एउटा थारूको छोराले पाएको ‘शक्ति’लाई तपाईँ हामीले किन नबचाउने
नागरिक उन्मुक्ति पार्टीले स्थापना भएको छोटो समयमै नेपालको तीन तहमै आफ्नो स्थान पक्का गरेको छ। संख्याको हिसाबले भलै त्यो कम होला, तर यो पार्टीले देशको स्थानीय, प्रदेश र संघमा बिजारोपण गर्न सफल भएको छ। नागरिक उन्मुक्ति पार्टीको यो सफलता देखेर डाहा गर्नेहरू हजारौं व्यक्ति छन्। सयौं संघसंस्था र राजनीतिक पार्टीहरू छन्। भूराजनीतिकरूपले प्रभाव पार्ने एजेन्सीहरू पनि छन्। तर नागरिक उन्मुक्ति पार्टी डाहा गर्ने त्यो हजारौंको भीड देखेर तर्सेको छैन। कति पनि डगमगाएको छैन।
यो पार्टी टीकापुर घटनाको जगमा मात्र खोलिएको होइन। यो पार्टी आम थारूमाथि गरिएको अन्यायविरुद्ध आवाज उठाउने साझा प्लाटफर्मको रूपमा खुलेको हो। स्थानीय तहमा हामीले ९९ जनप्रतिनिधि पाएका छौं। प्रदेशमा हाम्रा १२ जना जनप्रतिनिधि छन्। संघमा हाम्रा चार जना जनप्रतिनिधि छन्। यो सबै जनप्रतिनिधि आम थारूका सेवक हुन्। आदिवासी जनजातिहरूका सेवक हुन्। मधेसी, मुस्लिम, पिछडिएका वर्ग र शोषित पीडित नेपाली नागरिकका सेवक हुन्।
पार्टी स्थापना गर्नु र त्यसलाई सञ्चालन गर्नु चानचुके कुरा रहनेछ। अझ एउटा पार्टीलाई देशभरि विस्तार गरेर लैजानु त्यतिकै चुनौतीपूर्ण रहेछ। नागरिक उन्मुक्ति पार्टी अहिले देशभरि फक्रिने क्रममा छ। हामीले गरेको बिजारोपनले आगामी चुनावमा अवश्यक फक्रिनेछन्। फक्रिँदैछन्। त्यसलाई देखेर धेरै होस हवास अवश्य उडेको छ। अझ थारूको छोराले पाएको शक्ति देखेर धेरै निन्द हराम पक्कै भएको छ।
पछिल्लो समय राजनीतिक वृत्तको केन्द्रबिन्दुमा रेशम चौधरी छन्, नागरिक उन्मुक्ति पार्टी छ। देशको हरेक राजनीतिक परिघटनामा यी दुई (रेशम र नागरिक उन्मुक्ति पार्टी) जोडिँदै आएका छन्। सरकारमा बनाउन रेशम चौधरी चाहिन्छ, प्रदेश सरकारमा बनाउन रेशम चौधरी चाहिन्छ। राष्ट्रपति निर्वाचन हुन्छ रेशम चौधरी चाहिन्छ। यसबीचमा देशका शक्तिशाली नेताहरू डिल्ली बजार कारागार नधाएको रेकर्ड छैन। भनेपछि एउटा थारूको छोराले पाएको यो शक्ति देखेर विरोधीहरू किन असैह्य नहोस्। पक्कै पनि उनीहरू चाहन्छन्, रेशमले पाएको शक्ति खण्डीकरण होस्। सदियौंदेखि गुलामी गर्दै आएको थारू छोराले छाती चौडा गरेर कसरी वार्ता/सम्बाद गर्नसक्छन्? कसरी आफ्नो हिस्सेदारी माग्न सक्छन्? भन्नेहरूले नै नागरिक उन्मुक्ति पार्टीलाई गिद्धे नजरले हेरिरहेका छन्। उनीहरू मौका छोपेर हेरिरहेका छन्, रणनीति बुनिरहेका छन्। कसरी यो पार्टीलाई छिया छिया बनाउन सकिन्छ। कसरी यो पार्टीलाई जरैदेखि उखेल्न सकिन्छ। कसरी जेलमा रहेका यिनीहरूलाई सधैंका लागि कोच्न सकिन्छ।
नागरिक उन्मुक्ति पार्टी कुन उद्देश्यले स्थापना भयो र यो पार्टीको स्पष्ट धारणा के छ? यो पार्टीले के अजेण्डा बोकेको छ? चुनावी घोषणा पत्रमा ती सबै चिज समेटिएका छन्। नागरिक उन्मुक्ति पार्टीले घोषणा पत्रमै भनेको छ- नागरिक उन्मुक्ति पार्टी अहिले साइवेरियाबाट उडेको पन्छीको झुण्डजस्तै छ। भर्खरै साइवेरिया ताल छोडेको पन्छीले दक्षिण एसियाको सुन्दर देश नेपालको रारा, फेवा, घोडाघोडी पुग्न अझै केही महिना जरूर खर्चिनुपर्ला। तर गन्तव्य निश्चित छ, साइवेरियाको पन्छीजस्तै। नागरिक उन्मुक्ति पार्टीको चुनावी घोषणा पत्रमा साइवेरियाली पन्छीको कुरा कहाँबाट आयो भनेर तपाइँहरू अचम्म मान्नुहोला। प्रत्येक वर्ष साइवेरिया लेकबाट लाखौं पन्छीको झुण्ड संसार विचरण गर्न निस्कन्छन्। त्यसरी उडेका पन्छी कोही उड्दाउड्दै समुन्द्रमा खस्छन्। कोही विरामी भएर बाटोमै मर्छन्। कोही बाटो भुलेर भड्किरहेका हुन्छन्। मर्ने पन्छीहरूको कथै समाप्त भो तर बाटो भुलेर भड्किरहेका हजारौं पन्छीहरूलाई साइवेरियाली पन्छीले पुनः घर लगेर जान्छन्। भड्किएको, भुलेको बोटोबाट सही दिशा निर्देश गर्न नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो।
पक्कै पनि नयाँ पार्टीमा धेरै नेता-कार्यकर्ताहरू आबद्ध छन्। सबैका उद्देश्य यो पार्टीलाई गन्तव्यमा पुर्याउने हुन्छ भन्ने पनि छैन। गन्तव्यहीन कोही नेता-कार्यकर्ता छन् भने उनीहरूलाई सही दिशानिर्देश यो पार्टीले पक्कै गर्नेछ। तर कोही जनाजान, नियतबश वा आरिस भएर भड्किन्छन् भने पार्टीले के नै गर्नसक्छ र?
संजय चौधरी
हालः युएई
Facebook Comment