थारू जातिबारे अनुसन्धान गरेका श्रीलंकाली मानवशास्त्री गुनरत्नेलाई थाकस चितवनको सम्मान
रमेशकुमार पौडेल/इकान्तिपुरबाट
‘मुढेठा’ चितवनका थारुहरूले आफूले मान सम्मान गर्नु पर्ने व्यक्तिहरुलाई शिरमा बाँधिदिने सेतो कपडाको फेटा हो । पूर्वी चितवनको बछौलीमा रहेको थारु साँस्कृतिक संग्रहालयको प्रांगणमा मंगलबार थारु अगुवाले अर्जुन गुनरत्नेको शिरमा सेतो मुढेठा बाँधेर सम्मान दर्शाए । श्रीलंकन मूलका गुनरत्ने हाल अमेरिका निवासी हुन् । तर नेपालका थारु समुदायका लागि उनले ठूलो गुन लगाएका छन् ।
‘त्यही कारणले हामीले उनलाई थारु शैलीमा सम्मान गरेको हो,’ कार्यक्रम आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले भने । गुनेरत्नु मानवशास्त्री हुन् । सन् १९६१ को जुनमा जन्मेका गुनरत्ने सन् १९८९ मा चितवन आएका थिए । अमेरिकाको सिकागो विश्वविद्यालयमा पढ्दै गरेका उनी आफ्नो विद्यावारिधिको सोधका लागि त्यो बेला नेपाल आएका थिए ।
‘श्रीलंका र नेपाल धेरै फरक छैन । भगवान बुद्ध जन्मेको देश भएका कारण म नेपाल आउन घुम्न चाहन्थे । त्यसैले मैले पीएचडीको अध्ययनका लागि नेपालको संस्कृति रोज्ने निर्णय लिएको थिएँ,’ सम्मान कार्यक्रममा गुनरत्नेले सुनाए । नेपालका बारेमा बुझ्दै जाँदा हिमाल र त्यहाँका मान्छेका बारेमा धेरै लेखेको र तराई र त्यहाँका मान्छेका बारेमा कमै लेखेको भेटाएको उनले बताए ।
‘थारु नेपालको तराईमा बस्छन् । तराईको जनसंख्याको महत्त्वपूर्ण हिस्सा थारुहरूको रहेछ । उनी आदिवासी हुन् । तराईका हरेक जिल्लामा भेटिन्छन् । तर बाहिरका मानिसहरूलाई तिनीहरुको बारेमा थोरै जानकारी थियो । त्यसैले आदिवासीको अध्ययनमा केही योगदान पुगोस भनेर थारुबारे सोध गरेको हुँ,’ उनले भने । उनले सोधपत्र मात्रै तयार गरेनन् त्यसैका आधारमा पुस्तक र लेख पनि तयार पार्दै गए ।
‘मेनी टङ्स वान पिपुल, द मेकिङ अफ थारु आइडेन्टिटी इन नेपाल’ उनले लेखेको महत्त्वपूर्ण पुस्तक हो । ‘यही पुस्तकका आधारमा नेपालका थारुको पहिचान विश्वव्यापी भएको हो,’ सभापति ललित चौधरीले भने । चितवन, सप्तरी, कैलाली र दाङका थारु समुदायमा अर्जुनले सोध गरेका थिए ।
भारतको चम्पारणसम्म पनि सोधका लागि पुगेका र चितवनमा गुनरत्नेको सहयोगी रहेका सत्यनारायण चौधरीले बताए । ‘तराईका विभिन्न भागका थारु भाषा र रीतिरिवाज फरक फरक रहेछ । उनीहरुले फरक भाषा र रिवाज भएकासँग पनि बिहे नगरेको भेटियो । तर ३० वर्षअघि विराटनगरमा भएको थारु कल्याणकारिणी सभाको सम्मेलनमा मेचीदेखि महाकालीसम्मका थारु एकै हुन् भन्ने सुनेँ,’ गुनरत्नेले भने ।
आफूलाई थारुहरू कसरी एकजुट भए भन्नेबारे पनि अनुसन्धान गरेको गुनरत्ने बताउँछन् । ‘थारुहरुलाई नेपालको विकासले एकै बनायो । पुरानो जमानामा चितवनबाट दाङ जानभन्दा भारतका सहर पुग्न सजिलो थियो । मलेरिया निर्मूल भएर सडक र विद्यालय बन्यो । र विभिन्न जिल्लाका थारु एकअर्काका सम्पर्कमा आए । यसरी उनी एकताबद्ध भए,’ गुनरत्नेले भने ।
उनीसँगको भेट स्मरण गर्दै सत्यनारायण भन्छन्, ‘पहिलो पटक देख्दा हाउभाउ ब्रिटिसको जस्तो थियो तर वर्ण एसियालीको जस्तो लाग्थ्यो । म त्यतिबेला रामपुरमा कृषिमा स्नातक पढ्दै थिए । हाम्रो टिचर फणीन्द्र थापाले उहाँलाई ल्याएर आउनु भएको थियो । नाम सुनेपछि नेपाली जस्तै लागि हाल्यो नि । यसरी हाम्रो परिचय भयो, अध्ययन अगाडि बढ्यो ।’
आफ्नो समुदायको सोधखोज गर्नेलाई उचित सम्मान दिनका लागि कार्यक्रम आयोजना गरेको चितवनका थारु अगुवा बासु चौधरीले बताए । ‘हामी उहाँलाई सम्मान गरेर शिक्षित व्यक्तिको संसार कति फराकिलो हुन्छ भन्ने देखाउन बुझाउन पनि चाहेका हौं । श्रींलकामा जन्मेर पढ्नेलाई अमेरिकासम्म पुगेको व्यक्तिले आज चितवनमा सम्मान पाएको छ । शिक्षा र सोधखोजले व्यक्तिलाई महान बनाउँछ भन्ने सन्देश हामी दिन चाहन्छौं,’ उनले भने ।
गुनरत्ने अमेरिकाको म्याकालेस्टर कलेजमा मानवशास्त्रका प्राध्यापक हुन् । सुरुमा कोलम्बो विश्वविद्यालयका कानुनका विद्यार्थी रहेका गुनरत्नेले सिकागो विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका हुन् । त्यसपछि उनले श्रीलंका र नेपालका वातावरणीय मुद्दामा विभिन्न अनुसन्धान गरेका छन् ।
सह्रानिय कार्य। हाम्रो समाज लाई गुन लगाउने व्यक्तित्व लाई हामी सम्पूर्ण थारु समाज आभारी छौं त्यसैले उहाँ लाई हृदय देखि नै साधुवाद ।
Great News!!!!