नागरिक उन्मुक्ति पार्टीले पुस २६, २७ र २८ गते महाधिवेशन गर्ने, यस्तो छ १५ बुँदे निर्णय
नागरिक उन्मुक्ति पार्टीले पुसमा महाधिवेशन गर्ने निर्णय गरेको छ। टीकापुरस्थित पार्टी कार्यालयमा बसेको दुई दिने केन्द्रीय कमिटीको बैठकले पुस २६, २७ र २८ गते टीकापुरमा महाधिवेशन गर्ने निर्णय गरेको हो।
महाधिवेशन सम्पन्न गर्न पार्टीका संरक्षक रेशम लाल चौधरीको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको छ। जसअन्तर्गत विभिन्न १५ वटा उपसमितिहरू बनाइएको छ।
संरक्षक चौधरीका अनुसार आर्थिक समितिमा गंगाराम चौधरी, प्रचारप्रसार समितिमा ठाकुरसिंह थारु, भन्छा व्यवस्थापन समितिमा रामेश्वर चौधरी, मञ्च व्यवस्थापन समितिमा घनश्याम चौधरी, सांस्कृतिक तथा झाँकी समितिमा लक्ष्मणकिशोर चौधरी, अतिथि सत्कार समितिमा धर्मबहादुर चौधरी, स्वयंसेवक समितिमा इन्दिरा गिरी, स्वास्थ्य सेवा समितिमा डा. सरोजसिंह चौधरी, आवास समितिमा रामलाल डंगौरा थारु र निर्वाचन समितिमा दामोदर पण्डितलाई जिम्मेवारी तोकेको छ।
त्यस्तै राजनीतिक प्रतिवेदन मस्यौदा समितिमा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, प्रतिनिधि व्यवस्थापन समितिमा हिमाञ्चलराज भट्टराई, जलपान समितिमा कैलाश चौधरी, अनुगमन समितिमा लालबीर चौधरीलगायत छन्।
महाधिवेशनमा प्रत्येक वडाबाट जातीय र भूगोलको आधारमा अनिवार्यरूपमा २ महिलासहित ६/६ जना प्रतिनिधि तोकिएको छ।
Facebook Comment