वर्षायाममा हेल्का र सखै हाल्नमा ब्यस्त हुन्छन् थारू महिला

झलनाथ खनाल/रासस

कैलालीको जोशीपुर गाउँपालिकाकी सुकरानी चौधरीको दिन आजभोलि कुला र वर्षात्को पानीले बनेका तलाउतिर बित्ने गरेको छ। बर्खाको खेती लगाइसकेपछि कामको चाप नहुने भएपछि फुर्सदको समयमा उनी माछा, झिङ्गेमाछा र घोँगी खोज्छिन्।

‘घरमा खासै काम हुँदैन। फुर्सदको समयमा थोरै भए पनि माछा मार्न सक्यो भने साँझको तरकारी हुन्छ, सुकाएर राख्यो भने हिउँदमा खान हुन्छ। बढी भयो भने बिक्री गरेर आम्दानी गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘यसरी काम गर्दा समयको सदुपयोग पनि हुने, आयआर्जन पनि हुने भएपछि घरमा सबै सदस्यको दिनचर्या यसैमा बित्ने गरेको छ।’

विशेषगरी कृषि गरेर जीवन निर्वाह गर्ने थारू समुदाय यतिबेला माछा तथा घोँगीको खोजीमा व्यस्त हुने गरेको छ। पुरुष जाल हालेर माछा मार्ने गर्छन् भने महिला हेल्का र सखै हालेर माछा मार्ने गर्छन्। बर्खाको पानी जमेको ठाउँमा जाल तथा हेल्का, सखै लिएर माछा तथा घोँगीको खोज्नमा उनीहरु बिहानैदेखि व्यस्त हुने गरेका छन्। बर्खा सकिएपछि पानी जमेको ठाउँको पानी सुकाएर पनि माछाको खोजीमा थारू समुदायका महिला लागेका हुन्छन्। त्यसमा केही बालबालिका अभिभावकको सिको गर्दै विद्यालय बन्द भएको समयमा खोला तथा पानी जमेको तलाउमा पुग्ने गरेका छन्।

आश्मा चौधरी भजनीको राष्ट्रिय माध्यामिक विद्यालय धुसीमा कक्षा ७ मा अध्ययन गर्छिन्। उनी विद्यालय बन्द भएको दिनमा दिनभर माछाको खोजीमा हेल्का लिएर खोला तथा तलाउ पुग्छिन्। आश्मामात्रै नभई उनीसँग कक्षाका साथी पनि त्यहाँ पुग्छन्। ‘साथीसँग रमाइलो पनि हुने, अलिकति माछा पनि हुने भएपछि विद्यालय बन्द भएको दिन खोला तथा तलाउमा पुग्छौं,’ आश्मा भन्छिन्, ‘महिनाभर लागेर एक-दुई किलो सुकाएको माछा भएपछि त्यसलाई बिक्री गर्छौं। नभए आफैँलाई खान पनि हुन्छ।’

सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनिता चौधरी माछाभन्दा पनि साथीसँग रमाइलो हुने भएपछि खोलासम्म पुग्ने गरेको बताउँछिन्। ‘कम्मरमा माछा राख्ने डिलिया, काँधमा हेल्का हालेर खोला तथा पानी जमेको तलाउसम्म जान रमाइलो लाग्छ। त्यो पनि आफ्नै उमेर समूहका साथीसँग,’ अनिता भन्छिन्, ‘घरका सबै सदस्य दिनभर माछाकै खोजीमा हुन्छन । त्यो बिक्री गरेर घर खर्चको जोहो गछौं।’

त्यस्तै सीतादेवी चौधरी घोँगी बिक्री गरेर आम्दानी गर्नेमध्येमा पर्छिन्। उनले एक दिनमा पाँच किलोसम्म घोँगी बिक्री गर्छिन्। ‘साउनदेखि मङ्सिरसम्म घोँगी बिक्री गरेर राम्रै आम्दानी हुन्छ । महिनामा रु २५ हजारदेखि रु ३० हजारसम्म कमाइ हुन्छ। फुर्सदको समयको सदुपयोग पनि हुने, अर्कातिर आम्दानी पनि हुन्छ,’ उनी भन्छिन्। उनले गाउँबाट घोँगी संकलन गरेर बजार लिएर बिक्री गर्ने काम पनि गर्छिन्। सीतादेवीले प्रतिकिलो एक सय ५० रुपैयाँमा खरिद गरेर दुई सयमा बिक्री गर्ने गरेको बताइन्।

त्यसैगरी भजनीका कर्णबहादुर चौधरी अचेल हुलाकी राजमार्गअन्तर्गत भजनीको डुबान क्षेत्रमै व्यस्त देखिन्छन्। उनी साँझको समयमा डुबान परेको क्षेत्रमा जाल हाल्न व्यस्त देखिन्छन् भने बिहान त्यो हालेको जाल निकाल्न। कर्णबहादुरजस्ता दर्जनौं डुबान भएको क्षेत्रमा माछाको खोजीमा लागेका हुन्छन्। ‘खेतीपाती लगाइसकेपछि अरु काम केही हुँदैन। दिनभर त्यसै बरालिनुभन्दा यतै व्यस्त हुन्छौं। बिक्री गर्न नभए पनि आफूलाई खानका लागि झिङ्गामाछा भैहाल्छ। बढी भएपछि बिक्री गरेर आम्दानी पनि हुन्छ। महिनामा माछा बेचेर रु १०-१५ हजार पनि आइहाल्छ। आफूलाई हिउँदसम्म खानका लागि तरकारीको जोहो पनि हुन्छ,’ उनले भने। माछा तथा घोँगी बजारीकरण गर्न समस्या छैन।

टीकापुर नगरपालिकामा होटल व्यवसाय गर्दै आउनुभएका जीतबहादुर चौधरीको होटलमा माछाका परिकार मात्रै पाइन्छन्। उनले स्थानीयले बिक्रीका लागि ल्याएका माछा तथा घोँगी खरिद गर्छन्। स्थानीयबाट खरिद गरेर त्यसलाई अन्य होटलमा पुर्‍याउने काम पनि उनले गर्दै आएका छन्। ‘यो सिजनमा झिङ्गामाछा र घोँगी धेरै पाइन्छ। दिनमा २० देखि २५ किलोसम्म आउने गरेको छ। दुई-तीन किलो बिक्री गर्न आउने धेरै हुन्छन्। माछा प्रतिकिलो रु चार सयदेखि रु पाँच सयमा खरिद गर्दै आएका छौं। घोँगी रु एक सय ५० देखि रु दुई सयमा खरिद गर्दै आएका छौं,’ उनले भने।

माछा बिक्री गर्न पुरुष बढी आए पनि घोँगी बिक्रीका लागि भने महिला बढी पुग्ने गरेका छन्। विशेषगरी तलाउमा माछाभन्दा घोँगी बढी पाइन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *