लेखिँदैछन् अक्षरहरू
रेशम चौधरी
एउटै मूल नभिजे धरती
उठ्दैन देश नसुधारे मति
हरायो माटोको ममता
घरभित्र आगो लागेपछि
– वखत कठेत् ।
कविता आफैंले बोल्छ, उनी माटो प्रेमी हुन्।
राष्ट्र उनको आत्मा र राष्ट्रियता उनको अंग हो। एक विहानी उनी जेलमा केही पुस्तक बोकेर आए। सामान्य परिचय भो। एक कप कफी पिए। आफ्नै बाटो लागे। भलाकुसारीका बखत उनैले बोले- मैले तपाईँको बारे उपन्यास लेखेको छु- फूल्की| सँगै आएका पूर्व परिचित लेखक रमेशमोहन अधिकारीले दुवैका बारे संबादिए। बस्,
त्यत्ति हो चिनजान।
उपन्यासको सुरुवाती कविताले दाह्रा किट्दै मुट्ठी कसें मैले।
बहादुर ऐतवालले चिट्ठी दिए
प्रेमसिंह धामीले प्रेम र पसिना दिए
कसैले उखान टुक्का र रमाइलो दिए
गोविन्द गौतमले रगत दिए
रविन्द्र जैसवालले पहरा दिए
रामप्रसाद चमारले बलिदान दिए.
सजाउँदै शब्द शब्दले पूजा गरेँ जसबार
जन्मियो फुल्की बस।
बखत कठेतले आफ्नो उपन्यासमा मेरो पीडा, ममाथि भएको घोर अन्याय र पुस्तकको पात्र फुल्कीमार्फत् किन ओकलाए त्यो त उपन्यास पढे थाहा होला । तर वास्तविकता यही हो, एक लेखक साहित्यकारले आफ्नो कलमबाट झुठ लेख्न सक्दैन। लोकको कहीँ भएको अन्याय उसले सहन गर्न सक्दैन।
लेखकले पात्र भेट्नै पर्दैन। पात्रको पीडा उसले कहीँबाट पनि प्राप्त गर्नसक्छ। चाहे पढेर होस्, चाहे सुनेर। बखत कठेतले मलाई चिन्नै परेन। उनको र मेरो पहिलो वा अहिलेसम्मको अन्तिम पुस्तक फुल्की दिएकै दिन हो। उनी उपन्यासकै फुल्की पात्रमार्फत् कहाउँछन- ‘रेशम अलि पढेलेखेका उद्यमि, गायक, कलाकार, खेलाडी, पत्रकार र बहुआयामिक व्यक्ति हुन्।’
गणतन्त्र आयो, संघीयता आयो। हामीलाई उचाल्ने सत्तामा पुगे। हाम्रो बिल्लीबाठ भयो। केही साथीहरूलाई जेलमा पुर्याए। त्यस्तै एउटा पात्र हुन्- रेशम चौधरी।
फुल्की उपन्यासकी अर्की पात्र धर्ति कहन्छिन्- घटना घट्यो, जसले रेशम चौधरीको जीवनमा आँधीबेहरी ल्यायो। सात प्रहरी र एक बालक हत्याको आरोप लगाएर उनलाई जेल हालियो। सरकारी कर्फ्यूका बीचमा उनको घर, रेष्टुरेन्ट, एफएममा आगो लगाइयो। घटना घट्दा नेपाल टेलिकमको कल डीटेलले उनी बर्दियामा रहेको पुष्टि गर्छ। तैपनि उनलाई जेल हालियो। तिनीहरूलाई रेशम चौधरीको आँशु लग्नेछ।
टीकापुरका स्थानीय थारु साथीहरू मलाई जेलमा आएर सुनाउँछन्- घटना घटेको दुई तीन महिना त पुस्तक लेख्छौं भनेर टीकापुर आउने लेखकको बाढी नै लागेको थियो रे। सबैजसोले पुस्तक लेख्छु भन्थें र घटनाको बारेमा भन्न खोज्दथे। तर जब थारूहरू यस घटनामा संलग्न छैनन् भन्ने बारेमा वास्तविकता थाहा हुन्थ्यो अनि विभिन्न बहानामा टीकापुरबाट सुइकुच्चा ठोक्थे। यस्तो गर्नेमा कोही त त्रिभुवन विश्व विद्यालयका प्रध्यापकसमेत थिए रे! (रे, होइन थिए नै तर यहाँ मैले नाम उल्लेख गर्नु उचित सम्झेन)
