयमा एसएलसी पास गरेर विरेन्द्र बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गरे। अंग्रेजी मूलविषय लिई एमए पास गरी सप्तगण्डकी बहुमुखी क्याम्पसबाट बीएडसमेत पास गरे।

उनले विभिन्न बोर्डिङ स्कुलमा अध्यापन गराए। स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगको परीक्षा पास पनि गरे। तर, पहाडी भूभागको स्कुलमा परेपछि उनी स्थायी नियुक्ति पत्र नलिई आफैंले बोर्डिङ स्कुल खोली केही समय सञ्चालनसमेत गरे। अहिले उनी गीतानगरको अर्कै एक बोडिङ स्कुलमा अध्ययापनरत छन्।

शनिचर पाबेले पनि गुरौहरूको क्रियाकलापलाई अन्धविश्वासको रूपमा लिन्थे। एक दिन एक गुरौबाट एउटा मन्त्र सिकेर आफ्नै बारीको कटहरको रुखमा प्रयोग गरे। केही दिनमै रुख विस्तारै सुक्यो। अर्को मन्त्र प्रयोग गर्दा केही दिनपछि त्यो रुख पुनः हरियो हुँदै आएको देखे। यो देखेर गुरौ पद्धतिप्रति प्रभावित भई तन्त्रमन्त्र सिक्न थालेका उनी बताउँछन्।

यसरी गुरौको तन्त्रमन्त्रमा शक्ति छ कि छैन भनेर खोजी गर्दगर्दा यसमा अदृश्य शक्ति रहेको पाएपछि तन्त्रमन्त्र सिक्न थालेको उनको भनाइ छ। ५२ वर्षीय शनिचरा पाबे गुरौको मन्त्र सिक्न थालेको ८/९ वर्षमात्र भएको छ। तथापि यसबीचमा उनले थारू गुरौ, मधेसी गुरौ, भारतीय तान्त्रिक, पहाडी धामी झाँक्रीबाट धेरै मन्त्र सिकेको बताउँछन्। सुरुमा ढाल्ने, मार्ने तथा कसैलाई दुःख दिएर बदला लिनेजस्ता नकारात्मक अभिप्रायले सिकेका मन्त्रहरूको प्रयोग उनले अहिले सकारात्मक प्रयोजनमा लगाएका बताउँछन्।

मन्त्र सिक्ने क्रममा मोहनीमन्त्रको परीक्षणका लागि एक महिलामा एक महिनासम्म प्रयोग गर्दा झन्डै आफैं फसेको उनले अनुभव सुनाउँछन्। मन्त्र परीक्षणबाहेक अरु कुनै अनुचित फाइदा लिने उद्देश्य नभएकाले त्यस महिलाबाट बच्न घर छोडेर भाग्नुपरेको घटना उनी स्मरण गर्छन्। तर, केही समयपछि आफ्नो गुरुहरूको सहयोगबाट उक्त मोहनी फुकाउन सफल भएको बताउँछन्।

चेलाहरूलाई परम्परागत शैलीमा सिकाउने विधिका कारणले थारू गुरौको पद्धति लोप हुन लागेको देखेर उनले थारू मन्त्र तथा ज्ञानलाई आधुनिक तरिकाले सिक्ने, सिकाउने तथा प्रयोग गर्नुपर्ने बताउँछन्। धेरैजसोले थारू गुरौको मन्त्रप्रति विश्वास नगर्ने भएकाले उनीहरूलाई विश्वास दिलाउन उनले प्रशिक्षण कार्यक्रको उद्घाटन सत्रमै लट्ठी जोड्ने नमूना प्रस्तुत गरेको बताए।

थारू गुरौहरूले मन्त्र नसिकाउने भएकाले यो पद्धति लोप हुन थालेको जनगुनासो आएपछि उनले प्रशिक्षणको क्रममा केही मन्त्र अक्षरशः लेख्नै लगाएर सिकाए। उनको विचारमा मन्त्र सिक्नु ख्यालख्याल र लहडको कुरा होइन। त्यसका लागि तीब्र इच्छा र निरन्तर साधनामा पूर्णरूपमा समर्पित हुन जरुरी रहेको बताए। गुरौहरूले जोपाए त्यहीलाई नसिकाउनुको कारण पनि यही हो।

उनी आफूले मन्त्र सिक्ने अठोट लिएपछि निकै मिहिनेत गरेको र कतिपय मन्त्र सिक्न आफूले धेरै नगद खर्चसमेत गरेको बताउँछन्। केही गुरौहरूलाई नगदसमेत दिएर मन्त्र सिकेको बताउँछन्। आफूले सिकेको सबै मन्त्रहरु परीक्षण नगरेको बताउँछन्। गुरौहरूले तन्त्र, मन्त्र र यन्त्रको प्रयोग गर्ने गरेको अनुभव सुनाउँदै ‘मन्त्र धेरै हुन्छन् तर कुनै कुनै मन्त्र अल इन वन पनि हुन्छ’ उनी भन्छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *