पूर्वको पहिचानवादी शक्ति र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण
नागरिक उन्मुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच पार्टी एकता भएको छ। बिराटनगरमा सोमबार पार्टी एकता घोषणा कार्यक्रमको आयोजना गरी दुई पार्टीबच एकता गरिएको हो।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष र महासचिवलगायतले अध्यक्ष कुमार लिङ्देनलाई कारबाही गरी नागरिक उन्मुक्तिसँग पार्टी एकता गरेका हुन्। अध्यक्ष लिङ्देनलाई अध्यक्षबाट हटाएर बरिष्ठ उपाध्यक्षसमेत रहेका ज्ञानबहादुर गुरुङलाई अध्यक्ष चयन गरिएको छ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अध्यक्ष ज्ञानबहादुर गुरुङले पार्टी एकतामा हस्ताक्षर गरेका छन्।
पार्टी एकता कार्यक्रममा राष्ट्रिय मञ्चका प्रान्तीय उपाध्यक्षहरू इन्दिरा मेन्याङ्वो, एबी तुम्वाङ र दिलकुमार लावती, प्रान्तीय महासचिव शेसोहाङ चोङवाङलगायत जिल्ला अध्यक्षहरू पनि सहभागी थिए।
मञ्चको असन्तुष्ट समूहले वैशाख १२ गते बैठक बसेर अध्यक्ष लिङ्देनलाई पदमुक्त गरेको भन्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएको छ।
त्उस्तै दिनेशचन्द्र राजवंशी नेतृत्वको कोचिला संयुक्त संघर्ष समिति, दामोदर पाण्डे नेतृत्वको नागरिक सशक्तीकरण लागि जागरण अभियानले पनि नागरिक उन्मुक्ति पार्टीसँग एकता गरेको छ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २०६२/६३ को जनआन्दोलनको सफलतापछि पूर्वमा उदाएको पहिचानवादी राजनीतिक शक्ति हो।
Facebook Comment