कम्ब्याट ड्रेसमा बन्दुक बोकेका एक थारू राजनीतिज्ञको ‘डिग्री’ यात्रा

-ईश्वर लुइँटेल/शिलापत्रबाट
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा एउटा भिन्न अनुहार पनि देखियो । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर दीक्षित हुँदा दुर्गाबहादुर थारू अरुभन्दा धेरै प्रफुल्ल देखिन्थे । नहोऊन् पनि किन ? जसले गरिबीका कारण विद्यालय छाड्नुपर्‍यो । कलिलै उमेरमा सशस्त्र संघर्षमा होमिएर लडाकु बने । जब माओवादी विद्रोहको शान्तिपूर्ण अवतरण भयो, पुनः विद्यालयतर्फ सोझिएका उनका पाइलाले सफलता हासिल गरेको क्षण थियो त्यो ।

माओवादी विद्रोहको अन्त्यपछि थारूले २०६५ मा एसईई पूरा गरेका थिए । त्यसपछि पनि उनले पढाइलाई रोकेनन् । बरु राजनीतिसँगै अघि बढाए । २०७४ को स्थानीय तह निर्वाचनमा बर्दियाको बारबर्दिया नगरपालिकाको मेयर निर्वाचित थारूले राजनीतिशास्त्रमा पनि स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

सोमबार काठमाडौंको दशरथ रंगशालामा देशकै सबैभन्दा जेठो विश्वविद्यालयले एकैपटक धेरै विद्यार्थीलाई दीक्षित गर्दै थियो । प्रमुख अतिथि थिए, राष्ट्रपति रामचन्द्र पौडेल । अनि, कुलपतिको हैसियतमा उभिएका थिए, थारूका राजनीतिक कमाण्डरसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड । १२ हजार ४ सय १५ जना दीक्षित भएको त्यो समारोहमा थारूले छुट्टै सफलताको महसुस गरिरहेका थिए । ‘पढ्नु, दीक्षित हुनु एउटा सामान्य कुरा हो,’ उनी भन्छन्, ‘तर, मेरो कुरा बेग्लै थियो । मान्छेले चाहेपछि र गरेपछि हुँदोरहेछ भन्ने प्रेरणा मैले दीक्षित हुँदाको क्षणमा महसुस गरिरहेको थिएँ ।’

विद्यालय छाड्दा उनलाई पढाइको बाटो सधैँका लागि बन्द भएको लागेको थियो । लगत्तै सशस्त्र विद्रोहमा हिँड्दा त झन् बाँच्ने वा मर्ने टुंगो थिएन । ‘त्यसरी औपचारिक शिक्षाबाट टाढिएको मान्छे । शिक्षाको महत्त्व बुझेरै म पुनः पढ्न फर्किएँ । अहिले मेरो सपना साकार भएको छ,’ थारूले भने, ‘सपना देखेपछि पूरा हुँदो रहेछ भन्ने विश्वास भएको छ ।’

माओवादी ‘जनयुद्ध’ले उनलाई ‘कविर’ नामले चिनायो । कम्ब्याट ड्रेसमा बन्दुक बोकायो । लडाकु कमान्डरसम्म बनायो । बाल्यकालमा धेरै पढेर शिक्षित हुने र समाजलाई सकारात्मक दिशामा डोर्‍याउने सपना बोकेका उनले २०५१ सालमा १० कक्षा पढ्दापढ्दै गरिबीका कारण विद्यालय छाडे ।

परिवारको आर्थिक अवस्था निकै कमजोर भएका कारण काम गर्नुपर्ने भएकाले पढाइ छोड्न बाध्य भएको उनी बताउँछन् । यद्यपि, केही समयपछि फेरि पढ्न सुरु गरेका उनी भूमिगत माओवादी पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध भए । अखिल क्रान्तिकारीका क्रियाकलापमा लागेको भनेर उनी पक्राउ पनि परे । ३५ दिन हिरासतमा बिताएर अदालतले तारेखमा छाड्यो । फेरि अर्को मुद्दामा उनीविरुद्ध प्रशासनले पक्राउ पुर्जी जारी गर्‍यो । प्रहरीले खोज्न थालेपछि उनी भूमिगत भएर लडाकु बने ।

यसरी भूमिगत भएपछि विद्यालय गएर औपचारिक शिक्षा लिने अवसर गुम्यो । तैपनि उनी भेटेसम्मका पुस्तकहरू पढ्थे । २०५६ सालमा उनी फेरि गिरफ्तार भए । उनलाई बर्दिया कारागारमा राखियो । त्यहाँ रहँदा पनि पाएसम्मका पुस्तक पढेरै उनले अधिकांश समय बिताए । युद्धविराम हुँदा उनी छुटे । त्यसपछि पनि उनको पढ्ने रुचिमा कुनै कमी आएन ।

त्यसबेला पनि उनको झोलाभरि पुस्तक नै हुन्थे । थारूले करिब १४ वर्षपछि फेरि औपचारिक शिक्षालाई निरन्तरता दिने निर्णय गरे । विस्तृत शान्ति सम्झौतापश्चात् उनको लडाकुहरूको अस्थायी शिविर क्यान्टोनमेन्ट बसाइ सुरु भयो । पछि क्यान्टोनमेन्टबाट बाहिर निस्केर उनी माओवादीको युवा दस्ता वाईसीएलको केन्द्रीय सचिवालय सदस्य बने । केही महिनामै त्यहाँबाट निस्किएर माओवादीको बर्दिया जिल्ला सेक्रेटरी बने । त्यही जिम्मेवारीले उनलाई बारबर्दियाको मेयरसम्म बनायो ।

शिक्षामा निकै पछाडि रहेको बारबर्दियालाई पहिलोपटक निर्वाचित तिनै थारू नेतृत्वको स्थानीय सरकारले निकै माथि मात्र उठाएन, बारबर्दियाले शिक्षाक्षेत्रमा गरेको प्रगतिका कारण सिङ्गो देशकै ध्यान खिच्न सफल रहयो ।

थारू गत सोमबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित भएका छन् । दृढ इक्छाशक्ति भयो भने मान्छेलाई सफल हुनबाट कुनै पनि अप्ठ्यारोले रोक्न सक्दैन भन्ने उदाहरण पस्किन सफल थारू आफ्ना आगामी योजनाहरूबारे सुनाउँदै भन्छन्, ‘म एउटा राजनीतिकर्मी हुँ । यो राज्यव्यवस्था परिवर्तन गर्न मेरो पनि योगदान छ । अहिलेको राज्यव्यवस्थामा जनताको अवस्था बदल्नु छ । जनताको जीवनमा परिवर्तन ल्याउनु छ । देश समृद्धितर्फ अगाडि बढ्ने गरी काम गर्नु छ । यसमा म आफ्नोतर्फबाट कुनै कमी आउन नदिने गरी काम गर्नेछु ।’




One thought on “कम्ब्याट ड्रेसमा बन्दुक बोकेका एक थारू राजनीतिज्ञको ‘डिग्री’ यात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *