भूराजनीतिक तनाव अन्त्य गर्न जी-२० सदस्य राष्ट्रलाई प्रधानमन्त्री मोदीको आह्वान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी ट्वेन्टी सदस्य राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री मोदीले बिहीबार दिल्लीमा आयोजित जी ट्वेन्टी सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको बैठकमा विद्यमान भूराजनीतिक तनाव समाधान गर्न सदस्य मुलुकहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन्।
प्रधानमन्त्री मोदीले विकास, आर्थिक लचिलोपन, वित्तीय स्थायित्व, भ्रष्टाचार, आतङ्कवाद र खाद्य तथा ऊर्जा सुरक्षाका चुनौतीको सामना गर्न विश्वले जी ट्वेन्टीलाई आशा र भरोसका साथ हेरेको बताए।
उनले समूहको अध्यक्षका नाताले भारतले ‘एक पृथ्वी, एक परिवार र एकै भविष्य’ समूहको आदर्श वाक्य चयन गरेको उल्लेख गर्दै यसको उद्देश्य एकता र साझेदारी भएको स्पष्ट गरे। उक्त आदर्श वाक्यले साझा उद्देश्य प्राप्तिका लागि एकजुट हुने भावना झल्काउनेमा विश्वस्त रहेको प्रधानमन्त्री मोदीले बताए।
बैठकका अध्यक्ष भारतीय विदेश मन्त्री एस जयशङ्करले वैश्विक दबाब र प्रणालीगत चुनौतीको सामना गर्दै बहुपक्षीयताको प्रवर्द्धनमा जोड दिए। उनले खाद्य र ऊर्जा सुरक्षा चिन्ताका विषय भएका बताउँदै तिनको दीर्घकालीन समाधान खोजिनुपर्ने विचार व्यक्त गरे । विश्व अर्थतन्त्रका लागि ती महत्वपूर्ण विषय भएकाले सोहीअनुसार व्यवहार गर्नुपर्ने उनले बताए। सुस्त अर्थतन्त्र, बढ्दो मुद्रास्फीति, वस्तु तथा सेवाको घट्दो माग, इन्धन, खाद्यान्न र मलको बढ्दो मूल्यलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि परराष्ट्रमन्त्रीहरूले छलफल गर्ने उनले बताए।
Facebook Comment