मेरो बारेमा थोरै भए पनि अंश लेखिएको अर्को उपन्यास हो- मिन्झारी। यसका लेखक हुन्- महेन्द्र उपाध्याय। मिन्झारी उपन्यासको अन्तिम गातामा लेखिएको छ, ‘पहाडिया भनेका मिन्झारीका बाघ हुन्। यी रगत खानेलाई हामीले दुध खुवाइरह्यौं।’
महेन्द्र उपाध्याय आफैं पहाडिया हुन्। तिनले किन त्यसो लेखे, मैले माथि लेखकको वास्तविकताका बारेमा लेखेबाटै थाहा हुन्छ। एक तथ्य जानकार लेखकले बरु लेख्दैन तर असत्य लेख्न सक्दैन। यही स्वरूपता महेन्द्रमा पनि झुल्कियो कि?
मिन्झारी उपन्यासको २०१ पृष्ठमा उनले लेखेका छन्- चुनावको नतिजा भटाभट आउन थाल्यो। कैलाली क्षेत्र नं-१ बाट रेशम चौधरीको जीत भयो। फेरि गाउँ दुई हिस्सामा बाँडियो। थारूहरू खुसी भए पहाडी दुखी। गाउँमा दुवै वर्गको अनुहार हेर्नलायक बन्यो। फेरि केही दिन पहाडीका पसलहरूमा थारू ग्राहक घटे। बोलचाल घट्यो। सामाजिक दूरी बढ्यो।
म चाहन्थें, मेरा बारेमा म आफैं लेखुँ। आफ्नो बारेमा आफैंले लेखे यो सबै प्रष्टिन्छ, अरुले लेखे क्या हो, क्या हो।
अहिले जेलमा आएर मेरो बारेमा पुस्तक लेख्छु, फिल्म बाउँछु भन्नेको संख्या उल्लेखनीय छ। मलाई देवत्वकरण गरेर लेखिने पुस्तक, फिल्म आदिका बारेमा भन्दा हाम्रो सिंगो समुदायलाई राज्यले न्याय दिदिए ठीक हुन्थ्योजस्तो लाग्छ। राज्यको सबै संरचनामा थारू हेपिएको देख्दा मन कुँडिएर आउँछ। राज्यको तीनै तह, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा थारू प्रायशून्य छन्। करिब तीस लाख जनसंख्या भएको थारू समुदायका आज एक जना पनि सिडिओ, जर्नेल, डिआइजी न्यायाधीश छैनन्। राज्यको पूर्नसंरचनामा थारूलाई समावेश नगर्ने राज्यसत्ता शासकको कस्तो स्वार्थ हो?
साँच्चै भन्नुपर्दा हामीहरू अपहेलित भएकै छौं। भर्खर भर्खर कलम चलाउनेको जमातले हामीलाई अन्याय भएको लेख्न थालेका छन्। जुन निकै सकारात्मक पक्ष हो। अब हामीले अपेक्षा गरेको सबै पक्षबाट हामीलाई न्याय होस्। पाँच वर्षे जेल जीवनमा मैले जाने बुझेको कुरो एउटै हो, ‘जेलमा भन्दा बाहिर अपराधी धेरै छन्। अधिकांश कैदी परिवारका कारण जेल यापन गर्न बाध्य छन् भने साँच्चिकै अपराधीहरूको हातमा सबथोक छ। सिंगो राज्य छ। उनैका स्वार्थ खातिर धेरै नागरिकको घर जेल हुन पुगेको छ।
हाल : डिल्लीबजार, कारागार
Facebook Comment